१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेवि संघबारे अझै मिलेन कुरा

काठमाडौं – नेपाली कांग्रेसका दुवैपक्षीय नेताहरू पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तय गरेर जान सहमत देखिएका छन्। महाधिवेशनको कार्यतालिकाको अजेन्डा बैठकमा नआएको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि संस्थापन पक्ष महाधिवेशनको तालिका बनाएर अघि बढ्न तयार भएको हो।

विधानले दिएको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिन लागे पनि एक वर्ष कार्यकाल थप गर्न सहमत दुवै पक्षबीच १४ औं महाधिवेशन मंसिर वा फागुन कहिले गर्ने भन्नेमा सहमति जुट्न बाँकी छ। संस्थापनले फागुनमा र असन्तुष्टले मंसिरमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। तर असन्तुष्ट पक्ष संस्थापनको प्रस्तावअनुसार नै फागुनमा महाधिवेशन गर्नेगरी अघि बढ्न सकारात्मक देखिएको छ। ‘एक वर्ष कार्यकाल थप गर्ने र फागुनको पहिलो वा दोस्रो (२०७७ फागुन) साता महाधिवेशन गर्ने र त्यसअघि समायोजन, क्रियाशील सदस्यता नवीकरण, वितरणका साथै सबै तहको अधिवेशनको कार्यतालिका बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘हामी(असन्तुष्ट पक्ष) सहभागी हुने केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पारित गरेर जाने कुरामा सकारात्मक छलफल भएको छ। तिथि, मिति ठूलो कुरा होइन मिल्छ।’

नेपाल तरुण दलको कार्यसमिति गठनमा पनि दुवैपक्ष सहमति नजिक पुगेको स्रोतको दाबी छ। तीन वर्षअघि पोखरामा भएको दलको महाधिवेशनकै बेला भएको सहमति अनुसार अघि बढ्न दुवै पक्ष तयार देखिएका छन्। तर, नेताहरूबीच विभाग र नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनका विषयमा भने अझै सहमति जुट्न बाँकी छ।

एक वर्ष कार्यकाल बढाउने, फागुनको पहिलो वा दोस्रो सातामा १४ औं महाधिवेशन, विभाग संख्या बढाउने र पोखरा महाधिवेशन अनुसार नै सतरुण दल गठन गर्न सहमति।

पार्टीका विभाग थप गर्नै नहुने अडानमा रहेको असन्तुष्ट पक्ष संख्या बढाउन सकारात्मक देखिएको हो। केन्द्रीय समितिमा पेस भएकै प्रस्तावअनुसार अघि बढ्न दुवै पक्ष तयार भए पनि पाउने विभागका विषयमा सहमति जुट्न बाँकी छ। संस्थापन पक्षले संगठन, जनसम्पर्क, महिला, विद्यार्थी, परराष्ट्र विभाग आफूसँग राख्ने प्रस्ताव गरेको छ। तर, असन्तुष्ट पक्षले त्यसलाई पनि मिलाएर जानुपर्ने धारणा राख्दै आए पनि संस्थापन पक्षले विभागका सचिवसहित अन्य सदस्य मिलाएर जाने प्रस्ताव राख्दै आएको छ।

त्यस्तै, नेपाल विद्यार्थी संघको कार्यसमिति गठनमा दुबै पक्षबीच सहमति जुट्न बाँकी छ। संस्थापन पक्षले संघको नेतृत्व राख्ने कुरामा सहमति भए पनि त्यसपछिका पदाधिकारी र कार्य समितिको संख्याका विषयमा सहमति बन्न बाँकी रहेको स्रोतको दाबी छ। संस्थापन पक्षले महामन्त्रीको संख्या चार बनाउने प्रस्ताव गर्दै एक महामन्त्रीसहित बहुमत कार्य समितिका सदस्यहरू आफ्नो पक्षमा राख्ने प्रस्ताव गरेको छ। र, नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला पक्षलाई एक/एक महामन्त्री दिने प्रस्ताव गरे पनि असन्तुष्ट पक्षले विधानअनुसार नै १ सय १ सदस्यीय कार्यसमिति गठन गरेर जानुपर्ने धारणा राख्दै आएका छन्। संस्थापन पक्षले नयाँ विधान १२ औं महाधिवेशनपछि मात्र लागू हुने भन्दै पुरानैअनुसार अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन्।

मंगलबार पनि सहमतिका लागि उपसभापति विमलेन्द्र निधिका साथै असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच चाक्सीबारीमा छलफल भएको थियो। बुधबारको केन्द्रीय समितिअघि नै सहमतिमा पुग्ने प्रयासमा रहेका उनीहरूले अर्का नेता कृष्णप्रसाद सिटौलासँग पनि छलफल गरेका छन्। तर, नेता पौडेल र सिटौला पक्षबीच पनि विभाग, कार्यतालिका, नेवि संघ र तरुण दल गठनका विषयमा एकमत हुन सकेको छैन। दुवैपक्ष समान धारणा बनाउन बुधबार बिहान १० बजे पुनः छलफलमा जुट्नेछन्। कार्यतालीका, विभागको विषयमा समझदारी बनिसकेको जनाउँदै ती नेताले भने, ‘बढी समस्या नेवि संघमा देखिएको छ, अहिलेसम्मको छलफल सकारात्मक ढंगले अघि बढिरहेको छ। भोलि(बुधबार)सम्म कुरा मिल्नेमा हामी आशावादी छौं।’ असन्तुष्ट पक्षले महाधिवेशन कार्यतालिको अजेन्डा बैठकमा नल्याएको भन्दै बिहीबार देखि सुरु केन्द्रीय समिति निरन्तर बहिष्कारपछि सोमबार सहमतिका लागि बुधबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित: २ पुस २०७६ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App