१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

इन्द्रेश्वरदेखि गौखुरेश्वरसम्म

आँगन छेउमा सुन्तलाबारी। पहेंलपुर सुन्तला, झुप्पाझुप्पामा। उत्तरतिर दूधे हिमाल अनि सुन्तला बारीको पृष्ठभूमिमा पनौती माथिको दलिन्चोक बस्ती निकै सुन्दर देखियो। जाडो मौसमसँगै सुन्तलाको सिजन सुरु हुन्छ। भिटामिन सि पाउने सुन्तला स्वास्थ्यका लागि उपयुक्त छ। त्यसो त प्रकृतिकै काखमा पाकेका सिजन अनुसारका सबै फल खानु स्वस्थकर हुन्छ। 

मंसिर २८ गते हामीले सुन्तला खाँदै र सुन्तला बारी हेर्दै नेवार बस्ती पनौतीको इन्द्रेश्वर महादेव मन्दिरदेखि धुलिखेलको गौखुरेश्वर महादेवसम्म पदयात्रा ग-यौं। नेवारी कला, संस्कृति, इतिहास र प्रकृतिको मिठो संगम रहेको पदमार्गमा दुई सय वर्षअघि राजा पृथ्वीनारायण शाहको समूह हिँडेको थियो। तिनताका नेपाल एकीकरण अभियानमा काभ्रेका सात गाउँ बनेपा, धुलिखेल, पनौती, नाला, साँगा, खड्बु र चौकोट गाउँसँग युद्ध लड्ने क्रममा यही पदमार्गका ठाउँठाउँमा सुरक्षा किल्ला अर्थात् कोट बनाइएको थियो।

भौगोलिक हिसाबले पहाडी इलाका, उकाली ओराली अनि हरिया डाडाका टुप्पाहरू। तिनै डाँडामा रहेका कोटहरू भएको बाटोमा हिँड्दा पूर्खाको गौरव गाथाको सम्झना हुन्छ। हाम्रा पुर्खाले देशलाई एकतामा गाँस्न, हाम्रो स्वाभिमानलाई कायम राख्न धेरै त्याग गरेका छन्। त्यो मेहनतलाई हामीले बिर्सनु हुँदैन। डाँडाको टुप्पामा रहेको पदमार्गबाट काभ्रेलाई एकै ठाउँबाट नियाल्न सकिन्छ। साथै नेपाल एकीकरणको इतिहास बुझ्दै र हिमाली शृंखलाको दृश्यावलोकन गर्दै हिँड्न सकिन्छ।

१४५० मिटरदेखि १७५० मिटरसम्म उचाइ छ पदमार्ग। यहाँका कोट संरक्षण गरेर व्यवस्थित गर्नुपर्ने देखिन्छ। साथै यहाँको प्रचार गर्न सके उत्कृष्ट पदमार्ग बन्न सक्छ।

हामीले यही नेवा बस्ती पनौती बसपार्कबाट त्रिवेणीधाम, इन्द्रेश्वर महादेव, गोरखनाथ मन्दिर, दलिन्चोक बस्ती, शारदाकोट हुँदै बतासे, भातगाउँ सैनिक पोष्ट हुँदै देवीस्थान काभ्रेकोट, हजार सिंढी,  शान्ति वन, दक्षिणकाली मन्दिर भएर गौखुरेश्वर महादेवसम्म ११ किमी पदयात्रा गरेका थियौं। प्रकृतिप्रेमी समूहको १५१ औं पदयात्रामा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा घन्काउँदै हामी हिँडेका हौं।

 

दुई दिनदेखि परिरहेको पानी अनि बढ्दो चिसोमा हामी बिहान ७ बजे निरोगधाम, सातदोबाटोबाट ४ वटा गाडीमा पनौतीसम्म पुगेका थियौं। पनौती नपुग्दै न्यानो घामको स्पर्श अनि दूधे हिमालको दर्शनले सबैको अनुहार उज्यालो भयो। 

