१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बार्सिलोनाको फराकिलो जित

बार्सिलोना (एजेन्सी)– जारी सिजनका  सबैखाले खेलमा गरी लियोनल मेसीले ५०औं गोल पूरा गरेको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले डेपोर्टिभो आल्भेसविरुद्ध ४–१ को जित निकालेको छ।

ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले घरेलु मैदानमा भ्रमणकारी टोली आल्भेसलाई स्तब्ध बनाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो। बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा भ्रमणकारी टोली आल्भेसविरुद्ध जित निकाल्दा एन्टोनी ग्रिजम्यान, आर्टुरो भिडाल, लियोनल मेसी र लुइस स्वारेजले एक/एक गोल गरे। आल्भेसका लागि पिरी पोन्सले एक गोल गर्दै अन्तर घटाएका थिए।

नोउ क्याम्पमा सुरुआतबाट नै आक्रामक देखिएको बार्सिलोनाले १४औं मिनेटमा ग्रिजम्यानको गोलबाट अग्रता बुनेको थियो। पहिलो हाफ सकिनै लाग्दा भिडालले गोल गरेपछि बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता हात लागेको थियो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको आल्भेसले ५६औं मिनेटमा पोन्सको गोलबाट अग्रता छोट्यायो। तर आक्रामक खेल पस्किरहेको बार्सिलोनाका लागि ६९औं मिनेटमा कप्तान मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता अझै फराकिलो पारे। ३–१ को अग्रता दिलाएका मेसीले जारी सिजन यस गोलसँंगै आफ्नो ५०औं गोल पूरा गरे। त्यसपछि खेल सकिन १५ मिनेट बाँकी रहँदा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चत गरे।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ। र, लिगमा बार्सिलोनाले तीन अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको रियाल मड्रिडको ३६ अंक रहेको छ। आल्भेस १९ अंक जोडेर १५औं स्थानमा छ।

प्रकाशित: ७ पुस २०७६ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App