१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिउँदे खेतीमा १५ प्रतिशत ह्रास

बाँके - बाँके खजुरा गाउँपालिकाका किसान लालबहादुर खत्रीले गत वर्ष १० लाख रुपैयाँको टमाटर बिक्री गरेका थिए। उनले खजुरा आएर गाउँमा तीन बिघामा टमाटर र एक बिघामा आलु लगाएका छन्। यस वर्ष उनले टमाटर र आलुबाट १५ लाखको कारोबार गर्ने लक्ष्य राखेका थिए। तर, गत शुक्रबारको अविरल वर्षाले उनको लक्ष्य पूरा नहुने भएको छ।

‘आलुबारीमा पानी जमेको छ। पानी जमेका कारण आलु पहेलो हुने क्रम सुरु भएको छ,’ उनले दुखेसो पोखे। टमाटर बिक्री गर्न खत्रीले सुरु गरिसकेको थिए। हावाहुरीसँगै दिनभर अत्याधिक वर्षा भएपछि टमाटरलाई पनि असर गरेको छ। जसका कारण टमाटर खेती बिग्रने सम्भावना बढेको छ। खजुराका लालबहादुर मात्र होइन यस क्षेत्रका अन्य किसान पनि हिउँदे खेतीबाट आर्थिक मारमा परेका छन्।

बाँके, बर्दिया लगायत जिल्ला खाद्यान्न र तरकारीमा उर्वर क्षेत्र मानिन्छन्। पछिल्ला वर्षमा बाँके तरकारीमा आत्मनिर्भर हुँदै गएको छ। तरकारी खेतीमा किसान आकर्षित पनि भइरहेका छन्। तर, अधिक वर्षाका कारण हिउँदे तरकारी खेती गर्ने किसानलाई आर्थिक रुपमा क्षति पुगेको छ। दिनभर परेको अविरल वर्षाका कारण खेतबारीमा पानी जमेको छ। अत्याधिक पानी र हावाहुरीका कारण किसानले लगाएको तरकारी खेती र हिउँदे खेतीमा क्षति पुगेको छ। अत्याधिक वर्षाका कारण बाँके, बर्दियालगायत क्षेत्रमा तेलहन, दलहन, आलु, चना, मसुरो, तरकारी खेतीमा धेरै क्षति भएको छ।

वर्षा भएको तीन दिनसम्म पनि खेतबारीमा पानी जमेपछि किसानले थप क्षति बेहोर्नु पर्ने भएको हो। अत्याधिक वर्षासँगै नालाहरुमा पानीको सतह बढेपछि गहिरा खेतहरुमा लगाएको गहुँमा समेत असर गरेको छ। अगुवा किसान खत्रीका अनुसार करिब ६० प्रतिशत गहुँखेती बिग्रिसकेको छ। अन्य खेती पनि अब राम्ररी उब्जनी नहुने सम्भावना बढेको छ। खेतबारीमा आवश्यकताभन्दा धेरै चिसोको मात्रा रहिरहँदा खेती कुहिने सम्भावना बढेको बताउँछन् लालबहादुर खत्री।

उनले भने, ‘खेतबारीमा पानी अझै जमेको छ। यसले उत्पादनमा असर गर्छ। उब्जनी भए पनि राम्ररी फल लाग्दैन।’ बाली बिमाबारे सरकारले पुनर्विचार गर्नुपर्ने तर्क राख्छन् खत्री। उनले थपे, ‘मैले केही हिउँदे खेती अझै लगाइरहेको छु। लगाउने क्रममै पानीले क्षति ग¥यो। स्थानीय सरकार, प्रदेश र नेपाल सरकारले कृषि बिमाबारे पुनर्विचार गर्नु जरुरी छ। सरकारले स्वतः बाली बिमा हुने व्यवस्था लागू गर्नुपर्छ। त्यो नियम लागू भए किसानलाई राहत हुन्छ।’

अधिक वर्षा कारण बाँके खजुरा–२ का अर्का किसान दंगबहादुर भुजेलको पनि हिउँदे खेतीमा क्षति पुगेको छ। हिउँदे खेती पानीले बिगारेपछि आर्थिक रुपमा क्षति पुगेको बताउँछन् भुजेल। उनले भने, ‘मिहेनत गरेर खेती गरिरहेका बेला पानी र हावाहुरीले तरकारीमा धेरै क्षति गरेको छ। यो वर्ष घाटा हुने भयो।’ सरकारले किसानलाई राहत उपलब्ध गराएर बिमा पक्रियामा सहयोग गर्नुपर्ने भुजेलले बताए। कूल खेतीयोग्य ५२ हजार तीन हेक्टर जमिनमध्ये बाँकेमा मसुरो ११ हजार ६ सय हेक्टर, चना एक हजार पाँच सय ५० हेक्टर, आलु दुई हजार आठ सय ७५ हेक्टर, हिउँदे तरकारी चार हजार दुई सय ५० हेक्टरमा लगाउने गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

अधिक वर्षाका कारण हिउँदे बालीमा भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन। क्षतिबारे कृषि ज्ञान केन्द्रले विवरण संकलन गरिरहेको छ। ज्ञान केन्द्रले बाँके र बर्दिया क्षेत्रमा भएको क्षति बारेमा तथ्यांक संकलन गरिरहेको छ। सुरुवाती चरणमा प्राप्त भएको तथ्यांक अनुसार तोरी, मसुरो, आलु, टमाटरजस्ता तरकारीजन्य बालीमा बढी क्षति भएको बताउँछन् कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल। उनका अनुसार बाँकेमा मसुरो, चना १० प्रतिशत नष्ट भएको छ। हावाहुरीले तोरी लडेका कारण उत्पादनमा १५ प्रतिशत घट्ने सम्भावना छ।

तरकारीजन्य खेती १० देखि १५ प्रतिशत नष्ट भएको प्रमुख ढकालले नागरिकलाई बताए। खेतमा पानी अधिक जमेका कारण रोग लाग्ने सम्भावना बढ्ने भएकाले उत्पादनमा ह्रास आउने उनले बताए। गहुँखेती लगाउने समय अझै बाँकी भएकाले गहुँमा भने धेरै क्षति नहुने ढकालले बताए। प्रमुख ढकालले पिडित किसानलाई राहत दिलाउनका लागि सरकारलाई सिफारिस गर्ने बताए। उनले भने, ‘बाली बिमा गरेका किसानले क्षति दाबी गर्न सक्छन्। तर, नगरेका किसानलाई दिन गा¥हो छ। राज्यले दिने क्षतिपूर्ति सीमित छ। हामी पहल गर्छौं। किसानले आगामी दिनमा यस्ता क्षतिबाट राहत पाउनका लागि बिमा कार्यक्रममा सहभागी हुन जरुरी छ।’

प्रकाशित: ८ पुस २०७६ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App