१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अढाई वर्षसम्म बनेन पुलको डिजाइन

निर्माणाधिन ६ लेन सडक। तस्बिरःनागरिक

धानगढी - सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजनाको रूपमा रहेको भारतको नाकासँग जोडिएको धनगढी मोहनादेखि अत्तरियासम्मको ६ लेन सडक निर्माण सुरु भएको ३० महिना बितेको छ। दुई वर्षमा निर्माण काम सिध्याउने गरी सम्झौता भएको यो सडकको काम अहिलेसम्म करिब ६० प्रतिशतमात्र पूरा भएको छ भने यो सडकमा रहेका तीनवटा पुलको डिजाइन अहिलेसम्म फाइनल हुन सकेको छैन।

सडक विभागले तयार पार्ने पुलको डिजाइन ६ लेन सडक आयोजनाको कार्यालयमा समेत आएको छैन। ‘तीनवटा पुलको डिजाइन आयोजनाको कार्यालयमा आइसकेको छैन,’ आयोजना प्रमुख होमबहादुर ऐसीले भने, ‘पुलको टेन्डर विभागले गर्ने भएकाले कस्तो पुल बनाइने हामीलाई अहिलेसम्म थाहा छैन।’

पुलको डिजाइन थाहा नहुँदा पुल दुवैपट्टि सडक कति चौडाइ बनाउने, बनेका सडकको डाइभर्सन कता गर्ने जस्ता कुराहरू अन्योलमा रहेको आयोजनाका एक प्राविधिकले बताए। ‘तीनवटा पुलको डिजाइन बनेको भए त्यहीअनुसार निर्माण व्यवसायीलाई पुलको छेउछाउ सडक निर्माण र डाइभर्सन बनाउन भन्न मिल्थ्यो,’ उनले भने, ‘डिजाइन भएर पुलको टेन्डर भइसक्नुपर्नेमा ढिला भएको छ।’

क्षमता,र उपकरण भएको ठहर गरी ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीलाई अहिले वस्तुगत आधार पेस गर्न भन्नुमा आशंका उत्पन्न भएको छ।

तीनवटा पुल नबनेमा अहिले सडकमा रहेका पुल एक लेनका साँघुरा जीर्ण भएकाले दुर्घटना हुने सम्भावना पनि रहेको स्थानीय बताउँछन्। ‘ एकातिर ६ लेन सडक निर्माणको काम समयमा नसिध्याएर विकास पछाडि परेको छ नै, त्यसमा तीनवटा पुलको अहिलेसम्म टेन्डर नगरेर ठुलो लापरबाही गरिएको छ,’ स्थानीय कृष्णबहादुर महराले भने, ‘छिटो र राम्रो काम गर्नेभन्दा अर्कैतिर ध्यान भएर हुनुपर्ने विकास हुन सकेको छैन।’

६० प्रतिशत काम सम्पन्न

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा ढिलाइ गरेको निर्माण कम्पनीले म्याद थप नभए पनि निर्माण काम भने जारी राखेको छ। कल्भर्ट हाल्ने, नाली बनाउने, बेस हाल्ने काम भइसकेको छ भने केही ठाउँमा पिच पनि सुरु भएको छ। ‘भौतिक प्रगतिका हिसाबले करिब ६० प्रतिशत काम सम्पन्न भएको छ,’ आयोजना प्रमुख ऐसीले भने।

गत जेठ महिनामै निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण कम्पनी र आयोजना कार्यालयले गरेको लापरबाहीबा कारण काममा ढिलासुस्ती भएको हो। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई देशका अन्य भागसँग जोड्ने एकमात्र सो सडक समयमा सम्पन्न नभएर लामो समय निमार्णाधीन हुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ। धनगढीको चौराह, चटकपुर, बोराडाँडी, राजपुर, गेटा, अत्तरियालगायत ठाउँका पसल र व्यवसायमा असर परेको छ। ‘६ लेन सडकको निर्माणमा भएको लापरबाहीले हामी सर्वसाधारण र व्यवसायीले ठुलो नोक्सान ब्योहोर्नुपरेको छ,’ स्थानीय व्यवसायी चिरञ्जीवी पौडेलले भने।

