१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक वर्षमा पाँच सय ३७ शाखा थप

काठमाडौं – केही वर्षअघिसम्म मुलुकका सहरी तथा आसपासका क्षेत्रमा सीमित बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको दबाबपछि बजार आसपास मात्र नभई ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय सञ्चालन गर्न थालेका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्मको वित्तीय विवरणअनुसार वाणिज्य, विकास, वित्त, लघुवित्त र पूर्वाधार विकास बंैकले यस अवधिमा पाँच सय ३७ शाखा कार्यालय सञ्चालन गरेका हुन्।

गत आव ०७५/७६ को कात्तिक मसान्तसम्म यी बैंक तथा वित्तीय संस्थाका आठ हजार ६ सय ८६ शाखा कार्यालय रहेकामा चालु आवको सोही अवधिमा नौ हजार दुई सय २३ शाखा कार्यालय पुगेका छन्। मुलुकका सात सय ५३ स्थानीय तहमध्ये सो अवधिसम्म सात सय ४१ तहमा वाणिज्य बैंकका शाखा कार्यालय पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए।

हाल मुलुकभरी २७ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको बताउँदै उनले भने, ‘राष्ट्र बैंकले चालु आवभित्र मुलुकमा सात सय ५३ स्थानीय तहमा वाणिज्य बैंकको सेवा पु-याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई सहरी क्षेत्रमा शाखा कार्यालय सञ्चालनमा रोक लगाएका छाैं।’

बैंक तथा वित्तीय संस्थाहरु बढी नै नाफामुखी र सहरी क्षेत्रमा सीमित भएकाले ग्रामीण तथा पिछडिएको क्षेत्रमा मात्र नयाँ शाखा कार्यालय खोल्न पाउँने व्यवस्था लागू गरिएको उनले बताए। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सो अवधिमा यी बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो र कृषि तथा गैर कृषिजन्य कर्जा करिब डेढ प्रतिशतले बढाएका छन्।

यी वित्तीय संस्थाले कूल कर्जाको ६४.५ प्रतिशत कर्जा घरजग्गा धितोमा र १३.५ प्रतिशत कृषि तथा गैर कृषिजन्य कर्जा लगानी गरेका हुन्। अघिल्लो आवको सोही अवधिमा घरजग्गा कर्जा धितोमा ६३.२ प्रतिशत र कृषि तथा गैर कृषिजन्य कर्जा १४.७ प्रतिशत रहेको थियो। यी शीर्षकमा चालु आवको चार महिनामा गत आवको समिक्षा अवधिको तुलनामा करिब डेढ प्रतिशले वृद्धि भएको छ।

त्यसैगरी, कृषि कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन कर्जा ६.४ प्रतिशत, निर्माण क्षेत्रमा ५.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा कर्जा ५.९ प्रतिशत र सेवा उद्योग कर्जा ७.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बंैकले जनाएको छ। सो अवधिमा पुनर्कर्जा १३ अर्ब ९० करोड रुपैयाँ लगानी भएको छ। एक हजार पाँच सय ७८ जना भूकम्प पीडितलाई आवासीय घर निर्माणका लागि एक अर्ब ९१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रदान वितरण भएको राष्ट्र बैंकले जनाएको छ।

कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १८ हजार सात सय ४३ जनालाई ३९ अर्ब ८० करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह गरिएको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार एक सय २६ जनालाई एक अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी भएको जनाइएको छ।

सो अवधिमा वाणिज्य बैंकहरुबीच ६ खर्ब ९७ अर्ब दुई करोड र अन्य वित्तीय संस्थाबीच ५८ अर्ब २३ करोड रुपैयाँको अन्तर–बैंकिङ कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकले चार खर्ब २१ अर्ब ९१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाले ४८ अर्ब ६९ करोड रुपैयाँ अन्तर–बैंकिङ कारोबार गरेका थिए।

प्रवक्ता निरौलाका अनुसार चालु आवको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आधारदर कम भएको छ। गत आवको सो अवधिमा १०.२१ प्रतिशत रहेकोमा चालु आवमा ९.५० प्रतिशत आधारदर कायम भएको छ।

प्रकाशित: ७ पुस २०७६ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App