१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अर्काको जमिनमा फोहोर फाल्दै नगरपालिका

गौरीगंगा नगरपालिका–९ को शंकरपुरमा रहेको वनक्षेत्रमा घोडाघोडी नगरपालिकाले फ्याँकेको फोहोर। तस्बिर : नागरिक

कैलाली – गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाबीच सीमा विवाद चुलिएको छ। गौरीगंगा नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको आमखोया नालासम्म आफ्नो पुरानो सीमा दाबी गर्दै आइरहेका बेला घोडाघोडी नगरपालिकाले भने गौरीगंगाको शंकरपुरनजिकैको वनमा बोर्ड लगाएपछि केही महिनादेखिको विवाद चुलिएको हो। विवादका बीच घोडाघोडी नगरपालिकाले गौरीगंगा नगरपालिकाको जमिनमै आएर डम्पिङ साइड भन्दै फोहोर फ्याँक्न थालेको छ।

घोडाघोडी नगरपालिकाले आमखोयास्थित नालाभन्दा पाँच सय मिटर पश्चिम गौरीगंगाको शंकरपुरतर्फ आफ्नो सीमा भएको भन्दै नगरपालिकाको फोहोर ल्याएर फ्याँकेको हो। गौरीगंगा नगरपालिका–९ का अध्यक्ष हरिप्रसाद तिवारीले घोडाघोडी नगरपालिकाले प्रहरी प्रशासनको सिमानालाई आधार मानेर आफ्नो क्षेत्र भएको भन्दै फोहोर ल्याएर फ्याँकेको हो।

‘घोडाघोडी नगरपालिकाले हाम्रो साविकको मसुरिया गाविसले चलनचल्तीमा उपभोग गर्दै आएको जमिन अहिले आएर मिच्यो,’ उनले भने, ‘हामीसँग सोधपुछ नै नगरी आफूखुसी हाम्रोतर्फको जमिनलाई डम्पिङ साइट भन्दै फोहोर फ्याँकेको छ।’ रातिको समयमा घोडाघोडी नगरपालिकाले फोहोर ल्याएर फ्याँक्ने गरेको बताउँदै वडाध्यक्ष तिवारीले भने, ‘हामीले पटक–पटक घोडाघोडीका वडाध्यक्ष र मेयरलाई फोहोर नफ्याँक्न र आफूहरूको सीमा अतिक्रमण नगर्न अनुरोध ग¥यौं तर उहाँहरूले मान्नुभएको छैन।’

उत्पन्न विवादलाई सबै मिलेर छलफलबाट समाधान गर्नुपर्ने बताउँदै आए पनि गौरीगंगा नगरपालिकाका मेयर र घोडाघोडी नगरपालिकाका मेयर बस्ने वातावरण मिलाउन पनि आग्रह गरेका छौं। तर उहाँहरूले विवाद मिलाउँला भन्दै आलटाल गर्ने गरेको उनले बताए। गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले चलनचल्तीका हिसाबले वर्षौदेखि उपभोग गर्दै आएको जमिन आफूहरूको हुनुपर्ने बताउँदै आएका छन्।

‘हामीले स्वागत बोर्ड गाडेको ठाउँसम्म हाम्रै सीमा हो,’ उनले भने, ‘पहिलेको गाविस हुँदा वडाले उपभोग गर्दै आएको जमिन त्यहाँसम्म पर्छ, त्यही भएर अहिले पनि हामीले हाम्रो सीमा त्यहींसम्म तोकेका हौं।’ तर घोडाघोडी नगरपालिकाले भने शंकरपुरको सामुदायिक वनसम्म आफ्नो सीमा भन्दै अडान लिने गरेको उनले बताए।

तर शंकरपुरको मन्दिर पश्चिममा रहेको खोल्सोसम्मै आफूहरूको भूभाग रहेको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको दाबी छ। ‘शंकरपुरको मन्दिरदेखि पश्चिममा पर्ने खोल्सोसम्मै हाम्रो जमिन हो,’ उनले भने, ‘अहिले त हामीले त्योभन्दा निकै वर आफ्नो सीमा भन्दै आएका छौं।’ गौरीगंगा नगरपालिकाले आफूहरूले टाँगेको बोर्ड फ्याँकेर बलमिच्याइँ गरिरहेको बताउँदै उनले भने, ‘गौरीगंगाले नेपाल–भारतको सीमाजस्तै लडाइँ गर्नुभएन, त्यसमा सौहाद्रपूर्ण तरिकाले मिलाउनुप-यो।’

केही दिनमै बूढापाका मानिस र नापी विभागलाई नै ल्याएर विवाद टुंग्याउन आफूहरू राजी भएको बताउँदै उनले भने, ‘हाम्रो पुर्खादेखिको उपभोग गर्दै आएको जमिनमा हामीले फोहोर फ्याँकेका हौं, त्यसमा गौरीगंगाको टाउको दुखाइको विषय छैन।’ तर गौरीगंगा नगरपालिका–९ का अध्यक्ष हरिप्रसाद तिवारीले वर्षौदेखि संरक्षण गर्दै आएको दर्तावाला सामुदायिक वनमा घोडाघोडीले फोहोर फ्याँकेको भन्दै आक्रोश व्यक्त गरे।

प्रकाशित: ४ पुस २०७६ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App