१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अस्ताए ‘छेक्यो छेक्यो देउराली डाँडा’ का सर्जक

तस्बिर सौजन्यः मणि गुरुङ

पोखरा – नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका गीतकार सुक गुरुङको आइतबार निधन भएको छ। पोखरा महानगरपालिकाको लेखनाथका बस्दै ५४ वर्षीय गुरुङ पछिल्लो समय मिर्गौला फेल भएर थलिएका थिए।

एक साताअघि उपचारको निम्ति चरक अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान साढे ६ बजे निधन भएको जानकारी गुरुङको उपचारार्थ गठित सहयोग समितिका सचिव भुपाल गुरुङले दिए। ‘एक सातादेखि अस्पतालमा उपचारार्थ रहेको बेला आइतबार बिहान निधन भएको हो,’ उनले भने, ‘दुवै मिर्गौलाले लामो समयदेखि काम गरेको थिएन। बेला–बेला डायलाइसिस गरेपनि मिर्गाैला फेर्न नसक्दा उनी डायलाइसिस गराउँदै आएका थिए।’

लम्जुङमा पुख्र्याैली घर भएका उनी पोखरामा बसेर नेपाली संगीतमा सक्रिय रहेका थिए। उनको आइतबार लेखनाथको रिट्टेपानीमा दाहसंस्कार गरिएको थियो। उनका श्रीमती र दुई छोरा छन्।

दुवै मिर्गौलाले काम नगरेपछि तीन वर्षअघि उनको उपचारार्थ पोखरामा सुक गुरुङ उपचार सहयोग समिति गठन गरेर संकलित रकमबाट उनले उपचार गरिरहेका थिए। सो समितिले सांगीतिक कार्यक्रममार्फत त्यसबेला करिब ५२ लाख रुपैयाँ सहयोग रकम जुटेको थियो। मिर्गाैला फेर्ने असम्भव भएपछि सो समितिले लेखनाथमा रहेको गुरुङको जग्गामा घर निर्माण गरिदिएका थिए।

‘हामीले मिर्गाैला फेर्ने प्रयास गरेका हौ। तर, सम्भव भएन,’ उनले भने, ‘त्यसपछि उनको लेखनाथस्थित जग्गामा घर बनाइदियौ। बाँकी रकम बैंकमा राखेर प्राप्त ब्याजले डाइलाइसिस गराइरहेका थिए।’

पोखरेली गायक विनोद बानियाँका अनुसार गुरुङले नेपाली संगीतमा महत्वपूर्ण योगदान दिएको बताए। ‘मैले उनीसँग संगत गर्न पाइन। तर, उनको उपचारार्थ सहयोग जुटाउने बेला उनीद्वारा रचित गीत गाएको थिएँ,’ गायक बानियाँले भने।

उनको रचनामा नेपथ्य ब्यान्डका रवीन श्रेष्ठले ‘छेक्यो छेक्यो देउराली डाँडा’ र आँखैमा झलमली’ गीत गाएका थिए। त्यस्तै, गायक राजु लामाको स्वरमा रहेको ‘भाईटीकामा भेट्न आउनु’, अरुण थापाको ‘दोष कसैलाई दिन्न है’, ‘पिउनेछु बरु आँखाको आँसु’ र ‘दोबाटोमा आँखाहरु नजुधेका हैनन’ गीतहरुले चर्चा पाएका थियो।

प्रकाशित: ७ पुस २०७६ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App