१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सिम्पल लुगाले खत्रा देखिन्छ’

पहिलो फिल्म ‘नोभेम्बर रेन’बाटै नायिका छुल्ठिम गुरुङले आफ्नो अभिनयको तारिफ बटुलिन् । फिल्ममा उनी नायक आर्यन सिग्देलको अपोजिटमा देखिएकी थिइन् । फिल्ममा उनको भूमिका यति रुचाइयो कि उनको उपनाम नै ‘डल्ली’ बन्न पुग्यो । हिजोआज पनि उनका साथीभाइले उनलाई डल्ली नै सम्बोधन गर्छन् । उनी पछिल्लो समय फिल्म निर्माणमा पनि होमिएकी छन् । ‘डायरी’ उनले लगानी गरेको फिल्म हो । फिल्ममा उनले पनि अभिनय गरेकी थिइन् । ‘डायरी’सँगै उनले ‘नेप्टे’, ‘मेरो पैसा खोई’, ‘न यता न उता’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । छुल्ठिमसँग परिवारका लागि रीना मोक्तानले गरेको फेसन टकः

आराम हुनुहुन्छ ?
एकदमै ठीक छु (मुसुक्क मुस्कुराउँदै) ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
तिहारमा म मध्यपूर्वको देश ओमान गएकी थिएँ (सोच्दै)। त्यहाँ मेरो इभेन्ट थियो । अब यस्तै स्टेज कार्यक्रममै व्यस्त छु । फिल्म गरेकी छुइनँ ।

तपाईंको विचारमा फेसन भनेको के हो ?
यस विषयलाई लिएर सबैको आ–आफ्नो धारणा हुन्छ । व्यक्तिको आफ्नो आफ्नो स्टाइल हुन्छ । मेरो लागि फेसन भनेको चाहिँ ठाउँअनुसार फिट हुनुपर्छ । जस्तो तपाईँ वीरगंज जाँदै हुनुहुन्छ भने त्यताको फेसनसँग मिल्ने अनि लाउन सजिलो हुने पहिरन लगाएको राम्रो । तपाईँ इभेन्टको लागि कतै जानुपर्ने हो भने त्यो इभेन्टको नेचर हेरेर कस्तो खालको ड्रेसअप गर्ने भनेर आफूलाई अभिव्यक्त गर्न सक्नु नै फेसन हो जस्तो लाग्छ । फेसन भन्नेबित्तिक्कै एकदमै राम्रो लुगा लगाउनु होइन । कहिलेकाहीँ सिम्पल लुगाले पनि खत्रा राम्री देखिन्छ । ठाउँअनुसार सिम्पल ड्रेस जुन सजिलै क्यारी गर्न सकिन्छ, त्यो नै मेरो लागि फेसन हो ।

तपाईँ आफू कत्तिको फेसननेबल हुनुहुन्छ ?
फेसन भनेको माइन्डबाट हुने हो । ड्रेसअप भन्दा पनि माइन्डबाट त म सधैँ फेसनेबल छु नै । ड्रेसको कुरा गर्नु पर्दा परिस्थिति हेरेर लगाउने गर्छु । अब घरमा बस्दा खुकुलो पहिरन लगाउँदा भयो तर इभेन्टमा जाँदा टाइट लुगा लगाउनुपर्ने हुन्छ । कहिलेकाहीँ साडी त कहिलेकाहीँ के लगाउनुपर्ने हुन्छ । यस हिसाबले म केही हदसम्म फेसनेबल नै छु । अब मापन नै गर्ने हो भने १०० मा ८० त प्रतिशत फेसनेबल छु होला ।

फेसन कन्सस कत्तिको हुनुहुन्छ ?
कन्सियस त अवश्य हुनुपर्छ । त्यसमाथि हामी त १२ महिना नै ट्राभल गरिरहेका हुन्छौं । जस्तो यहाँ गर्मी चलिरहेको छ अनि युके जानुपर्‍यो भने उता जाडो भइरहेको हुन्छ । हाम्रा लागि जाडो अनि गर्मीको महिनाले त्यति फरक पारिरहेको हुँदैन । ठाउँअनुसार आफूलाई ढालिरहेका हुन्छौं । अब जाडो भए पनि आफूलाई राम्री नै देखियोस् अनि स्वास्थ्य पनि नबिग्रियोस् भनेर फेसन गर्छु ।

