२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधसभाको अर्को बैठक ११ गते

काठमाडौं – संसद्को हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ। विगतमा जस्तो यस पटक अधिवेशन सुरु भएको पहिलो दिन सांसदहरूलाई बोल्ने कार्यसूची बनाइएन। बैठकले नयाँ सभामुखको निर्वाचन मिति तोक्ने अनुमान गरिए पनि हुन सकेन। उपसभामुखले राजीनामा नदिईकन नयाँ सभामुख निर्वाचन मिति तोक्न नसकिने भएकाले एक साताका लागि बैठक स्थगित भएको छ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको अवस्थामा नयाँ सभामुखको निर्वाचन मिति तोक्न नसकिएको कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले बताए। अपराह्न ४ बजे बोलाइएको प्रतिनिधिसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। समितिका सदस्यले अर्को बैठक ११ गते बोलाउन सुझाव दिएका थिए।

नेकपाले नै सभामुखमा उम्मेदवार दिने भएपछि सभामुखको नयाँ निर्वाचन कार्यक्रम घोषणा गर्न उपसभामुखले नमिल्ने कार्यव्यवस्था परामर्श समितिधका एक सदस्यले बताए। उनले भने, ‘त्यसैले उहाँले राजीनामा दिएपछि मात्रै ज्येष्ठ सदस्यले बैठक सञ्चालन गरी सभामुखको निर्वाचन मिति घोषणा गर्ने र निर्वाचन अधिकृत तोकिने छ।’

११ गते बस्ने बैठकले सभामुखको निर्वाचन मिति र निर्वाचन अधिकृत तोक्ने

उपसभामुख तुम्बाहाङ्फेलाई एक दिन भए पनि संसद बैठक चलाउने चाहना भएकाले उनले राजीनामा नदिएको स्रोतले बतायो। अर्को बैठक ११ गते बस्ने भएपछि उनले यसैबीचमा राजीनामा दिने तयारी गरेकी छन्। पुस ११ गते बस्ने बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्ने र त्यो बैठकले सभामुखको निर्वाचन मिति र निर्वाचन अधिकृत तोक्ने छ। सभामुखको निर्वाचन मिति र निर्वाचन अधिकृत तोक्ने कार्य नभएपछि अधिवेशनको पहिलो दिन बैठक औपचारिकतामा सीमित भएको हो। बैठकमा राष्ट्रपति कार्यलयबाट आएका पत्र पढेर सुनाउने, यस अधिवेशनभर सभामुख र उपसभामुखबाहेक बैठकको अध्यक्षता गर्ने व्यक्तिको नाम तोक्ने र मृतक सांसदप्रति शोक प्रस्ताव पारित गर्ने काम भएको थियो।

संसद्को अर्को बैठक पुस ९ गते बोलाउने सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी थियो। तर, पुस ९ गते क्रिसमस डे र १० गते सूर्य ग्रहण परेकाले ११ गते संसद् बैठक बस्ने भएको एक सांसदले बताए।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेकपा सांसद दीननाथ शर्माले यस अधिवेशनमा विधेयकमाथिको छलफललाई तीव्र बनाउनुपर्ने धारणा राखे। कांग्रेसका सुरेन्द्रराज पाण्डेले सरकारले संसद्मा पेस गरेका विधेयकमाथि व्यापक सुधारको आवश्यकता रहेको बताए। समाजवादी पार्टीकी प्रमिला कुमारीले बालुवाटार जग्गा अतिक्रमणान संलग्नलाई कारबाही किन नभएको भन्ने प्रश्न गरिन्। राष्ट्रियसभाको अर्को बैठक पुस ७ गते १ बजे बस्ने छ।

प्रकाशित: ५ पुस २०७६ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App