१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल-मलेसिया खेल आज

काठमाडौं- भारतको सिलगुडीमा यसै महिना हुने चौथो महिला साफ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले शनिबार एन्फा कम्प्लेक्सको सातदोबाटोस्थित घरेलु मैदानमा मलेसियासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय मैत्री खेलको हैसियत पाएको प्रतिस्पर्धाका लागि तयार नेपाली टोलीबाट शनिबार केही खेलाडीले डेब्यु गर्ने छन्। मुख्य प्रशिक्षकका रुपमा कुमार थापाले पहिलो पटक टोली उतार्दा नेपाली टोलीमा नयाँ कप्तान हुने छिन्। नियमित कप्तान अनु लामा घाइते भएकाले रेणुका नगरकोटीले कप्तानको भूमिकामा नेपाली टोलीको नेतृत्व गर्ने छिन्। मुख्य प्रशिक्षक नियुक्त हुनुलाई अवसर र चुनौती दुवै रुपमा लिएका थापाले मुख्य प्रतियोगिताअघि मलेसियासँग हुने खेललाई टोलीको स्तर मापनको माध्यम बनाउनेछन्।

'साफ च्याम्पियनसिपमा हाम्रो टोली सधैंको उपविजेता हो। हामीसामु त्योभन्दा राम्रो गर्नुपर्ने चुनौती छ। फाइनलभन्दा तलको नतिजा हाम्रा लागि कुनै पनि हालतमा स्विकार्य हुँदैन,' मैत्री खेलले साफ च्याम्पियनसिपलाई फाइदा पुग्ने बताउँदै थापाले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'प्रतियोगिताअघि बलियो टोलीसँग खेल्न पाउनु सधैं फाइदाजनक हुने गर्छ। हामीले यही खेलमार्फत् आफ्नो बलियो र कमजोर पक्ष पत्ता लगाउन सक्नेछौं। जसले साफ च्याम्पियनसिपमा सुधारिएको प्रदर्शन गर्न सहयोग पुग्नेछ। साथमा नयाँ खेलाडीलाई टिममा सेट हुन पनि यो खेलले सहयोग पुग्नेछ।'

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो महिला वरियताक्रमअनुसार नेपाल १ सय १२ औं स्थानमा छ भने मलेसिया ८६ औं स्थानमा छ।

शनिबारको टोलीमा व्यापक परिवर्तन गर्ने बताउँदै थापाले नयाँ खेलाडीले आफूलाई प्रमाणित गर्ने विश्वास व्यक्त गरे। 'भोली केही खेलाडीलाई डेब्यु गराउने मेरो योजना छ। उनीहरूले आफ्नो प्रतिभा प्रमाणित गर्ने मैले विश्वास लिएको छु। हामीले अन्तिम २० खेलाडीको छनोट गरिसकेका छौं। यहाँबाट पहिलो ११ छान्न सजिलो छैन। तथापि भोली खेलाडीहरूले मैदानमा आफ्नो महत्व प्रमाणित गर्नेछन्,' पत्रकार सम्मेलनमा थापाले भने।

टोलीकी नवनियुक्त कप्तान रेणुकाले नयाँ संरचनाको टोलीमा प्रचुर सम्भावना भएको बताउँदै सुखद नतिजा आउने विश्वास व्यक्त गरिन्। 'अघिल्ला संस्करणको तुलनामा यसपाली हाम्रो तयारी राम्रो भएको छ। हामी अहिले व्यग्रताका साथ खेलको प्रतिक्षामा छौं, जहाँ हामीले आफ्नो क्षमता प्रस्तुत गर्नेछौं,' राष्ट्रिय टोलीका नयाँ खेलाडीहरू पनि सेट भइसकेको बताउँदै रेणुकाले भनिन्, 'नयाँ खेलाडीको आगमनले टिम झन बलियो भएको छ। टिम नयाँ शैलीका साथ मैदान उत्रिन तयार छ। हामीले भोलीको मैत्री खेलदेखि साफ च्याम्पियनसिपसम्म नै राम्रो प्रदर्शन गरेर उत्कृष्ट नतिजा ल्याउनेछौं।'

यसैगरी मलेसियाका मुख्य प्रशिक्षक मोहम्मद असिराफ अब्दुल्लाहले टोलीलाई नयाँ खालको अनुभव दिन नेपाल भ्रमण गरेको बताए। 'हाम्रो टोलीले पनि केही महिनाअघि क्षेत्रीय प्रतियोगिता खेलेको थियो। तर यहाँ नितान्त फरक वातावरण र फरक टिमसँग खेल्दाको अनुभव हाम्रा लागि विशेष हुनेछ। साफ च्याम्पियनसिपमा लगातार तीन पटक उपविजेता भएको नेपाललाई हामीले बलियो प्रतिद्वन्द्वीका रुपमा लिएका छौं,' ९ नयाँ खेलाडीलाई मौका दिएको बताउँदै अब्दुल्लाहले भने, 'हामी युवा टोलीबाट साफको महारथीसँग राम्रो खेलको अपेक्षा गरिरहेका छौं।'

प्रकाशित: २ पुस २०७३ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App