१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा लगानी गर्न होटल व्यवसायी आतुर

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालगायत। तस्बिरःनगेन्द/नागरिक

सुर्खेत- व्यवसायीहरुले सुरक्षा, पूर्वाधार र राजस्वमा सहुलियत दिइए आफूहरु कर्णालीमा लगानी गर्न आतुर रहेको बताएका छन्। उनले कर्णाली पर्यटकका लागि ‘भर्जिन ल्याण्ड’ रहेको बताउँदै प्रदेश सरकारलाई लगानी आकर्षित गर्ने कार्यक्रम ल्याउन आग्रह गरे। कैलालीका होटल व्यवसायी यामबहादुर बमले पछिल्लो समय कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएपनि सो अनुसार पूर्वाधार निर्माणमा राज्यले ध्यान दिन नसकेको बताए।

‘हामी कर्णालीमा लगानी गर्न आतुर छौं,’ उनले भने, ‘लगानीको सुरक्षा, निश्चित समयका लागि कर छुट र पूर्वाधारमा सघाउने हो भने अपेक्षा गरेभन्दा बढी लगानी कर्णालीमा आउँछ।’ उनले प्रदेश सरकारले कर्णालीमा रहेका दुई वटा निकुञ्जभित्र होटल व्यवसाय सञ्चालनका लागि अनुमति दिन माग गरे।

‘नेपालकै ठूलो शे–फोक्सुण्डो र रारा राष्ट्रिय निकुञ्जभित्र होटल व्यवसाय सञ्चालनका लागि निश्चित स्थान छुट्याउनुपर्छ,’ उनले भने, ‘यति मात्रै गरेपनि कर्णालीमा अर्बौको लगानी भित्रिन्छ।’ बलमे कर्णाली चिसापानीदेखि कर्णाली र सेतीको सीमा क्षेत्र बेनी–घाटगाउँसम्म मोटरबोट सञ्चालनका लागि पहल गर्न पनि प्रदेश सरकारलाई आग्रह गरे।

काठमाडौंका ट्रेकिङ व्यवसायी दीपक लामाले पूर्वाधार अभावमा कर्णालीमा अपेक्षा अनुसार पर्यटकहरु आउन नसकेको बताए। ‘यहाँ यातायात र पूर्वाधारको अभाव छ, ट्रान्सपोर्ट खर्चिलो छ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा सरकारले ध्यान दिए कर्णालीमा पर्यटकको ओइरो लाग्छ।’

वीरगञ्जका व्यवसायी इच्छा वाग्लेले कृषिमा दिइएजस्तै पर्यटकीय क्षेत्रमा पनि सहुलीयत ऋणको व्यवस्था गरिनुपर्ने बताए। ‘कर्णालीमा ठूलो लगानी ल्याउने व्यवसायीहरुलाई सहुलीयत ऋणका साथै पानी, विद्युत र अन्य आवश्यक क्षेत्रमा प्रदेश सरकारले सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘यसो गर्न सकिए अहिलेको सबैभन्दा गरिब प्रदेशलाई केही वर्षभित्रै समृद्ध बनाउन सकिन्छ।’

चितवनका होटल व्यवसायी कमलाप्रसाद सुवेदीले नेतृत्व परिवर्तनसँगै नीति परिवर्तन पनि हुने गरेकाले लगानी गर्न आफूहरुलाई समस्या हुने गरेको बताए। ‘लगानीको ग्यारेन्टी र पूर्वाधार निर्माणको काममा सघाउने हो भने हामी लगानीका लागि तयार छौं,’ उनले भने, ‘प्रदेश सरकारले स्थायी नीति बनाओस्, त्यो अनुसार हामी लगानी गछौं।’

प्रदेश सरकारले कर्णालीमा लगानी गर्ने व्यवसायीहरुलाई १० वर्षसम्म लाग्ने राजस्व निःशुल्क गर्नुका साथै लगानी र व्यवसायको सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाएको छ। होटल व्यवसायी महासंघसँगको अन्तरक्रिया कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पर्यटन गुरुयोजना अनुसार व्यवसाय स्थापना गर्ने व्यवसायीहरुका लागि आवश्यक पूर्वाधारमा पनि प्रदेश सरकारले सघाउने बताए। ‘तपाईले लगानी गर्ने क्षेत्रसम्म बाटो, विद्युत र पानी पुर्‍याउने जिम्मेवारी प्रदेश सरकारले लिन्छ,’ उनले भने, ‘यसका साथै कृषिमा जस्तै सहुलियत ऋणको व्यवस्था पनि गरिदिन्छौं ।’

होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेलले होटल व्यवसायीहरु कर्णालीमा लगानी गर्न आतुर रहेको बताए। ‘संघीयता कार्यान्वयनसँगै सबैभन्दा पिछडीएको कर्णालीमा पर्यटन क्षेत्रले गति लिइरहेको छ,’ उनले भने, ‘त्यसैलाई क्यास गर्नका लागि हामी यो क्षेत्रमा लगानी गर्न आतुर छौं।’

कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले कर्णाली एक पटक घुम्नैपर्ने ठाउँ रहेको बताए। ‘नेपाली भाषाको उत्पत्तीस्थल, नेपालकै पहिलो शिलाखेल, नेपालकै ठूलो ताल, निकुञ्जलगायतका क्षेत्रहरु यहीँ ठाउँमा छन्,’ उनले भने, ‘एक पटक कर्णालीमा घुम्नुहोस्, लगानी गर्न तपाईहरु आफै तयार हुनुहुन्छ।’

 

प्रकाशित: ५ पुस २०७६ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App