१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको भित्री नियत ठीक छैन : थापा

नेपाल प्रेस युनियन तनहुँ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापा। तस्बिर : श्रीहरि/नागरिक

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारको भित्री नियत ठीक नभएको बताएका छन्। सरकारको भित्री शैली जनताको अधिकार खोस्ने भएको कांग्रेस युवा नेता थापाले आरोप लगाए। नेपाल प्रेस युनियन तनहुँ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य थापाले सो भनाइ व्यक्त गरेका हुन्।

‘सरकारले संसद्मा दर्जनौं विधेयक पेस गरेर पारित गर्न लागेको छ,’ थापाले भने, ‘तर त्यसले जनताको अधिकार कुन्ठित गर्ने देखिन्छ।’ घुमाउरो भाषामा सरकारले रिस उठेको मानिसलाई कारबाही गर्न र सरकारको विरुद्ध बोल्नेलाई कारबाही गर्न कानुन बनाउन खोजेको थापाको आरोप थियो। संसद्मा पेस गर्न खोजिएका विधेयकले संविधान कार्यान्वयनमा जोड दिनुभन्दा पनि जनताको अधिकार खोस्ने थापाको भनाइ छ।

‘सरकारले चाह्यो भने तपाईंले बोलेको अभिव्यक्ति स्वतन्त्रताभित्र पर्छ,’ उनले भने, ‘तर चाहेन भने यसले तपाईंलाई डण्डित गर्ने कानुन आउने तयारीमा छ।’ यसलाई रोक्नुपर्ने थापाको भनाइ थियो। ‘राजा ज्ञानेन्द्रको शासनकालमा बरु कानुन नबनाई कानुनको उल्लंघन गरिएको थियो तर अहिले कानुन बनाएर कानुनको उल्लंघन गर्न सरकार अग्रसर देखिएको छ,’ उनले भने।

जनताबाट निर्वाचित जनप्रतिनिधिबाट विभिन्न कानुन बनाएर जनताको हक कुण्ठित गर्ने विषयमा वर्तमान सरकार लागेको थापाको आरोप छ। ‘अब तपाईंले के बोल्ने हो के बोल्ने होइन भन्ने निर्णय तपाईंले गर्ने होइन सरकारले गर्छ,’ उनले भने, ‘सरकारले भनेको÷चाहेको कुरा भएन भने तपाईं फन्दामा पर्नुहुन्छ।’

यती गु्रपलाई नेपालको सबै सम्पत्ति हस्तान्तरण गरिनु दुःखद विषय भएको थापाले बताए। एउटा कम्पनीलाई राज्यको सम्पत्ति जिम्मा लगाउनु दुःखद विषय भएको थापाको भनाइ छ। ‘संसद्लाई हेपेर, गुमराहमा राखेर प्रधानमन्त्रीले आफ्नो शक्ति चरम दुरुपयोग गर्नुभएको छ,’ उनले भने।

एउटा व्यापारिक संस्थाको नितान्त व्यक्तिगत फाइदाका लागि सरकारी सार्वजनिक सम्पत्तिको दोहन गरिएको उनले बताए। ‘केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हो कि यती होलिडेजको प्रबन्ध निर्देशक हो ?’ उनले प्रश्न गरे। कम्पनीको मालिकले पनि यसरी संस्थाको बारेमा सोच्न नसक्ने अवस्थामा प्रधानमन्त्रीले एउटा व्यापारिक संस्थाका बारेमा सोचिरहेको थापाको आरोप थियो।

‘अहिले जे घटना बाहिर सार्वजनिक भएका छन् यी विषयमा नेपाली कांग्रेस सामाजिक सञ्जालमा प्रतिक्रिया दिएर मात्र बस्दैन यस विषयमा स्पष्ट धारणा बनाएर अगाडि बढ्छ,’ थापाले भने, ‘यदि अगाडि बढ्न पार्टी नेतृत्व कञ्जुस्याइँ गर्छ भने हामी नेतृत्वलाई पनि पेलेर जानेछौं।’

प्रकाशित: ९ पुस २०७६ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App