१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अतिक्रमित जग्गा फिर्ता गराउन गाउँपालिका आक्रामक

सरकारको सय गन्तव्यमा समावेश खोटाङको बराहपोखरी। तस्बिरः दमन/नागरिक

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिका पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहरा हटाउन आक्रामक बनेको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहरा हटाउनका लागि दुई पल्ट दिएको समयसीमाको बेवास्ता गरिएपछि गाउँपालिकाले तेश्रोपल्ट १५ दिने समयसीमा जारी गरेको छ।

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीको जग्गा मिचेर बनाइएका घर तथा टहरा आगामी पुस १५ गतेभित्रमा पनि नहटाइए बल प्रयोग गरेर घर तथा टहरा हटाउनका लागि प्रशासनलाई गुहार्ने निर्णय गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए।

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि पिपिआर तयार पारेर योजनावद्धढंगले लागेको गाउँपालिकाले बराहपोखरी शंखेश्वर मन्दिर गुठीको तथा सो आसपासका जग्गामा बनाइएका घर तथा टहरा हटाउनका लागि २०७५ साल असोज ८ गते र २०७५ साल चैत ४ गते सार्वजनिक सूचना जारी गरेको थियो। दुई–दुई पल्ट जारी गरेको सूचनालाई बेवास्ता गरिएपछि गाउँपालिकाले तेश्रोे चोटी सूचना जारी गर्दै घर टहरा हटाउन आग्रह गरेको हो।

गुठी तथा सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनमा स्थानीय नै बाधक देखिएका छन्। समयमा अतिक्रमित जग्गाको घर तथा टहरा नहट्दा बराहपोखरीको पर्यटन प्रवद्र्धनमा बाधा पुगेको गाउँपालिका अध्यक्ष बञ्जराले बताए। सूचना जारी गर्दा पनि घर तथा टहरा हटाउन अटेर गरिएपछि गाउँपालिकाको गत मंसिर १५ गतेको गाउँ कार्यपालिकाको बैठकले तोकिएको म्यादभित्र नहटाइएमा नियम अनुसार कानूनी कारवाही गर्ने र सार्वजनिक तथा गुठीको जग्गामा बनाइएको घर टहरा भत्काउन प्रशासनलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ।

सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काम गर्नेक्रममा बाधकका रुपमा देखिएपछि हटाउने अभियान थालिएको हो। पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान थालिएको गाउँपालिका अध्यक्ष बञ्जराले बताए।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड(क) को देहाय २ (ट) मा व्यवस्था भए बमोजिम अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ती अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारमा निहित रहेको व्यवस्था अनुसार गाउँपालिकाले बराहपोखरीको गुठी, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाउन प्रयास थालेको हो।

‘सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन तथा अतिक्रमण गरिएका जग्गा छाड्न तेश्रोचोटी सूचना जारी गरी समयसीमा दिएका छौं,’ गाउँपालिका प्रमुख बञ्जरा भने, ‘यदि हाम्रो सूचनालाई वेवस्ता गरे प्रचलित कानुन अनुसार बल प्रयोग गरेर भएपनि हटाउने छौं।’

 

प्रकाशित: ४ पुस २०७६ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App