जेठ महिनामा म्याद समाप्त भए पनि ६ महिना बित्दा अहिलेसम्म म्याद थप भएको छैन। ६ लेन सडक निर्माण गर्न सक्ने क्षमता, अनुभव र उपकरण भएको ठहर गरी ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीलाई अहिले वस्तुगत आधार पेस गर्न भनेर अड्चन थाप्नुमा आशंका गरिएको छ। कुनै विशेष कारणले सम्झौता भएको अवधिमा निर्माण काम समाप्त नभएमा काम नसकिनुको चित्तबुझ्दो कारण पेस गरिएमा म्याद थप गर्ने र नत्र जरिवाना हुनुपर्ने एक प्राविधिक बताउँछन्।

म्याद थप र भुक्तानी नहुँदा निर्माणको काममा समस्या भएको निर्माण व्यवसायीको भनाइ छ। ‘हामीले ६० प्रतिशत काम सम्पन्न गरिसकेका छौं,’ राजेन्द्र निर्माण सेवा साइट इन्चार्ज प्रयागराज भट्टले भने, ‘अबको सात–आठ महिनामा दिनरात गरेर भए पनि हामी सडक निर्माण सम्पन्न गर्न सक्छौं।’

निर्माण कम्पनीहरूले सडक योजनामा निर्माण अवधि थपका लागि म्याद समाप्त हुनुअगावै पठाइएको फाइल ६ लेन सडक योजना कार्यालयले सिफारिससहित अघि बढाए पनि संघीय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालय सुर्खेतले फिर्ता पठाएको थियो। म्याद थप गर्नुपर्ने स्पष्ट आधार र थपेको समयमा काम सक्ने आधार र प्रमाणसहित पेस गर्न माग गर्दै उसले फिर्ता पठाएको थियो। यसअघिसम्म म्याद थप हुने वा नहुने अन्योल भए पनि अब भने म्याद थपको प्रक्रिया अघि बढेको बुझिएको छ। ‘म्याद थपको प्रक्रियामा सडक विभागमा फाइल पुगेको छ,’ ऐसीले भने। विभाग र मन्त्रालयले खण्ड–खण्डको म्याद थप गर्ने उनको भनाइ छ। कति अवधि म्याद थप गर्ने भनेर अहिले निश्चित भइसकेको छैन। सार्वजनिक खरिदसम्बन्धी संशोधित ऐनमा पूर्वाधारतर्फका पुराना योजनाको हकमा सुरुको अवधिको ५० प्रतिशतभन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था गरिएकाले बढीमा एक वर्षमात्र म्याद थप हुने उनले बताए।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडकमा खाल्डाखुल्डी र निर्माणाधिन कल्भर्टले दुर्घटना भएर कयौंको अकालमै मृत्यु भएको छ। आयोजना निर्माण सुरु भएयता ६ जनाको मृत्यु भइसकेको छ। राजनीतिकलगायत चलखेलका कारण मोहनापुल–अत्तरिया ६ लेन सडक योजना निर्माणको अवधिमा चारजना प्रमुख फेरिएका छन्। सुरुमा नवीनमान श्रेष्ठ प्रमुखको जिम्मेवारीमा थिए, पछि मनिष शाह र राजेश पौडेलले त्यो जिम्मेवारी पाए। अहिले होमबहादुर ऐसी योजना प्रमुख छन्।

धनगढी भन्सार रोडदेखि अत्तरिया चोकसम्म १४ किलोमिटर लामो ६ लेन सडक तीन खण्डमा छुट्याएर ठेक्का दिइएको थियो। धनगढी बोराडाँडीदेखि मोहनपुरसम्म साढे चार किलोमिटर दोस्रो खण्ड र मोहनपुरदेखि अत्तरियासम्मको पाँच किलोमिटर तेस्रो खण्डको निर्माण अवधि जेठ १६ मा सकिएको छ। भन्सार रोडदेखि बोराडाँडीसम्मको पहिलो खण्डको सम्झौता अवधि २५ जेठमा सकिएको हो। दोस्रो र तेस्रो खण्डमा निर्माण सेवाले निर्माणको ठेक्का लिएको थियो। पहिलो खण्डमा निर्माण कम्पनी नागार्जुन कन्स्ट्रक्सनले निर्माणका लागि ठेक्का लिएको थियो। आयोजनाको लागत एक अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

प्रकाशित: ६ पुस २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App