१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

४२ मेगावाट बिजुली खेर जाने जोखिम

काठमाडौं - सिंगटी–लामोसाँघु ४० डबल सर्किट किलोमिटरको प्रसारण लाइन समयमै निर्माण सम्पन्न नहुँदा सो क्षेत्रमा निर्माणाधीन आयोजनाको ४२ मेगावाट बिजुली खेर जाने जोखिम बढेको छ। नेपाल विद्युत् प्रधिकरणले १३३ केभी क्षमताको यो प्रसारण लाइन बनाउन सन् २०१० मा ठेक्का सम्झौता गरेको थियो।

आयोजनाको काम सम्पन्न नहुँदा २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजना, ११ मेगावाटको तल्लो खाँडे जलविद्युत् आयोजना र ६ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर जाने जोखिम बढेको हो। प्राधिकरणका एक अधिकारीले समयमै प्रसारण लाइन तयार नहुँदा बिजुली खेर जाने अवस्था आएको बताए। ‘तीनवटा जलविद्युत् आयोजनाको निर्माण लगभग सम्पन्न भइसकेको छ,’ उनले भने, ‘उनीहरूले पुसभित्रै परीक्षण प्रसारण गर्ने तयारी गरेका छन्। तर अहिलेसम्म प्रसारण लाइन तयार भएको छैन।’

प्राधिकरणको प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी भने सो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न हुन अझै तीन महिनाभन्दा धेरै लाग्ने दाबी गर्छन्। ‘तिनीहरू अहिल्यै बिजुली उत्पादन गर्न सक्ने अवस्थामा छैनन्,’ उनले भने, ‘हामीले सकभर बिजुली खेर नजाने गरी काम गरिरहेका छौं।’

प्राधिकरणका अधिकारी भने सो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न हुन अझै तीन महिनाभन्दा धेरै लाग्ने दाबी गर्छन्

ठेकेदार कम्पनीलाई एक साताभित्रै काम सम्पन्न गर्ने तालिका उपलब्ध गराउन निर्देशन दिएको निर्देशक चौधरीले बताए। ‘बुधबारदेखि लागू हुने गरी एक साताभित्र काम सम्पन्न गर्ने तालिका उपलब्ध गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘जतिसक्दो छिटो सम्पन्न गराउने तयारीमा जुटेका छौं।’ आयोजनाका अनुसार प्रसारण लाइन निर्माण गर्न एक सय २४ वटा फाउन्डेसन बनाउनुपर्नेमा हालसम्म एक सय १८ वटा तयार भएको छ।

१२४ टावरमध्ये १०३ वटा तयार भइसकेको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना एक दशक बित्दासमेत सकिएको छैन। यो प्रसारण लाइन बनाउन प्राधिकरणले सन् २०१० मा भारतीय आरभाली इन्फ्रा पावर लिमिटेडसँग सम्झौता गरेको थियो। आयोजना ४२ करोड लागतमा निर्माण गर्ने सम्झौता थियो। आयोजना प्रमुख राजन ढुंगेलका अनुसार अहिलेसम्म सिंगल २३ किलोमिटर तार तान्ने काम भइरहेको छ। ‘हामीले तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सम्पन्न गराउन अनुरोध गरेका छौं,’ उनले भने। यो प्रसारण लाइन दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म फैलिएको छ। आयोजना प्रमुख ढुंगेलले समयमै प्रसारण लाइन निर्माण नभए पनि जलविद्युत् आयोजना प्रवद्र्धकलाई क्षतिपूर्ति तिर्न नपरेको बताए। ‘निजी क्षेत्रका प्रवद्र्धकले समयमै बिजुली उत्पादन गर्न नसकेकाले क्षतिपूर्ति तिर्नबाट जोगियौं,’ उनले भने, ‘उनीहरूले चाँडै बिजुली उत्पादन गरेको भए धेरै क्षतिपूर्ति
तिर्नुपर्ने हुन्थ्यो।’

आयोजना प्रमुख ढुंगेल ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारण काम सम्पन्न हुन नसकेको बताउँछन्। ‘भारतीय ठेकेदार कम्पनीकै आयोजना अलपत्र परेको हो,’ उनले भने, ‘पछिल्लो समय डिसेम्बरभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखेका थियौं, विविध कारणले सिध्याउन सकेनौं।’

आयोजनाले ठेकेदार कम्पनीलाई पाँचपटक म्याद थपेको ढुंगेलले जानकारी दिए। फेरि पनि म्याद थप गर्नुपर्ने हुन्छ। आयोजनाका अनुसार हालसम्म ८० प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको छ। प्राधिकरणले निर्माण गरिरहेको सोलु करिडोरको हालत पनि उस्तै छ। यसले गर्दा २३.५ मेगावाटको सोलुखोला जलविद्युत् आयोजना, ८२ मेगावाटको तल्लो सोलु आयोजनाबाट उत्पादित बिजुली खेर जाने र प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने खतरा बढिरहेको छ।

प्रकाशित: ४ पुस २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App