coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘रोहिंजा रोक्न सहयोग गर्नुस्’

काठमाडौं – नेपालमा भारतको बाटो हुँदै रोहिंजा शरणार्थी छिरेकोमा सशस्त्र प्रहरी बल(एपीएफ) ले त्यसलाई रोक्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)लाई सहयोगको आग्रह गरेको छ। म्यानमारमा अल्पसंख्यक समुदाय रोहिंजा समुदायमाथि हिंसा बढेपछि उनीहरु बंगलादेशबाट भारत हुँदै नेपाल छिरेको विषयमा सशस्त्र प्रहरील बलले औपचारिक रूपमै सो आग्रह गरेको हो।

चौथो नेपाल भारत समन्वयात्मक बैठकको नेतृत्व गर्दै नेपाल आएका एसएसबीका महानिर्दैशक कुमार राजेश चन्द्रलाई सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक शैलेन्द्र खनालले भारतको बाटो हुँदै रोहिंजाहरू नेपाल प्रवेश गरेकाले त्यसलाई रोक्न एसएसबीले सहयोग गर्नुपर्ने प्रस्ताव गरेका हुन्। गत मंसिदेखि ६ गतेसम्म पोखरामा बसेको बैठकमा पूर्वी नेपालको सीमानाबाट रोहिंजाहरू नेपाल प्रवेश गरेको विषयले प्राथमिकता पाएको थियो। ‘भारतीय सीमा क्षेत्रमा खटिएको एपिएफ र एसएसबी दुवैले रोहिंजालाई नेपाल प्रवेशमा सहज हुने वातावरण बनाउनु हुँदैन। यसलाई रोक्न दुवै देशका सुरक्षाकर्मीको मूख्य भूमिका रहेको छ तपाईंहरूले सहयोग गर्नुप¥यो, हामी पनि यताबाट सकेको सहयोग गर्नेछौं। विशेष त रोहिंजाको नेपाल प्रवेश रोक्न दुवै देशको सहकार्य आवश्यक छ,’ महानिरीक्षक खनालले गरेको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो, ‘नेपालका तर्फबाट राखिएको प्रस्तावमा एसएसबी प्रमुखले रोहिंजा रोक्न सहयोग गर्ने वचन दिएका थिए।’

सशस्त्र पहरी स्रोतले यो समस्या दुवै देशको साझा भएकाले बैठकमा उठाइएको बतायो। ‘साझा समस्या हो त्यसकाररण बैठकमा विषयवस्तु राखिएको छ यसअघि एसएसबीको सहयोग निकै महत्वपूर्ण भएकाले यसमा पनि सहयोगको अपेक्षा गरिएको हो,’ सशस्त्र प्रहरी स्रोतले भन्यो। बैठकमा रोहिंजा शरणार्थीबारे छलफल भएको र दुवै देशका अधिकारीले रोहिंजा रोक्न गरेको सहमतिबारे भने बाहिर केही बताइएको छैन।

नेपाल भारत समन्वयात्मक बैठकमा सो विषयलाई नेपालका तर्फबाट उठाइएको थियो। नेपालमा करिब ७ सय रोहिंजा शरणार्थी भएको तथ्यांक पेस गर्दै अधिकांश शरणार्थी म्यान्मारबाट बंगलादेश आएको र त्यहाँबाट भारत हुँदै नेपाल प्रवेश गरेको उल्लेख गरिएको थियो। ‘दलालहरूले रोहिंजालाई सहजै नेपाल भिœयाएको भन्ने समाचार बारम्बार आउने गरेका छन्। सीमा एपिएफ र एसएसबी दुवै खटिएका छौं यसले हाम्रो वद्नाम भएको छ। त्यसकारण एसएसबीले एपिएफलाई सूचना दिने हो र समन्वय गर्ने हो भने समस्या समाधान हुन्छ। यो समस्या नेपाल र भारत दुवैको भएकाले एकले अर्कालाई सहयोग गर्नुपर्ने दुवै देशको दायित्व हा,े’ सशस्त्र प्रहरीले सो बैठकमा प्रस्ताव गरेको थियो।

बैठकपछि सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा भने सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकाले आवश्यक सहयोग आदानप्रदान गर्ने निर्णय भएको उल्लेख छ। ‘सीमा व्यवस्थापनलाई मजबुत बनाइराख्न आवश्यकतानुसार संयुक्त अभ्यास गरिने सहमति भएको र दुवै देशले आपसी समन्वयका लागि नोडल अफिसर तोकिँदै आएकोमा त्यसलाई निरन्तरता दिइनेछ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

सशस्त्र प्रहरीले सो बैठकमा रोहिंजा नेपाल प्रवेशबारे एसएसबीसँग सहयोग मागेपछि भारतीय गृहमन्त्री अमित शाहले केही गलत तत्वले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा प्रवेश गरी अपराध बढाएको बताएका थिए। चार दिनअघि दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसका अवसरमा भारतीय गृहमन्त्री शाहले खुला सीमानाको गलत प्रयोग गर्दै नेपाल र भुटानबाट अस्थिरता निम्त्याउने काम भएको बताएका हुन्। नेपाल तथा भारत र भुटानबीच करिब २ हजार ४ सय ५० किलोमिटर खुला सीमाको सुरक्षाको जिम्मा एसएसबीले गर्दै आएको छ। मंसिर ४देखि ६ गतेसम्म भएको समन्वयात्मक बैठकमा रोहिंजा लगायतका विषयले प्राथमिकता पाएको थियो।

म्यान्मारमा चर्किएको साम्प्रदायीक हिंसाका कारण अल्पसंख्यक रोहिंजाहरु नेपालमा शरणार्थीका रुपमा बढिरहेका छन्। उनीहरुलाई बंगलादेशबाट भारत छिर्न मुस्किल भए पनि भारतबाट नेपाल भने सजिलै आउने गरेका छन्। नेपालमा २०१२ मा बंगलादेशबाट भारत हुँदै थुप्रै रोहिंजा शरणार्थी अएका थिए। खासगरी उनीहरु कपनमा २ वटा क्याम्प बनाएर शणार्थीका रूपमा बसिरहेका छन्।

गृहमन्त्रालयले गत भदौमा सीमानामा कडाई गरेर रोहिंजा छिर्न नदिने रणनीति अख्तियार गर्न निर्देशन दिएको थियो। तर त्यस यता नै संख्या यकिन नभए पनि सयको हाराहारीमा रोहिंजा नेपाल आएको स्रोतले दावी गरेको छ। म्यानमारबाट अगस्ट २५ देखि अहिलेसम्म ६ लाखभन्दा बढी रोहिंजा ज्यान जोगाउन बंगलादेश छिरिसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बंगलादेशले शरणार्थीलाई म्यानमार नै फर्काउने पहल गर्न थालेपछि बंगलादेशमा रहेका शरणार्थी नेपाल आउने सम्भावना बढ्दो छ। भारत सरकारले उनीहरूलाई त्यहाँ शरण नदिने र देश निकाला गर्ने बताइसकेको छ। भारतले रोहिंजालाई शरण नदिने बताएपछि नेपाल उनीहरूको रोजाई भएको बताइन्छ। म्यानमारवाट सांप्रदायिक हिंसाका कारण करिब ४ लाख म्यानमारी रोहिंजा नागरिक विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: ७ पुस २०७६ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App