पनौती
गुचुमुच्च  बस्ती। माछा आकारको पनौती शहर एउटै ढुंगामा अडिएको छ। नेवार कला, संस्कृतिले धनी शहर। नेवार भाषामा ‘प’ को अर्थ हो ‘बाँस’। उहिल्ये इन्द्रले पापमुक्त हुन दिव्यधाम खोज्नेक्रममा सुकेको बाँस जहाँ पलाउँछ त्यहाँ ध्यान गर्नु राम्रो भनेर भनेकामा यस ठाउँमा बाँस गाडेपछि पलाएको र इन्द्रले यस ठाउँमा बसेर मोक्ष पाएकाले पन्ती भन्दाभन्दै पनौती नाम रहन गएको भनाइ छ। त्यसैगरी पाञ्चाल, पलाती भन्दै पनौती हुन गएको पनि भनिन्छ। 

कलात्मक मन्दिर, पुराना शैलीका घर अनि परम्परागत पोशाक लगाएर बसेका बुढापाका। पनौती बजारको मुखमै छ योमरी स्तम्भ। सेतो योमरी, माछा आकारको। नेवार समुदायले मंसिरे पूर्णिमामा पकाउने योमरी मिठाई पनौतीबाट सुरु भएको मानिन्छ।

इतिहासविद् लीलाभक्त मुनंकर्मीको पुस्तक ‘हाम्रा सांस्कृतिक पर्व र जात्राहरू’मा योमरी पनौतीबाट सुरु भएको उल्लेख छ। उनले बौद्ध ग्रन्थ ‘रत्नाबदाने बुद्धवचन’को कथा उद्धृत गरेका छन्। कथा अनुसार–पनौतीमा सुचन्द्र नाउँका महाजन बस्थे। सुचन्द्र दम्पती दानी र भगवान् विष्णुको भक्त थियो। उनीहरूको उदारता जाँच्न कुबेर गरिबको भेषमा सुचन्द्रको आँगनमा पुगे। आँगनमा आइपुगेका गरिब कुबेरको सुचन्द्रकी श्रीमतीले राम्रो स्वागत गरिन्। कपडा दिइन् अनि योमरी खुवाइन्।

 

उनको सत्कारबाट खुशी भएर कुबेरले असली रूप देखाए। त्यो मंसिर पूर्णिमाको दिन थियो। त्यसैबेलादेखि  मंसिर पूर्णिमाका दिन योमरी बनाएर खाने चलन बस्यो। योमरीले शक्ति दिन्छ। शरीरलाई न्यानो बनाउने भएकाले पनि जाडोमा खाने चलन छ। अचेल योमरी खान मंसिर पूर्णिमा कुर्नु पर्दैन, शहरका रेष्टुराँमा सधैं पाइन्छ। 

इन्द्रेश्वर मन्दिर
त्रिवेणीधामको इन्द्रेश्वर मन्दिर पवित्र धार्मिक तीर्थ हो। इतिहासविज्ञ मनिष युगलका अनुसार १३ औं शताब्दीमा जयसिं रामवद्र्धनको शैलीमा बनाइएको मन्दिर नेपालमै सबैभन्दा पुरानो मन्दिर इन्द्रेश्वर हो। प्यागोडा शैलीको तीन तले मन्दिर कलात्मक छ। मन्दिरका टुँडालमा देवीदेवताका कला कुँदिएको छ। इन्द्रेश्वर परिसरमा अरू मन्दिर पनि छन्। पूर्वमा चार नारायणहरू शेष नारायण, सत्य नारायण, लक्ष्मी र गौरी नारायणमा मूर्ति छन्। पश्चिममा तुलानारायण, सूर्य कृष्णका मूर्ति छन् भने उत्तरमा शिव लिंग र उमामहेश्वरका र दक्षिणमा उन्मुक्त भैरवको।

मन्दिर नजिकै त्रिवेणीधाम छ। तीन खोला रोशी, पुण्यमाता र रुद्रावती नदीको संगम। गोप्य बग्ने रुद्रावतीचाहिँ देखिँदैन। यही त्रिवेणीमा इन्द्रले तप गरेर पाप मुक्त भएको भनाइ छ। यहाँ हरेक १२ वर्षमा मकर मेला लाग्छ।  

