२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत

सिन्धुपाल्चोक- तिर्थाटनबाट फर्कँदै गरेको यात्रुबस लामोसाँघु–जिरी सडक खण्डस्थित सुनकोसी गाउँपालिका–७ को ६ किलो मोडमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये १४ शवको पहिचान भएको छ।

राजधानीको केएमसी असप्तालमा उपचाररत एक घाइतेको साँझ निधन भएपछि मृतकको संख्या बढेको हो। ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा जिल्लाको जुगल गाउँपालिका–७ का सुकबहादुर तामाङ (२८), सविना तामाङ (७),  रेष्मा तामाङ (३०), उनकी १५ महिने छोरी रोशनी तामाङ, लिसंखुपार गाउँपालिका–४ की गंगामाया लामा (५०), बलेफी गाउँपालिका–५ की फूलमाया तामाङ (३७) रहेका छन्।

त्यस्तै दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका–९ की लक्ष्मी श्रेष्ठ (४२), मञ्जु तामाङ (२८), भीमेश्वरकै जुनुमाया तामाङ (३७), सैलुङ्गेश्वरी गाउँपालिका–६ रञ्जित बस्नेत (१०), तिनु बस्नेत (३२) रामेछाप उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ (२४), काभ्रे बेथाचोक–५ का रामशरण केसी (३५), उनकी श्रीमती मैँया खत्री (३५) को समेत ज्यान गएको छ।

एक जना मृतकक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १४ जनाको राजधानीको ह्याम्स अस्पताल, एकको केएमसी अस्पताल, तीनको काभ्रेको धुलिखेल अस्पताल र एक काखे बालिकाका घटनास्थल नजिक रहेको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ। ह्याम्समा उपचाररत अधिकांश घाइतेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ। घाइते सबैलाई सदाबहारमा प्राथमिक उपचार गरी रेफर गरिएकको थियो।

दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बा४ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर मोडबाट पाँच सय मिटर तल सडकमा खसेर दुर्घटना भएका हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहालले घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा तीनको मृत्यु भएको बताए।

उनका अनुसार मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका रहेका छन्। मृतकहरुको शव पोष्टमार्टम लागि बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाउने प्रहरीले जनाएको छ।

भक्तपुरको कमलबिनायक–च्यामासिं रुटमा चल्ने उक्त बस रिजर्भमा धार्मिक पर्यटकीय गन्तव्य कालिञ्चोक भ्रमण गरेर फर्कँदै थियो।

 

प्रकाशित: २९ मंसिर २०७६ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App