१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपकको अन्त्येष्टि

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको पार्थिक शरीरलाई सूचना, प्रविधि तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको झण्डा ओढाएर प्रहरीको समालीसहित राष्ट्रिय सम्मान दिइएको थिए। ५१ वर्षे भट्टराईको आइतबार निधन भएको थियो। आइतबार राति सवा १० बजे ओम अस्पताल पु-याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो।

यसअघि उनी चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनकी आमाको पुण्यतिथिको निम्तो मान्न कीर्तिपुर पुगेका थिए। नेवारी परम्पराअनुसार निम्तो मान्ने क्रममा भट्टराईले मदिरा सेवन गरेको बोर्डका सदस्य दयाराम दाहालले बताए। कीर्तिपुरबाट अनामनगरस्थित घर फर्किने बेलामा उनले बान्ता गरेका थिए। अनामनगरस्थित घरमा पत्नीलाई छाडेर बोर्डको कार्यालयमा आउने क्रममा बेहोस भएका उनलाई छोरा र ड्राइभरले चावहिलस्थित ओम अस्पताल पु-याएका थिए। मुखबाट ‍¥याल र रगत निस्केकाले भट्टराईको बाटोमै निधन भएको जानकारी चिकित्सकहरूले गराएका थिए। उनी उच्च रक्तचाप, सुगर र कोलस्ट्रोलको औषधि सेवन गर्ने हुँदा हृदयाघातको आशंका गरिएको थियो। उनको परिवारले पोस्टमार्टम भने गरेन। उनका श्रीमती र एक छोरा छन्।

२०४५ सालमा निर्देशक तुलसी घिमिरेको चलचित्र ‘कोसेली’बाट अभिनय थालेका उनले तीन दर्जन हाराहारीका फिल्ममा अभियन गरेका छन्। त्यसबाहेक उनी निर्मताका रूपमा नेपाली फिल्म क्षेत्रमा सक्रिय थिए। उनी गत चैतमा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। २०२५ मंसिर ४ मा ओखलढुंगामा जन्मिएका उनले ‘कोसेली’पछि ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘दक्षिणा’, ‘मीतज्यू’, ‘बलिदान’, ‘रहर’, ‘दौतरी’, ‘ठुल्दाइ’, ‘लक्ष्मण रेखा’, ‘मेरो एउटा साथी छ’, ‘मेरो लभस्टोरी’, ‘परदेशी’, ‘पाहुना’, ‘सो सिम्पल’, ‘सुख–दुःख’, नोभेम्बर रेन’ र ‘ऐश्वर्या’लगायत फिल्ममा अभिनय गरेका थिए। ‘दौतरी’ फिल्मबाट सहनिर्माताका रूपमा करिअर सुरु गरेका उनले ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘छोडी गए पाप लाग्ला’, ‘सो सिम्पल’ र ‘यात्रा’ लगायत फिल्म निर्माण गरेका थिए।

चलचित्र विकास बोर्डमा अध्यक्ष भएपछि उनले फिल्मकर्मी र नेपाली फिल्म क्षेत्रको विकासका निम्ति विभिन्न योजना कार्यान्वयन गर्न जुटेका थिए। ‘नेपाली फिल्म क्षेत्रको हितमा काम गर्ने असल व्यक्ति हामीले गुमाएका छौं। उहाँले फिल्मकर्मी र नेपाली फिल्म क्षेत्रको विकासका निम्ति योजनाबद्ध तरिकाले काम गरिरहनुभएको थियो,’ चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले भने। उनी प्रस्तावित चलचित्र ऐन, २०७६ लागू गर्न लागिपरेका थिए।

कलाकार दीपक क्षेत्रीको शुक्रबार डिल्लीबजारस्थित निवासमा निधन भएको थियो। शुक्रबार राति फिल्मको काम सकेर घर पुगेका क्षेत्री शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए। २०४३ सालमा ‘विश्वास’ फिल्ममार्फत अभियन थालेका कलाकार क्षत्रीले ‘जीवनदान’, ‘भीष्मप्रतिज्ञा’, ‘खुकुरी’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’ र ‘झोला’लगायत फिल्ममा अभिनय गरेका थिए। घाँटीमा मासु पलाउने समस्याका कारण लामो समय थलिएका ५८ वर्षीय कलाकार क्षेत्री भारतको दार्जिलिङमा जन्मेका थिए।

सोमबार दिउँसा दुवै कलाकारको शव श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत बोर्डका अध्यक्ष भट्टराई र कलाकार क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमायौं। उहाँहरूको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जली ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले लेखेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगेर श्रद्धाञ्जली दिएका थिए। यस्तै नेपाली कांग्रेसले शोक विज्ञप्ति जारी गर्दै कलाकारद्वय भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु-याएको स्मरण गर्दै दुःख व्यक्त गरेको छ।

प्रकाशित: १ पुस २०७६ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App