१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छ वर्षपछि ठेकेदारले थाल्यो पुलको काम

ओखलढुंगा–ओखलढुंगा सदरमुकामदेखि पश्चिमी भूभाग हुँदै रामेछापको साँघुटार जोड्ने मुख्य सडक अन्तर्गत पर्ने मान्द्रे दोभानस्थित मोलुङ खोलाको पुलको काम सुरु भएको छ। यो पुलको ठेक्का लागेको छ वर्षपछि ठेकेदारले काम थालेको हो।

छ वर्ष पहिले लिइएको ठेक्का विभिन्न बहानामा एउटा पिलर उठाएर छलपत्र छाडिएको थियो। चौतर्फी दबावपछि पर्शुराम नगरपालिका डढेलधुराका मेयर भीमबहादुर साउद सञ्चालक रहेको राजेन्द्र–लोकप्रिय जेभी कम्पनीले अहिले म्यानेजर नियुक्ति गरेर पुलको निर्माण कार्य थालेको छ। कम्पनिले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्ने गरि २०७० मा ठेक्का पाएको थियो।

अहिले काम सुरु भइसकेको निर्माण कम्पनीका म्यानेजर विदुर कडेँलले बताए। उनले पुलमा भएको डिजाइन परिवर्तन, संघीयताले बजेट कार्यन्वयन गर्ने निकाय नतोकिनु र कन्ट्«याक्टरले काम नगर्दा ढिलाइ भएको जानकारी दिए। आगामि असार मसान्त भित्र पुलको सम्पूर्ण निर्माण कार्य सक्ने कडेलले दावी गरेका छन्।
ओखलढुंगालाई पूर्वपश्चिम जोड्ने सडककोबीचमा रहेको उक्त मोलुङ खोलाको मान्द्रे दोभान पक्की पुल सम्झौताअनुसार २०७१ सालमा सम्पन्न हुनुपर्ने थियो।

२०७६ असोजमा ठेकेदार कम्पनीका प्रतिनिधि बोलाएर संघिय सांसद यज्ञराज सुनुवार प्रदेश सांसद मोहन खड्का र प्रमुख जिल्ला अधिकारीले गणेश आचार्य लगायतले कार्यजोजना पेश गरेर काम सुरु गर्ने कागज गराएका थिए। तोकिएको समयमा पुलको निर्माण कार्य नसकिए पछि दुई पटक म्याद थप भईसकेको छ।

दुई पटकसम्म थपिएको समयभित्र पनि ठेकेदार कम्पनीले पुलको जगसमेत हालेको थिएन। दोस्रो पटक थपिएको म्याद २०७६ जेठमा सकिएको थियो। ठेक्का लागेको छ वर्षमा पुलको जगसमेत निर्माण कम्पनीले नहालेपछी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निर्माण कम्पनीका प्रतिनिधी र संघिय सांसद यज्ञराज सुनुवार लगायत सरोकारवालाहरुसहित छलफलका लागि बैठक बोलाएका थिए।

बैठकमा कम्पनीका प्रतिनिधि ईन्जिनियर विदुर कँडेलले चालु आर्थिक वर्षभित्र पुलको सम्पूर्ण निर्माण कार्य सक्ने बताएका छन्। तेश्रो पटक म्याद थपका लागि कम्पनीका तर्फबाट ईन्जिनियर कँडेलले पत्र बुझाएका छन्। पुल नबन्दा मोलुङखोलामा बर्षाको समयमा यातायातका साधान तर्न नसक्ने भएकाले स्थानीयलाई समस्या भएको छ। जिल्लाका धेरै जसो भूभाग सदरमुकामदेखि पश्चिम तर्फ पर्दछन्।

पुल नबन्दा कटुन्जे कोषहाट, फेदिगुठ, घोराखोरी, रानिवन, सिंहदेवी, लिखुगाउँपालिका र रामेछापको साँघुटार आउन जान समस्या छ। पुलनको निर्माण कार्यमा ढिलासुस्ती भएको स्थानीयको गुनासोपछि पूर्व सांसद रामहरि खतिवडा र कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवारसहितको टोली निमार्णस्थल पुगेर स्थानीयहरुको उपस्थितीमा म्यानेजर कडेलसँग छलफल गरेका छन्।

‘अहिले पिलरको जग खन्ने काम थालिएको, कामदारले अन्य काम गरिरहेका रहेछन्।’ अनुगमनपछि फर्किएका खतिवडाले भने, ’हामीले ठेकेदारका प्रतिनिधीलाई स्थानीयसँग छलफल गरायौं, स्थानियको आक्रोश थाहा पाए, अब काम गर्छु भनेर प्रतिबद्धता पनि गरेको छ।’

दुई स्पान संख्या रहेको ८० मिटर लम्बाई र ५ मिटर चौडाईको उक्त पुलको लागत सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँ थियो। बिचमा चट्टान भेटिएपछि फेरिएको डिजाइन अनुसार ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ लागत पुगेको छ। पुल नहुँदा ओखलढुंगाबाट पश्चिमी क्षेत्र जोड्ने सडक बर्षा लागेपछि अवरुद्ध हुने गरेको छ।

 

प्रकाशित: ३ पुस २०७६ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App