मन्दिर नजिकै पनौति संग्रहालय छ। संग्रहालय ०६७ मा सुरु भएको हो। संग्रहालयमा पुराना काष्ठकला, धातु कला र नेवारी कला झल्काउने सामाग्री राखिएका छन्। त्यसैगरी पनौती दरबार उत्खनन गर्दा भेट्टिएका सामान पनि छन्। संग्रहालय र इन्द्रेश्वर मन्दिर परिसर प्रवेश गर्न नेपालीले २५ रुपैयाँको टिकट काट्नुपर्छ।

विश्वसम्पदा सूचीमा प्रस्तावित छ पनौती। त्यहाँ इन्द्रेश्वर लगायत रुद्रायणी मन्दिर, पनौती बुद्ध विहार, लायकू क्षेत्र सम्पदा छन्। बजारमा सुविधा सम्पन्न होटल र रेस्टुराँ छन्। होमस्टे सुविधा पनि छ। २ वटा सामुदायिक होमस्टे पनौती सामुदायिक र नमस्ते सामुदायिक होमस्टे सञ्चालित छन्।

गोरखनाथ – हिमाली दृश्य र पनौतीको राम्रो दृश्य हेर्न पनौती–११ को गोरखनाथ डाँडा १५५० मिटर उपयुक्त छ। त्यहाँ गोरखनाथ मन्दिर छ। मन्दिर नजिकै हवन कुण्ड पनि। यहाँको चौरमा पिकनिक स्पट बनाएर पानीको उचित व्यबस्था गरेमा गोरखनाथ राम्रो गन्तव्य बन्न सक्छ। पनौतीबाट १ किमी दूरीको डाँडाबाट पनौतीको राम्रो दृश्य देखिन्छ।

शारदाकोट– गोरखनाथबाट दलिन्चोक हुँदै २ किमी दूरीमा रहेको शारदाकोट ऐतिहासिक सम्पदा हो। कोट (१७५० मिटर) पृथ्वीनारायण शाहले पनौती बस्तीलाई आक्रमण गर्न प्रयोग गरेको मुख्य सुरक्षा निकाय हो। यसको चारैतिर बंकर खनिएको छ। टुप्पामा भ्यूटावर पनि छ। ७२ सालको भूकम्पले टावरलाई क्षतिग्रस्त छ जसलाई पुनः निर्माण गर्न अत्यावश्यक छ। नजिकै शारदा देवीको मन्दिर। डाडाँबाट चारैतिर राम्रो दृश्य देखिन्छ। डाडाँबाट विहानीपख बादलले ढाकेको सेताम्मे पनौती देखिन्छ।                                             

बतासे– शारदाकोटबाट कोटैकोटको बाटो हुँदै करिब २ किमी शीतल डाँडा हिँडेपछि पुगिन्छ शारदा बतासे। मिश्रित जातजाति नेवार, छत्री, बाहुन लगायतको बसोबास रहेको बस्तीमा बिहानी र बेलुकी चिसो बतास चल्ने हुनाले यसको नाम बतासे रहन गएको भनाइ धुलिखेल–१० का वडाध्यक्ष पुष्पराज राउतले बताउनुभयो। यहाँबाट शंखु हुँदै नमोः बुद्ध पदयात्रा गर्न सकिन्छ। बतासेमा पनि पर्यटनको लहर फैलाउनुपर्ने देखिन्छ। स्थानीयलाई होमस्टे तालिम दिएर सुन्तलाबारी हेर्दै एक दिन यहाँ बसेर नमोः बुद्ध जाने पदमार्ग प्याकेज बनाउन सकिन्छ। यहाँको चौरमा पिकनिक स्पट बनाउन आवश्यक छ।   

                                           

