१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफको जितसँगै राष्ट्रिय खेलकुद सुरु

अमर खड्का/चुमन बस्नेत

दुहबी- महिला फुटबलमा एपिएफको जितसँगै शनिबार दुहबीबाट सातौं वृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु भएको छ। शुक्रबार वीराटनगर रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत रुपमा उदघाटन गर्ने सातौं राष्ट्रिय महिला फुटबल शनिबारै सुरु भएको थियो। त्यसोत सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी, ट्रायथलन र शारिरिक सुगठनका खेलहरु गतवर्ष असोजमै सम्पन्न भइसकेका छन् भने एथलेटिक्सका केही विधा पनि भइसकेका छन्।

पूर्वाञ्चलमा पहिलो पटक हुन लागेको राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार महिला फुटबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले  पश्चिमाञ्चलाई ३–० ले पराजित गर्‍यो।

सुनसरीस्थित दुहबी रंगशालामा एपिएफका लागि लक्ष्मी पौडेलले २ र अनिता केसीले १ गोल गरे। समूह 'क' मा एपिएफ, पश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल र नेपाल पुलिस क्लब छन्।  यसैगरी शनिबारै समूह 'ख' अन्तर्गत भएको खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलले गोलरहित बराबरी खेले। मध्य पश्चिमाञ्चल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब समूह 'ख' का बाँकी दुई टोली हुन्।

सुरू देखी खेल नियन्त्रणमा राखेको एपिएफले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। निर्धारित ७० मिनेटको खेलमा एपिएलले तेस्रो गोल दोस्रो हाफमा गरेको थियो। १२ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी कप्तान लक्ष्मी पौडेलले १० मिनेटपछि अग्रता दोब्बर पारेकी थिइन्। अनिता केसीले ५१ औं मिनेटमा तेस्रो थप्दै एपिएफको जित पक्का गरिन।  एपिएफ ३ अंकका साथ समुहको शीर्ष स्थानमा छ।

आइतबार सुदूर पश्चिमाञ्चल र नेपाल प्रहरी तथा मध्य पश्चिमाञ्चल र त्रिभुवन आर्मीबीच खेल हुनेछ।

प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीसहित ८ टोलीको सहभागीता छ। लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताको फाइनल अर्को शनिबार हुनेछ।

पुस १५ गते धरानमा प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने राष्ट्रिय खेलकुदमा ८ प्रदर्शनी खेलसहित कुल ४३ खेल समावेश छन्। त्यसमध्ये तीन खेल सम्पन्न भइसकेका छन् भने चार खेलको पदकलाई आधिकारिकता नदिने आयोजक राष्ट्रिय खेलुकद परिषदले जनाएको छ। राष्ट्रिय खेलकुदका खेलहरु सुनसरी,  मोरङ, झापा, इलाम, सिरहा, सप्तरी र उदयपुरमा हुनेछन्। बढी प्रतिस्पर्धा भने मोरङ, झापा र सनुसरीमा हुनेछन्।

प्रकाशित: ३ पुस २०७३ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App