१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीमा विवादकाे समाधान खोज्न भारत र चीन सहमत

राजधानी नयाँ दिल्लीमा शनिबार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी (बायाँ) र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल। तस्बिरः एजेन्सी

नयाँ दिल्ली – दुई देशबीच विद्यमान सीमा विवादमा दुवै पक्षलाई मान्य हुने समाधान वा प्रक्रिया खोज्न भारत र चीन सहमत भएका छन्। दुई देशका अधिकारीबीच शनिबार भारतको राजधानी नयाँ दिल्लीमा भएको सहमितमा सीमा क्षेत्रमा शान्ति कायम गर्न अझ बढी काम गर्ने विषयमा पनि सहमति भएको ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ।

हालै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कश्मीर मुद्दालाई उठाउन खोजेको चीन र भारतका सीमासम्बन्धी प्रतिनिधिहरुले विश्वासको वातावरण बनाउन शनिबार ‘एकअर्काका संवेदनशीलता र सरोकारहरुलाई सम्मान’ गर्ने विषयमा पनि सहमति गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।

राजधानी नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार अजित डोभालबीच भएको भेटवार्तामा ‘गत अक्टोबर महिनामा मामाल्लापुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको सहमतिलाई मार्गदर्शनका रूपमा लिएर छलफल भएको’ विदेश मन्त्रालयले जनाएको छ। मोदी र सीबीचको सो बैठकमा भारत–चीनबीच नजिकको विकास साझेदारीका लागि रचनात्मक रूपमा केन्द्रित भएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको थियो।

‘दुवै देशका विशेष प्रतिनिधिहरुले प्रधानमन्त्री मोदी र राष्ट्रपति सी चिनफिङले दिएको निर्देशन अनुसार भारत–चीन सीमा विवादको निष्पक्ष, उचित र पारस्परिक रूपमा स्वीकार्य समाधानको लागि आफ्नो प्रयासलाई तीव्र पार्न दृढ संकल्प गरेका छन्,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘दुवै पक्षले आपसी विश्वास निर्माण गर्न एकअर्काको संवेदनशीलता र चासोलाई सम्मान गर्नुपर्छ भन्ने विषयमा विशेष प्रतिनिधिहरुबीच सहमति भएको छ किनभने यो नै भविष्यमा हुने द्विपक्षीय सम्बन्ध विकासका लागि महत्वपूर्ण रहेको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

‘दुवै देशले छलफललाई तीव्रता दिन र सीमा क्षेत्रमा संयुक्त रूपमा शान्ति कायम गर्नका लागि मिलेर काम गर्न आवश्य छ,’ भारतस्थित चिनियाँ दूतावासले विदेशमन्त्री वाङलाई उद्धृत गर्दै जारी गरेको छुट्टै विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ८ पुस २०७६ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App