१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिमपातले पर्यटक आवागमन ठप्प

हिउँले ढाकिएको अवस्थामा जुम्लास्थित चन्दननाथ मन्दिर। तस्बिर : नागरिक

जुम्ला – भारी हिमपातका कारण कर्णालीमा पर्यटक आवागमन ठप्प भएको छ। हिउँ पग्लिएर सडक चिप्लो भएपछि सवारीसाधन जान सक्ने अवस्था छैन। हवाईमार्गबाट जिल्ला सदरमुकामसम्म आउन सक्ने अवस्था देखिए पनि पर्यटकीय गन्तव्यसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय बताउँछन्।

जुम्लाको नाग्म हुँदै राराताल घुम्न आउने पर्यटकको संख्या निकै बढेको थियो। दैनिक एक सय ५० वटासम्म सवारीमा पर्यटक आउँथे। तर पछिल्लो समय हिमपातका कारण अत्यधिक चिसो बढेपछि पर्यटक आवागमन ठप्प भएको हो। जुम्ला सिञ्जा गाउँपालिकाका प्रवक्ता नवीन शर्माले सरकारले पर्यटन वर्ष घोषणा गरे पनि कर्णालीको खासै योगदान हुन नसक्ने बताए। ‘कर्णालीमा पर्यटनमैत्री पूर्वाधार छैन,’ उनले भने, ‘भ्रमणमा आएका पर्यटक अप्ठ्यारोमा पर्दा उद्धार गर्ने खालको संरचना अभाव छ।’

राजमार्ग हिउँदमा हिउँले बन्द हुन्छ वर्षामा हिलोले। दुईचार महिनाको अनुकूल समयमा पर्यटक आवागमनले पर्यटन वर्षको मर्म सम्बोधन गर्न सक्ने अवस्था रहँदैन। यसपटक निकै छिटो हिउँ परेकाले पनि पर्यटक आगमन प्रभावित बनेको हो। संघीय सरकारले जुम्लाका सिञ्जा उपत्यका र डुंडुल चैत्यलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ। त्यहाँसम्म जाने न प्रभावकारी सडक छ न पर्यटकमैत्री व्यवहार। बिनातयारी सूचीकृत गरिएका यहाँका पर्यटकीय गन्तव्यमा सहजै पर्यटक पुग्न सकिने अवस्था छैन।

कर्णाली प्रदेश सरकारले जुम्लाका दानसाँघु, त्रिवेणीधाम, चन्दननाथ मन्दिर, पातारासी हिमाल र गुठीचौरलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ। तर दानसाँघु, चन्दननाथ मन्दिर र त्रिवेणी धामबाहेक अन्य गन्तव्यमा पुग्न सकिने अवस्था छैन। हिमपातका कारण आवागमन भइरहने सडक बन्द छ। हिमपातसँग कालीकोट हुँदै मुगुको राराताल भएर जुम्ला आउने पर्यटक आउजाउ गर्न सकेका छैनन्। पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक पिच नभएसम्म र पर्यटकमैत्री संरचना तयार नपारिएसम्म पर्यटन भिœयाउने लक्ष्य पूरा हुन सक्ने देखिन्न।

स्थानीय जीवन्त रोकाय कर्णाली आफैंमा पर्यटकीय केन्द्र भएको बताउँछन्। यहाँ आर्थिक, सामाजिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक र प्राकृतिक पर्यटनको राम्रो सम्भावना छ। तर आवश्यक पूर्वाधार नहुँदा पर्यटक भित्र्याउन सकिने अवस्था छैन तर पूर्वाधार निर्माणमा नलागी पर्यटक भित्र्याउनतिर सरकार लाग्दा समस्या भइरहेको छ,’ उनले भने। हिउँ पनि आफैंमा पर्यटन आकर्षण गर्ने माध्यम बन्न सक्छ। बीच बाटोमा सुविधा सम्पन्न होटल छैनन्। शान्ति सुरक्षाको अवस्था राम्रो छैन। ज्यान जोखिममा राखेर पर्यटक आउने कुरै भएन। नाग्म–गमगढी सडक कहिलेसम्म खुल्ने हो, निश्चित छैन। हिउँ परे कर्णालीका विमानस्थल पनि न्यूनतम एक साता बन्दै हुन्छ।

बीचबीचमा हिउँ पन्छाउने डोजर राखिनुपर्ने पर्यटन व्यवसायी बताउँछन्। सडक स्तरोन्नति भएर पिच गर्नुपर्ने र यहाँका हरेक पर्यटनका विषयमा काम गर्दा पर्यटन व्यवसायीसँग समन्वय गर्नुपर्ने पर्यटन व्यवसायी ललित महत बताउँछन्। उनले भने, ‘पर्यटन क्षेत्रको काम गर्दा पहुँचको भरमा गर्छन्। पहुँचका भरमा पारदर्शी र दीर्घकालीन विकासको कल्पना गर्न सकिँदैन। त्यही भएर कर्णालीको पर्यटन क्षेत्र थला परिसकेको छ।’

हिउँ छिटो पग्लने अवस्था छैन। हिउँले कर्णाली सेताम्य छ। कर्णालीमा पहिले आन्तरिक हवाई सेवामार्फत पर्यटकलाई हिउँको दृश्य देखाउन सकिने अवस्था थियो। अहिले कर्णालीको जुम्लामा सुर्खेतबाट सीधा उडान छैन। राजमार्ग संघीय सरकारको माताहतमा रहेकाले स्थानीय सरकारले त्यो क्षेत्रमा काम गर्न मिल्दैन। हिमपातका कारण कर्णालीको डोल्पा, जुम्ला, मुगु र हुम्लाको पर्यटन क्षेत्र अस्तव्यस्त छ। यो क्रम चैत÷वैशाखसम्म रहने स्थानीय बताउँछन्।

कर्णाली प्रदेश सरकारले एक लाख पर्यटक भित्र्याउने घोषणा गरिसकेको छ। पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्यि महत्वका पर्यटकीय गन्तव्यको सूची तयार पारिसकिएको छ। अहिलेसम्म कर्णालीमा कति पर्यटक भित्रिन्छन्, कर्णालीको पर्यटन क्षेत्रका अवरोध के हुन् र कर्णालीको पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने पाटापक्षबारे सरोकारवालाले ध्यान नदिएको आरोप स्थानीयको छ। पर्यटक हिँड्ने बाटोभरि दुई फिट हिउँ जमेको छ। हिउँ पन्छाउन सरकारी तदारुकता देखिएको छैन।

प्रकाशित: ५ पुस २०७६ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App