१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेयरकप ब्याडमिन्टनमा आयोजकलाई प्रथम उपाधि

नगरपालिका स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगीताको प्रथम उपाधि उचाल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका खेलाडी। तस्बिरः दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेलमा आयोजित नगरपालिका स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगीताको प्रथम उपाधि आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जितेको छ। बिहीबार भएको फाईनल खेलमा त्रियुगा नगरपालिका उदयपुरलाई पछि पार्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम उपाधि जितेको हो। हारसँगै त्रियुगा नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ। यस्तै, सुनसरीको धरान उपमहानगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका सेमीफाइनलिष्ट बनेको आयोजकले जनाएको छ।

दिक्तेलको माटिकोरेमा ९ वर्ष लगाएर निर्माण गरिएको कबर्डहल उद्घाटनको अवशरमा आयोजित नगरपालिका स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगीताका प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमलाई ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१/४१ हजारका सामाथ मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

यस्तै, प्रतियोगीताको उत्कृष्ट टिमको उपाधि प्राप्त सोलुखुम्बुको दुधकुण्ड नगरपालिकालाई नगद १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। विजेता टिमलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेवी राई लगायतले पुरस्कार हस्तान्तरण गरेका छन्। फरक क्षमताका भए पनि ब्याडमिन्टन प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गरेकामा पथरी शनिश्चरे नगरपालिकाका हेमबहादुर गुरुङलाई पनि १० हजार प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

प्रदेश नम्वर १ भित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नगरपालिकाले मंगलबारदेखि नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु गरेको थियो। प्रदेशका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगीतामा खोटाङसहित उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ लगायतका १० जिल्लाका विभिन्न नगरपालिकाका ३४ टिमले प्रतिष्पर्धा गरेको आयोजकले जनाएको छ।

प्रतियोगीतामा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका नगरपालिकाको भने सहभागिता नरहेको जनाइएको छ। नगरपालिकाले ब्याडमिन्टन संघसँगको सहकार्यमा प्रतियोगीता सञ्चालन गरेको हो।

 

प्रकाशित: ३ पुस २०७६ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App