फेसनमा जोडिँदाको अनुभव ?
सन् २००९ तिर जब मैले रेडियो र टेलिभिजनमा काम सुरु गरेँ, त्यो बेलादेखि नै हो फेसनमा जोडिएको । सबैलाई राम्रो हुन मन लाग्छ । कसलाई पो फेसन गर्न मन नपर्ला र ! फेरि हाम्रो त फिल्ड नै त्यस्तो छ । कहिले त मेकअप गर्न पनि मन लागिरहेको हुँदैन र पनि पनि मेकअप गर्नुपर्छ । मेकअपपछि सबैले प्रशंसा गरिदिनु हुन्छ । त्यसपछि त्यो मेकअप गर्दाको दिक्कपन बिलाउँछ ।

तपाईँको फेसनलाई तपाईँका फ्यानले कत्तिको फलो गरेको महसुस गर्नु भएको छ ?
नर्मली भेट्दा कतिले भन्नुहुन्छ । तपाईँको इन्टरभ्यु हेरिरहेको छु भन्नुहुन्छ । कतिले त्यो ‘डायरी’को त्यो ड्रेस मन पराइरहेको हुन्छ । कतिले ‘नोभेम्बर रेन’को ड्रेस राम्रो भनेर तारिफ गर्नुहुन्छ । सायद फलो गर्नु भएकोले नै त तारिफ गर्नु भएको होला !

नेपालको फेसनको ट्रेण्ड कस्तो छ ?
अहिले त नेपालीहरु त एकदमै फेसनेवल छन् । नेपालको ८० प्रतिशत युवा त फेसनेवल नै देख्छु म ।

कस्तो फेसन रुचाउनुहुन्छ ?
खासमा (सोच्दै) राम्री देखिनुपर्छ । स्मार्ट देखिनुपर्छ । सजिलो पहिरन पहिरिनुपर्छ भन्ने लाग्छ मलाई । मलाई त कोरियन फेसन मनपर्छ । मलाई त अनुहारले पनि सपोर्ट गर्छ नि ! मलाई जिन्स कहिल्यै मन परेन । धेरैको फेभरेट हुनसक्छ जिन्स तर मलाई जिन्सले कहिल्यै सुहाएन । सुटिङको बेलामा एकचोटी मात्र लगाएकी थिएँ । मलाई चाहिँ सेक्सी भन्दा पनि क्युट हुन मन लाग्छ, इजी हुन मन लाग्छ ।

फेसन भन्नेबित्तिकै के कुरा नछुटाई लगाउनुहुन्छ ?
पफ्र्युम हो । मलाई त पफ्र्युमको क्रेजी नै भन्दा पनि हुन्छ ।

तपाईँको दराजमा केको कलेक्सन भेट्न सकिन्छ ?
मेरो दराज त यस्तो मेस्डअप हुन्छ कि कुरै नगरौँ । बरु पफ्र्युमको भेराइटी पाउन सक्नुहुन्छ । धेरै जनालाई थाहा छैन, आठ वटा पफ्र्युम त दराजको भित्रपट्टिको कुनामा लुकाएर राखेकी छु । अब देख्नेबित्तिकै बाँड्न मन लागिहाल्छ । फेरि चाहिने सामान चाहिँ दराजमा हुँदैन । स्टोर रुममा मिलाएर राखेको छु । दराजमा चाहिँ मलाई दैनिक आवश्यक लुगा मात्र हुन्छ । जसलाई म चाहेको बेला निकालेर फालेर, फेरि डल्लो पारेर हाल्न सकुँ ।

मनपर्ने कलर ?
एल्लो र अरेन्ज । हिप्नोटाइज गर्छ त्यो रङले मलाई । मेरो अगाडि एल्लो र अरेन्ज लुगा लगाएको कोही आयो भने मलाई त्यो व्यक्ति त्यत्तिकै मनपर्छ । चाहे त्यो बुढाबुढी, जवान नै किन नहोस् । त्यो कलरले राम्रो भाइब्स दिन्छ मलाई ।

फेसन भन्नेबित्तिकै हामी लगाउने पहिरनलाई बुझ्छौं । तपाईँलाई के लाग्छ ?
फेसन भन्नेबित्तिकै लगाउने पहिरन मात्रै होइन । एउटा बडी पोस्चर पनि हो । एउटा व्यक्तिमा एटिट्युड हुन्छ नि ! व्यक्तिमा हुने कन्फिडेन्ट लेभल पनि फेसन हो । लुगा लगाउँदै मात्र हुँदैन । एउटा सिम्पल लुगामा पनि त्यही अनुसारको एटिट्युड दिन सक्नु भयो भने त्यो पनि फेसन हो । वस्त्रले मात्र फेसन निर्धारण हुँदैन । वस्त्रसँगै एटिट्युड हुनुपर्‍यो (हाँस्दै) ।

