१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको दललाई धक्का,

झारखण्डको पाकुरमा गत बुुधबार आयोजित चुनावी सभामा सहभागी छत्तिसगढका मुख्यमन्त्री भुपेस बाघेल (बायाँ), काँग्रेस नेत्री प्रियंका गान्धी (बीचमा) र झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेन। तस्बिरः एजेन्सी

नयाँ दिल्ली – भारतको पूर्वी राज्य झारखण्डमा भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले ठूलो धक्का बेहोर्नुपरेको छ। अति महत्वपूर्ण मानिएको झारखण्ड विधानसभा निर्वाचनमा मुख्य विपक्षी भारतीय कांग्रेस पार्टी र क्षेत्रीय पार्टी झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको गठबन्धनले ८१ सिटमध्ये ४७ वटामा जित निकालेको भारतको निर्वाचन आयोगलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

भाजपाले २५ सिटमा जित निकालेको छ भने अन्यले ९ स्थानमा जित हात पारेका छन्। अन्तिम नतिजासँगै भाजपाले बहुमत गुमाएको छ।   यसरी हेर्दा झारखण्ड मुक्ति मोर्चा–काँग्रेस–जनता दलको गठबन्धनले सजिलै बहुमत ल्याएको छ। झारखण्डमा सरकार बनाउनका लागि ४१ सिट आवश्यक पर्छ। उक्त गठबन्धनले ४७ सीट ल्याएको छ। अब झारखण्ड मुक्ति मोर्चाको नेतृत्वमा नयाँ सरकार बन्ने छ।

भाजपाले यो निर्वाचनमा कुल ७९ सिटमा प्रतिस्पर्धा गरेको छ भने एउटा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ। त्यसैगरी उसले एजेएसयू पार्टी अध्यक्ष सुदेश महतोले प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छैन।

झारखण्ड मुक्ति मोर्चाले ४३ सिटमा उम्मेदवारी दिएको थियो भने कांग्रेसले ३१ सिटमा र लालु प्रसादको राष्ट्रिय जनता दलले सात सिटमा उम्मेदवारी दिएको थियो। झारखण्ड विकास मोर्चा (प्रजातान्त्रिक) ले भने सबै ८१ सिटमै उम्मेदवारी दिएको थियो।

भाजपा नेतृत्वको केन्द्रीय सरकारले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच भएको झारखण्ड विधानसभा निर्वाचनको परिणामलाई महत्वपूर्ण मानिएको छ। मुसलमान विरोधी भनेर आलोचना भएको नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ११ दिनको अवधिमा कम्तीमा २० जनाको मृत्यु भइसकेको छ।

लोकसभा र राज्यसभा दुवैबाट बहुमतद्वारा पारित नागरिकतासम्बन्धी नयाँ कानुनले भारतका तीन छिमेकी देशका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई भारतीय नागरिकता प्राप्त गर्नका लागि सहजता दिएको छ। नयाँ कानुनमा पाकिस्तान, बंगलादेश र अफ्गानिस्तानका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अपार बहुमतले विजयी भएको थियो। तर झारखण्ड विधानसभा चुनावमा उसको निकै कमजोर प्रदर्शन देखिएको छ। यसअघि भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधानसभा चुनावमा बहुमत गुमाएको थियो। त्यस्तै महाराष्ट्रमा क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि भाजपा सरकार बनाउन विफल भएको थियो। झारखण्डमा स्थानीय मुद्दामा चुनावी भिडन्त भए पनि भाजपाको नीतिहरुका कारण उसलाई धक्का लागेको ठानिएको छ।

झारखण्ड विधानसभाका लागि पाँच चरणमा मतदान भएको थियो, जसमा तीन चरणको निर्वाचन नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भइरहेको देशव्यापी प्रदर्शनकै बेला भएको थियो।

प्रकाशित: ८ पुस २०७६ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App