१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय ब्याड्मिन्टनमा भारतको बर्चश्व

काठमाडौं- नेपाल इन्टरनेशनल ब्याड्मिन्टन सिरिजमा पाँच मध्ये चार स्वर्ण पदकमा कव्जा जमाउँदै भारत च्याम्पियन भएको छ। शनिबार सम्पन्न प्रतियोगिताका चार विधामा भारतीय खेलाडीले स्वर्ण पदक जितेका थिए। पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्समा भारतीय खेलाडीले उपाधि कव्जा गर्दा महिला एकलमा भने भियतनामकी थु लिन नेग्येनले बाजी मारिन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार पुरुष एकलको फाइनलमा भारतका अभिशेक एलगरले आफ्नै देशका सिद्धर्थ ठाकुरलाई हराउँदै उपाधि कव्जा गरे। उनले सिद्धार्थलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गरेका थिए।

महिला एकलको उपाधि भिडन्तमा भियतनामकी थु लिन नेग्येनले इन्डोनेसियाकी देवी युनिता इन्दह सारीलाई २१–१७, २१–१६ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्।

पुरुष डबल्समा भारतका अर्जुन एमआर र रामचन्द्रन श्लोकको जोडीले पाकिस्तानका रिजवान अजम र शुलेरी कशिफ अलीको जोडीलाई २१–१८, २१–१५ को सेटमा हराउदै उपाधि हात पारे। महिला डबल्सको फाइनलमा भारतका मेघना जखमपुडी र पुर्भिशा एसरामको जोडीले आफ्नै देशका अनुष्का पारिख र हरिका बेलुदुर्थीलाई २१–१६ २१–१२ ले हराए। मिक्स डबल्सको फाइनलमा पनि भारतकै दुई जोडीबीच प्रतिस्पर्धा भएको थियो। शौरभ शर्मा र अनुष्काको जोडीले बेङकट गौरव प्रसाद र जुही देवगनको जोडीलाई १४–२१, २१–१९, २१–१९ को सेटमा पराजित गरेका थिए।

मंसिर २८ बाट शुरू भएको प्रतियोगितामा नेपालका २२, भारतका २०, बंगलादेशका ९, पाकिस्तानका ७, भियतनामका ६, माल्दिभ्सका ४, इन्डोनेसियाका २ तथा मलेसिया र इरानका १–१ गरी ७२ खेलाडीले ५ विधामा प्रतिस्पर्धा गरेका थिए। सबभन्दा ठूलो टोली भए पनि नेपाली खेलाडीहरुले कुनै पदक जित्न सकेनन्।

प्रकाशित: ३ पुस २०७३ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App