विशेष र आम मानिसको फेसनमा फरक हुन्छ कि हुँदैन ?
फरक हुनुपर्छ, हुन्छ नै । सधैँ सबै कुरामा फरक हुन्छ भन्ने होइन । ३६५ दिन नै फरक हुन्छ भन्ने होइन । जतिखेर हामी इभेन्टमा जान्छौं, हामी त्यस्तो नै हुनुपर्छ । आम मानिस हामी जस्तो हुनुभएर आउनुहुन्न । हामी कहिलेकाहीँ प्रस्तुति दिन झिल्केमिल्के लुगा लगाउँछौं । उहाँहरु र हामी एउटै हो तर कति अवस्थामा फेसन फरक हुन्छ ।

अहिले नेपालमा कस्तो खालको फेसन चलेको छ ?
म खासै अपडेट हुँदिनँ तर कोरिया जाँन्छौं अनि २/३ हप्ता बसिरहेका हुन्छौं । युके जान्छौं १/२ महिना बसिरहेका हुन्छौं । यसरी जता जान्छौँ, उतैको फेसन देखिरहेका हुन्छौँ । यसरी मिक्स फेसन देखिरहेको हुनाले त्यो मामिलामा म खासै अपडेट भएको हुन्नँ । अहिले त नेपालमा कहिले पनि आउट नहुने हट पाइन्ट, वन पिसहरु, जिन्स, क्रप टप चलिरहेको जस्तो लाग्छ ।

तपाईँलाई आवश्यक सामान कता किन्नुहुन्छ ?
यात्राको क्रममा विदेशमा भएका बेला त सेलको कपडा पाइन्छ । हामीलाई त एकदम धेरै ड्रेस चाहिन्छ नि ! साँचो भन्नुपर्दा म त्यही सेलबाटै उठाउँछु ड्रेसहरु । नत्र भने न्युरोड, लाजिम्पाटबाट उठाउँछु । यसो हेर्दा मनपर्‍यो भने उठाइहाल्छु । त्यो पसल कुन हो, कस्तो हो, यस्ता कुराले मलाई फरक पर्दैन ।

फेसनमा अपडेट हुनेसँगै शरीरको स्याहारसुसारमा कत्तिको ध्यान दिनहुन्छ ?
एकदमै गर्नुपर्ने कुरा हो यो । अब फेरि मेन्टेन गर्दैछु । पहिला जिरो फिगर बनाइसकेकी थिएँ । अहिले अलिकति लापरवाही भएँ । तर अहिले फेरि यसतर्फ मेरो ध्यान गएको छ । दुई हप्तादेखि म शरीरको मेन्टन नै गर्दैछु ।

फेसनमा कसरी अपडेट कसरी हुनुहुन्छ ?
सुटिङमा क्यारेक्टर अनुसारको कपडा लगाइरहेका हुन्छौं । कार्यक्रममा पनि त्यस्तै हो । अब अपडेट हुन गुगल गर्छु । खासमा फेसनमा अप्डेट हुनैपर्छ जस्तो लाग्दैन । किनभने हाम्रो नेपालमा अझै त्यस्तो ट्रेन्ड आइसकेको छैन कि २०१९ मा यस्तो कलर अथवा यस्तो डिजाइन जान्छ । जस्तो युरोपतिर जान्छ नि ! नेपालमा त्यस्तो आइसकेको छैन ।
किनमेलमा कत्तिको रुची छ ?
अत्ति धेरै (रमाइलो मुड बनाउँदै) । मलाई त घरको सामान किन्न अत्ति मनपर्छ । तरकारी किन्न मनपर्छ । खाना पकाउन एकदम मज्जा लाग्छ ।

किनमेल गर्न मनपर्ने कुरा ?
पफ्र्युम । म कत्तिको फ्यान हुँ भन्ने कुरा त अघि नै बताइहालेँ !

सपिङ गर्न एक्लै मनपर्छ कि साथी चाहिन्छ ?
साथी भए भने नो प्रब्लम तर म एक्लै पनि इन्जोय गर्छु ।

कुन ब्रान्डको सामान किन्नुहुन्छ ?
कस्मेटिकमा बबी ब्रान्ड, पफ्र्युममा भर्साची हिरोज भन्ने लाउँछु । एल्लो डायमण्ड पनि लाउँछु । म सबै लाउँछु । ब्राण्डमा चाहिँ चिप एन्ड बेस्ट जारा हो जस्तो लाग्छ ।

प्रकाशित: २८ मंसिर २०७६ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App