१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आवधिक योजना निर्माणमा गाउँपालिका

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माणको काम थालेको छ। गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि पाँच वर्षे आवधिक विकास योजना निर्माणको काम थालिएको हो। निश्चित समय अवधिभित्र विभिन्न क्षेत्रको विकासमा लक्षीत उपलब्धि हासिल गर्नका लागि आवधिक योजनाको काम थालिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

आवधिक योजना निर्माणको पूर्व तयारीमा गत मंसिर २७ गतेदेखि २९ गतेसम्म आवधिक योजना तर्जुमा अन्तरक्रिया गोष्ठी गरेको गाउँपालिकाले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विकासका सबै पक्षलाई प्राथमिकीकरण गरेर योजनाबद्ध विकासको खाका कोर्ने तयारी गरेको छ। विज्ञलाई सहभागी गराइएको अन्तरक्रिया गोष्ठीमार्फत आवधिक योजनामा प्राथमिकताका साथ समेटिनुपर्ने सामाजिक विकास, आर्थिक विकास, वन तथा वातावरण, पर्यटनलगायतका विषयका बारेमा पालिकावासीबाट सुझाव लिइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।

पूर्वाधार विकास, सामाजिक विकास, कृषि विकासलगायतका योजना सम्बन्धी छलफल एवं सल्लाह, सुझावका आधारमा अल्पकालिन र दिर्घकालिन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजनालाई अन्तिम टुंगो लगाइने जनाइएको छ। आवधिक विकास योजनाका लागि विकासको दिर्घकालिन सोचको निर्धारण, विषयगत रणनिति तथा कार्यक्रम सम्बन्धी छलफल, आगामी पाँच वर्षको समग्र राजश्व र व्यायको प्रक्षेपण, विकासका प्राथमिकता निर्धारण, कार्ययोजना, आवधिक योजनाको कार्यान्वयन, वार्षिक योजना तर्जुमा खाकालगायतका विषयलाई टुंग्याइसकिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।

‘आवधिक योजनाका लागि प्रारम्भिक डाटा संकलन भइसकेको छ। आवश्यक सुझाव संकलन गर्ने काम पनि सकिएको छ। सूचक निर्धारण गरिएको छ। प्रत्येक वर्ष के कति उपलब्धि हासिल गर्ने भनेर लक्ष्य निर्धारण गर्ने काम भइसकेको छ,’ निरौलाले भने, ‘आवधिक योजनाको काम अन्तिम चरणमा पुगेको छ। त्रुटी भएका ठाउँमा सच्याएर महिना दिनभित्रमा पुस्तककारुपमा ल्याउने तयारी भइरहेको छ।’

गाउँपालिकाको समग्र योजनाबद्ध विकासका लागि जिल्लाको साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकाले पनि गुरुयोजना निर्माणको काम गरिरहेको छ। आवधिक योजना निर्माणका क्रममा कतिपय स्थानीय तह महत्वकांक्षी पनि देखिएका छन्।

प्रकाशित: ३ पुस २०७६ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App