१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि उत्पादन वर्षेनी घट्दो

ओखलढुंगा– ओखलढुंगामा वर्षेनी कृषि उत्पादन घट्दो क्रममा छ। तीन वर्षयताको तथ्याङ्क हेर्दा जिल्लामा वर्षेनी कृषिका उत्पादन घटिरहेको देखिन्छ। कृषि ज्ञानकेन्द्र ओखलढुंगाको अभिलेख अनुसार तीन वर्षयता लगातार ओखलढुंगाको मुुख्य खाद्यबाली धान र मकैको उत्पादन घटिरहेको छ।

ज्ञान केन्द्रको तीन वर्षको अभिलेखअनुसार धानको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिकटनबाट घटेर २.५३ मा झरेको छ। आर्थिक वर्ष ०७४/०७५ मा धानको उत्पादकत्व ३ मेट्रिक टन थियो। यो क्षमतामा ह्रास आएर ०७५/०७६ मा २.७ मा झरेको छ। चालु आर्थिक वर्षमा झन् उत्पादनमा कमि आएको छ।

चालु आर्थिक वर्षमा ओखलढुंगाको धानको उत्पादकत्व २.५३ मा झरेको ज्ञान केन्द्रका प्राविधिक अधिकृत हेम आलेले जानकारी दिए। यस्तै अर्को मुुख्यबाली मकैको उत्पादनसमेत घट्दै गएको छ। मकैको उत्पादकत्वसमेत यहीं अनुपातमा खस्किएको आलेको भनाइ छ। उत्पादनमा ह्रास आउनुको मुख्य कारण सिँचाइ अभावले समयमा बाली नलगाउनु नै हो।

खडेरीका कारण तीन वर्षयता रोपाइँको क्षेत्रसमेत घट्दै गएको छ। यो खडेरीले ओखलढुंगामा ५ हजार ७ हेक्टरमा लगाइएको मकै सखाप भएको छ। वैशाखदेखि असार अन्तिम सातासम्मको खडेरीले कुल मकै खेती गरिएको १२ हजार तीन सय ९८ हेक्टर क्षेत्रफल मध्ये ५ हजार ७ सय हेक्टर क्षेत्रफलमा लगाईएको मकै खडेरीले सखाप पारेको थियो।

करिब २८ करोड ३२ लाख ५० हजार मूल्य बराबरको मकै खडेरीले सखाप पारेको कृषि प्राविधिक मगरको भनाइ छ। सिँचाइ अभाव, उचित मौसम तथा बिउको छनोट गर्न नसक्नु, समयमा प्राविधिक सेवा नपाउने तथा कम्पोष्ट मलको प्रयोग घट्दै जाँदा कृषि भूमिको उत्पादकत्वमा ह्रास आइरहेकोले उत्पादन घटेको हुन सक्ने कृषि ज्ञान केन्द्र ओखलढंगाका कृषि प्राविधिक टीका बानियाँले बताए।

ओखलढुंगामा धान, मकै तथा आलुको उत्पादनका हिसाबले पकेट क्षेत्र घोषणा गरिए पनि वर्षेनी खेती गर्ने क्रम र उत्पादन घटिरहेको छ। ओखलढुंगाका रामपुर, जरायोटार, सेर्ना, ठूलीबेंसी, सेराबेँसी मुुख्य धान खेती गरिने क्षेत्र हुन्। यस क्षेत्रमासमेत वर्षेनी धान उत्पादन घटिरहेको तथ्याङकले देखाउछ।

जिल्लामा खाद्यन्नको उत्पादन घटेपछि बाहिरबाट आयात हुने क्रम बढ्दै गईरहेको छ। खाद्यान्नको आयातमा २५ प्रतिशतले वृद्धि भएको उद्योग वाणिज्य संघ ओखलढुंगाका कार्यालय सचिव नवराज दाहालले बताए।

प्रकाशित: ८ पुस २०७६ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App