१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

'सरकारी शिक्षाले आफै मिहिनेत गर्न सिकाउँछ'

काठमाडौं – विराटनगरका उमेश आचार्य यस वर्ष त्रिभुवन विश्वविद्यालयको सर्वोत्कृष्ट विद्यार्थी भए। त्रिवि, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट उनले मास्टर्स इन इनफरमेसन एन्ड कम्युनिकेसन विषयमा ९१ दशमलव ७३ प्रतिशत अंकसहित विशिष्ट श्रेणी हासिल गरी उनले नेपालकै सम्मानित पदक चान्सलर पदक प्राप्त गरेका छन्। आचार्यले सोही विषयमा मास्टर्समा प्रथम स्थान हासिल गरी त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

बिहीबार सम्पन्न त्रिविको ४५औं दीक्षान्त समारोहमा ३१ वर्षीय आचार्यले तीनवटा पदक एकैचोटि पाउँदा आफूले गरेको दिनरातको मिहिनेत र परिवारको संघर्षलाई सम्झिए। नेपाल टेलिकम केन्द्रीय कार्यालय भद्रकालीमा वरिष्ठ इन्जिनियर पदमा स्थायी जागिरे आचार्यको कक्षामा नियमित र ध्यान दिएर अध्ययन गर्ने बानी बसाले विद्यार्थी आफ्नो विषयमा सफल हुने विश्वास राख्छन्। विराटनगरस्थित जनता नमुना माविबाट एसएलसी पास भएका उनले सरकारी स्कुलमा अध्ययन गरे मिहिनेत गर्न सकिने अनुभव सुनाए।

पिता शिक्षक र आमा गृहिणी भएकाले सानैदेखि घरमै अध्ययनको उपयुक्त वातावरण पाएकाले नै आफू सर्वोत्कृट हुन सफल भएको उनले सुनाए। ‘बुवा सरकारी स्कुलका शिक्षक र म पनि सोही स्कुलको विद्यार्थी भएकाले मिहिनेत गरेर पढ्ने बानी बस्यो,’ उमेशले पदक पाएपछि नागरिकसँग भने, ‘मैले पदक लगन र मिहिनेतका साथ अध्ययन गरेको परिणाम हो।’

अध्ययनमै रुचि भएका उमेशले थपे, ‘नेपाल टेलिकमलाई उच्च गतिको सेवा दिने संस्था बनाउने मेरो लक्ष्य छ।’ प्राविधिक शिक्षातर्फ अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रममा आधारित शिक्षा दिने परिपाटीको विकास हुँदै गएकाले नेपालमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई स्वदेश तथा विदेशमा समेत अवसर भएको उनले बताए। सेमेस्टर प्रणालीले त्रिविको पठनपाठनमा गुणस्तर सुधार ल्याएको समेत उनको अनुभव छ। मेडलले काममा हौसला प्रदान गर्दै थप अध्ययनका लागि समेत बाटो खोलिदिएको उनले सुनाए। ‘अफिसको समय सकिएपछि म साँझ कलेज जाने र राति अध्ययन गर्ने गर्थें,’ उमेशले भने, ‘पदकले मेरो काम र स्वदेश तथा विदेशमा समेत थप अध्ययनको अवसर दिएको छ।’

यति मात्र होइन, गर्न सक्नेलाई नेपालमै अवसर रहेको बायोटेक्नोलोजी विषयमा ३ दशमलव ८ जिपिए प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेकी प्रणिता पौड्यालले बताइन्। झापाकी प्रणिताले त्रिवि जैविक प्रविधि केन्द्रीय विभागबाट एमएस्सी जैविक प्रविधि विषयमा सर्वेत्कृष्ट स्थान हासिल गरी डा. रेखा र लक्षमैया श्रीरामा स्वर्ण पदक प्राप्त गरेकी छिन्। नास्टमा सहायक अनुसन्धानकर्ताको रूपमा कार्यरत उनले नेपालमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकै कम्पनी खुल्दै गएकाले अवसर नेपालमा समेत रहेको जनाइन्। ‘नेपालमै पनि उत्कृष्ट शिक्षा छ,’ विद्यावारिधि गर्ने लक्ष्य लिएकी पौड्यालले भनिन्, ‘म थप अध्ययनका लागि विदेश गए पनि नेपालमै आफ्नो क्षेत्रमा काम गर्ने लक्ष्य हो।’

त्रिविको ५७औं ग्रेस लिस्टअनुसार २०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७० हजार ७७ जना विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुनुपर्नेमा १० हजार १ सय ८३ जनाको मात्र सहभागिता रहेको उपकुलपति धर्मकान्त बास्कोटाले बताए। दीक्षित हुनेमा बढी व्यवस्थापनतर्फका रहेका छन्। व्यवस्थापन संकायका यस वर्ष २२ हजार ७ सय ९८ रहेका छन् भने सबैभन्दा कम वन विज्ञान अध्ययन संस्थानतर्फका छन्। यसतर्फ कुल २ सय ६४ विद्यार्थी दीक्षित भएका छन् भने शिक्षाशास्त्रतर्फ २० हजार ६, मानविकी तथा समाजिक शास्त्रतर्फ १३ हजार ६ सय ९५, कानुन संकायतर्फ १ हजार ६ सय ६६ र विज्ञान तथा प्रविधि अध्ययनतर्फका ६ हजार ४ सय ५२ रहेका छन्। यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानतर्फ २ हजार ९ सय ७२, चिकित्सा अध्ययन संस्थानतर्फ १ हजार ७ सय १९ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानतर्फ ५ सय ५ जना दीक्षित भएका छन्।

प्रकाशित: ४ पुस २०७६ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App