१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खरायो देखाइदिन्छु भन्दै अपहरण, त्यही रात हत्या

सप्तरी प्रहरीले सार्वजनिक गरेका घटनाका अारोपी

राजविराज— सप्तरीमा अपहरणपछि एक बालकको हत्या भएको छ। हरिपुर–३ बस्ने रामगोबिन्द साहका ८ बर्षिय छोरा दुर्गानन्दको मंसिर ११ गते अपहरण भएको थियो। अपहरण भएको २० दिनपछि सप्तरी प्रहरीले मृतक बालकको शव शौचालयको सेफ्टी ट्यांकबाट निकालेको छ।

अपहरण र हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पीडितकै छिमेकी २७ बर्षिय चुडामणि ठाकुर, हरिपुर–१ का रामबाबु गुप्ता साह र सप्तरीकै देउरी–२ का कपिलदेव दास छन्। प्रहरीका अनुसार पक्राउ परेका ठाकुर घटनाका मुख्य योजनाकार हुन् भने रामबाबु र कपिलदेव सहयोगी हुन्।

छिमेकी भएको हुँदा बालकले चिन्ने त्रासले पुनः झाडीमा फर्किएर ठाकुरले बालकको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन्। त्यसै छोडेमा बालकले पहिचान सार्वजनिक गरिदिन सक्ने त्रासमा अपहरणकारीले उनको हत्या ११ गते राति नै गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

केही समय विदेश बसेर फर्किएका ठाकुरले फिरौतीका लागि अपहरण गरेको र पहिचान खुल्ने त्रासले सोही रात हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन्।

पाँच लाख फिरौती माग
घटनाको पाँच दिनपछि ममतादेवीको मोबाइलमा अपहरणकारीले म्यासेज पठाएर पाँच लाख रुपैयाँ मागेका थिए। प्रहरीले सो मेसेज पाएपछि मात्र बच्चा खोज्न सक्रियता देखाएको थियो। ठाकुरले बच्चाको हत्या गरिसकेपछि फिरौतका लागि मेसेज पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। फिरौती माग राखेर बालकको अपहरण गरी हत्या गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले बताए।

मंसिर १७ गते ममतादेवीको मोबाइलमा अपहरणकारीले ९८१६७१११६१ नम्बरबाट हिन्दी भाषामा धम्कीपूर्ण एसएमएस पठाएका थिए। ‘तपाँइँको छोरालाई मैले अपहरण गरेको हुँ, जिउँदो छोरा चाहियो भने नेपाली रुपैयाँ ५ लाखको व्यवस्था गर्नु, प्रहरीलाई खबर गरे लाश पनि भेटिँदैन’, एसएमएसमा भनिएको थियो। प्रहरीले सोही मोबाइल नम्बर खोज्दै अभियुक्तसम्म पुग्न सफल भएको हो। प्रहरी एसपी लोहनीका अनुसार ठाकुरले मोबाइलबाट फिरौती माग्ने र रकम पाइसकेपछि सिम फाले जोगिने ठानेका रहेछन्।

सो नम्बरको सिमको डिटेल खोज्दै जाँदा प्रहरीले उक्त एनसेलको सिम बिना कुनै कागजात एक्टिभेट भएको पाएको थियो। ‘पछि खोज्दै जाँदा कपिलदेव दासले आफ्नो पसलबाट बिनाकागजातको उक्त सिम सुचारु गरी रामबाबु गुप्तामार्फत चुडामणिलाई उपलब्ध गराएको पत्ता लाग्यो’, एसपी लोहनीले भने।

खरायो देखाइदिने भनेर अपहरण, त्यही राति हत्या

मंसिर ११ गते साँझ ठाकुरले दुर्गानन्दलाई खरायो देखाइदिने भन्दै फकाएर घरबाट केही पर लगी हातमुख बाँधेर अपहरण गरेका थिए। अपहरणकारीले बालकलाई हातखुट्टा र मुख बाँधेर झाँडीमा राखेका थिए। बालकलाई खोला नजिकैको झाडीमा राखेर उनी गाउँ फर्किएका थिए।

छिमेकी भएको हुँदा बालकले चिन्ने त्रासले पुनः झाडीमा फर्किएर ठाकुरले बालकको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन्। त्यसै छोडेमा बालकले पहिचान सार्वजनिक गरिदिन सक्ने त्रासमा अपहरणकारीले उनको हत्या ११ गते राति नै गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। हत्यापछि बालककै छिमेकी पनेलाल साहको शौचालयको सिमेन्टको रिङद्वारा निर्मित सेफ्टीट्यांकीमा शव लुकाए।

लामो समयदेखि शव सेफ्टीट्यांक भित्र फालिएका कारण प्रहरीद्वारा बरामद शवको अवस्था नाजुक भइसकेको थियो। प्रहरीले शवलाई फोरेन्सिक टेस्टका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।

ठाकुरले ट्र्याक्टर किन्ने उद्देश्यले बालकको अपहरण गरेको बयान प्रहरी समक्ष दिएका छन्। अपहरित बालकका दाजुले वैदेशिक रोजगारीमा निकै पैसा कमाएको तथा उसले आफ्ना भाइ तथा परिवारलाई माया गर्ने भएकाले फिरौती आउने आसयमा अपरहण भएको प्रहरी निष्कर्ष छ।

प्रकाशित: १ पुस २०७३ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App