१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आतंक मच्चाएर असुली गर्ने दाउ

महेन्द्रनगर (धनुषा) – औषधि व्यवसायीसहित तीनजनाको ज्यान जानेगरी भएको बम बिस्फोटको घटना आतंक मच्चाएर असुली गर्ने मनसायले गराइएको हुन सक्ने भनी अनुसन्धान सुरु भएको छ। घटना बम पडकाएर चौतर्फी त्रास फैलाउने अनि डर देखाएर आर्थिक असुली गर्ने उद्देश्य प्रेरित घटना हुन सक्ने सुरक्षा अधिकारीको आँकलन छ।

‘हामी घटनालाई विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले भने, ‘यो घटनामा जनजीवन आतंकित बनाएर असुली गर्ने, लेनदेनको विषय, रिसइबीलगायत कोणबाट अनुसन्धान सुरु गरिएको छ।’ अहिलेसम्मको अनुसन्धानबाट विस्फोटको कारण ठ्याक्कै यही हो भन्न सक्ने अवस्था नरहेको उनले बताए।

बम बिस्फोटमा परी मृत्यु हुने राजेश साह ब्याजमा ऋण लगाउने काम पनि गर्थे। प्रहरीले लेनदेन विवादका कारण साहको घरमा बम राखिएको आशंकासमेत गरेको छ। यसका लागि प्रहरीले उनको कारोबारसँग जोडिएका व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ ।

बम शक्तिशाली थियो। ‘कुकरजडित टाइम बम’ भएको प्रहरीले घटनास्थलबाट संकलन गरेको अवशेषको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश दुईका प्रहरी प्रमुख डिआइजी प्रघुम्न कार्कीले बताए। ‘बम शुक्रबार राति १२ बजे पड्केको देखिन्छ,’ डिआइजी कार्कीले नागरिकसँग भने, ‘पड्किनुभन्दा पहिला बममा जडित टाइमर बाहिरी हलचलबाट अन (चालु) भएको हुनसक्ने अनुमान छ। प्रहरी बम भएको ठाउँनजिक पुग्नु र बम पड्किनु संयोगमात्र हो।’

डिआइजी कार्कीले घटनास्थलबाट फेला परेको चिप्ससहितका कणहरूबाट विस्फोट भएको वस्तु टाइम–बम भएको प्रमाण फेला परेको बताए । कसैले छोएर पड्किएको वा पड्काइएको नभई टाइमरमा सेट भएको टाइममा बम आफैं पड्किएको दाबी गर्दै डिआइजी कार्कीले भने, ‘बमको प्रकृति आँकलन नहुँदा ठूलो क्षति भयो ।’ यस्तो बम उच्चप्राविधिक ज्ञान भएकाले मात्रै बनाउन सक्ने उनले बताए । घटनाबारे प्रहरीको छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। विस्फोटको प्राविधिक अनुसन्धान प्रहरीको प्राविधिक टोली र नेपाली सेनाले गरिरहेको छ। टोलीले घटनास्थलबाट पड्केको बमको टुक्रा र अवशेष संकलन गरेको छ ।

साहको घरको पर्खाल अग्लो भएकाले नाघेर घरको भित्री ढोकाको ह्यान्डलमा बम झुन्ड्याउन मुस्किल पर्छ। बम साहको घरमा आउजाउ गरिरहेकै व्यक्तिबाट राख्न लगाएको हुन सक्ने प्रहरीको अनुमान छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ४५ वर्षीय राजेश साहको घरको शौचालय नजिक राखिएको बम शुक्रबार राति बिस्फोट हुँदा राजेश, उनका छोरा २२ वर्षीय आनन्द साह र प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको थियो। विस्फोटमा साहका कान्छा छोरा १४ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अन्जलीकुमारी, ७३ वर्षीय भिखारी साह र प्रहरी जवान रिझनाथ महतो घाइते भएका छन्। भिखारीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। बाँकीको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदै छ।

सान्त्वना दिन पुगे मुख्यमन्त्री
महेन्द्रनगर बम बिस्फोट घटनाको पर्सिपल्ट अर्थात् आइतबार प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत मृतकको घर पुगेर परिवारलाई सान्त्वना दिएका छन्। मुख्यमन्त्रीसहितको टोलीले पीडित परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै घाइतेहरूको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतकको परिवारलाई राहत उपलब्ध गराउने आश्वासन दिए।

मृतकको परिवारलाई उपलब्ध गराइने रकमबारे आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिने उनको भनाइ थियो। टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत सहभागी थिए।

प्रकाशित: ३० मंसिर २०७६ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App