काभ्रेकोट– बतासेबाट धुलिखेल फोक्सो अस्पताल, भातगाउँ सैनिक पोष्ट, पिकनिक स्पट हुँदै ३ किमी दूरीमा पर्छ काभ्रेकोट देवीथान। काभ्रेकोट यहाँका कोटहरूमध्ये मुख्य कोट मानिन्छ। कोट (१,७२० मिटर) नजिकै होटल तथा रिसोर्ट छन्। नजिकै देवीको मन्दिर छ। यही काभ्रेकोटबाट पूरा जिल्लाको नाम काभे्र रहन गएको हाम्रा पथप्रदर्शक मनिषले बताउनुभयो।

गौखुरेश्वर– काभ्रेकोटबाट हजार सिंढी, शान्ति वन हुँदै जंगलको बाटो दक्षिणकाली मन्दिर भएर पुगिन्छ गौखुरेश्वर मन्दिर। मन्दिरको प्रवेशद्धारदेखि नै शिवलिंग राखिएका छन्। मन्दिरमा देवदेवी र साँढेका मूर्ति छन्। मन्दिर नजिकै पोखरी छ। किंवदन्ती अनुसार उहिल्यै यहाँ गाईले दूध चढाउने गथ्र्यौ। अरूले थाहा पाएपछि मन्दिर बनाइएर पूजा गर्न थालेको पथप्रदर्शक मनिषले बताउनुभयो।

पनौती–धुलिखेल सेरोफेरो
लामाडोल–बजारबाट पश्चिम दुई किमि दूरीमा लामाडोल। पनौती–८ को सामुदायिक वनबाट सूर्योदय मनमोहक देखिन्छ। बजारबाट २० मिनेट पदयात्रा। 

फट्केश्वरी– पनौती–१२ खोपासीको फट्केश्वरी महादेवमा पानी तर्किरहन्छ। त्यहाँ दुर्लभ द्रौपदाको मन्दिर छ। पदयात्रा दूरी ३ किमि। समय ३० मिनेट।

कपालकोट– पिकनिक स्पट बनेको पनौती–५ को डाँडा। त्यहाँबाट पनौतीको दृश्य सुन्दर देखिन्छ। पदयात्रा दूरी १ किमि। समय १० मिनेट।

नागीडाँडा– सहर, सूर्योदय, हिमाल र काठमाडौं हेर्न पनौती–३ को नागिडाँडा। पदयात्रा दूरी ४  किमि। समय १ घन्टा।

नमोबुद्ध– सिद्धार्थ गौतम बुद्धले अघिल्लो जन्ममा बघिनीलाई शरीर दान गरेको ठाउँ नमोः बुद्ध। पनौतीबाट ७ किमि पूर्वमा। पदयात्रा समय दुई घन्टा।

बल्थली– पनौतीबाट दक्षिणपूर्वी बल्थली गाउँबाट हिमाली दृश्य राम्रो देखिन्छ। त्यहाँ लड्केश्वर मन्दिर छ। पनौती–बल्थली दूरी ५ किमि। पदयात्रा समय ७० मिनेट।

बेथानचोक– पनौतीबाट ढुंखर्क हुँदै बेथानचोक नारायण मन्दिर पुग्न ६ घन्टा पदयात्रा। ढुंखर्कसम्म मोटरमा गएपछि ३ घन्टा पदयात्रा। बेथानचोकबाट हिमाल र तराईको दृश्य देखिन्छ।
...
यहि ऐतिहासिक पदमार्गको बतासे चौरमा बसेर हामीले खाना खायौं। ब्राउन राइस, दुई थरी हरियो तरकारी र अचारका साथै निरोगधाम लालामोहन पनि खायौं। खानापछि केहीबेर अन्तरक्रिया ग-यौं। पनौतीमा संग्रहालयका इन्चार्ज राजेन्द्र महाजुले स्वागत गर्नुभयो। त्यस्तै धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष पुष्पराज राउतले बतासेमा संस्थाका अध्यक्ष पुरेन्द्र विक्रम लाखे र संस्थाका संस्थापक डा. उमेश श्रेष्ठलाई खादा ओढाएर र बुद्धको मूर्ति दिएर स्वागत गर्नुभयो। त्यसैगरी भातगाउँको सैनिक पोष्टले तातोपानी दिएर सहयोग ग-यो।

बतासेमा स्वागत गर्ने वडाध्यक्ष राउत, खाना बनाउन सहयोग गर्ने संजिव धिमालको परिवार, पानी उपलब्ध गराउने भाटगाउँ सैनिक पोष्ट र बाटो देखाइदिने मनिष युगल सहित सबैलाई हार्दिक धन्यवाद !  

अहिलेको मौसममा हिमाल खुल्छ। सुन्तला चाख्दै, इतिहास बुझ्दै हिँड्न सकिने पदमार्गमा हामी त हिँड्यौं । तपाइँ पनि हिमाल हेर्दै र सुन्तला खाँदै दलिन्चोकदेखि बतासेसम्म यात्रा गर्ने कि ?

कसरी पुग्ने : काठमाडौं– पनौती ३२ किमि। काठमाडौंको पुरानो बसपार्कबाट बिहानैदेखि छुट्छन् बनेपा हुँदै पनौती जाने बस। पनौतीबाट गोरखनाथ हुँदै दलिन्चोक, शारदाकोट, बतासे, निर्माणाधिन धुलिखेल फोक्सो अस्पताल, भातगाउँ सैनिक पोष्ट हुँदै काभ्रेकोट देवीस्थान, हजार सिंढी, शान्ति वन, दक्षिणकाली हुँदै गौखुरेश्वर महादेवसम्म पदयात्रा। पनौती–बतासे ५ किमी, बतासे–गौखुरेश्वर महादेव ६ किमी। जम्मा पदयात्रा दूरी ११ किमी। समय ४ घण्टा। 

जनबोली
राजेन्द्र महाजु पनौती संग्रहालयका इन्चार्ज हुनुहुन्छ। ३४ वर्षका महाजु इन्चार्ज भएर संग्रहालयमा बसेको ८ वर्ष भयो। संग्रहालयमा विद्यार्थी र आन्तरिक पर्यटक आउँछन्। ‘हामीले संग्रहालय सञ्चालनमा ल्यायौं तर म्यूजियोलोजी अनुसार गर्न सकिरहेका छैनौं’, राजेन्द्र भन्नुहुन्छ, ‘यहाँ समान सजाएर राख्न, बत्ती मिलाउन र व्यवस्थित गर्ने तालिमको कमी छ। हामीलाई प्रशिक्षणको आवश्यकता छ।’
....

पुष्पराज राउत धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष हुनुहुन्छ। उहाँ पर्यटन विकासमा क्रियाशील हुनुहुन्छ। ‘हामीले बतासेमा हनुमानचोक, शारदाकोटमा पानी पोखरी बनाउने र नजिकै डाँडामा रक क्लाइम्बिङ चलाउने योजना छ’, पुष्पराज भन्नुहुन्छ, ‘प्रकृतिको यो सुन्दर उपहारलाई पर्यटकीयस्थलमा रूपान्तरण गर्नेछौं। यसका लागि हामीलाई स्रोतसाधन र पर्यटन तालिमको आवश्यक छ। हामी हाइकिङ र साइक्लिङ पनि प्रवद्र्धन गर्दैछौं।’
...
सुरजविर बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष हुनुहुन्छ। उहाँ तेस्रो पटक पदयात्रामा सहभागी हुनु भएको हो। ‘स्वच्छ वातावरण भएका गाउँपाखामा हिँड्दा शरीर र मनमा ऊर्जा बढ्छ। ध्यान दिनुपर्ने कुरा के छ भने हिँडेर मात्र तौल घट्दैन’, सुरजविर भन्नुहुन्छ, ‘तौल घटाउन हिँडाइसँगै खाना र विचार पनि मिल्नुपर्छ। मैले हिँडाइसँगै खाना मिलाउँदा ४ महिनामा १३ किलो तौल घट्यो।’

प्रकाशित: ५ पुस २०७६ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App