१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

छाउको घाउ

देवु लुइँटेल
शान्तिको घर दैलेखको सुन्तले भन्ने गाउँमा थियो। उनी ६ कक्षामा पढ्थिन्। घरदेखि विद्यालय पुग्न दुई घण्टा लाग्थ्यो। उनकी आमा गर्भवती थिइन् अर्थात् उनका घरमा नयाँ सन्तान आउने पक्का थियो। त्यसैले उनी आफ्नी आमाको खूब रेखदेख गर्थिन्।

आइतबारको दिनबाट शान्तिको स्कुलमा परीक्षा चल्दै थियो। त्यसैले शान्ति भ्याईनभ्याई घरका काम सकेर स्कुल गइन्। यता घरमा आमालाई बिरामले सिकिस्त बनायो। गाउँभरिका महिलाहरू भेला भए। बल्लतल्ल साँझतिर शान्तिका घरमा नवजात शिशुको आगमन भयो। शिशुको ‘च्याँच्याँ’ सुन्दा सबै जना खुसी भए। तर, त्यो खुसी एकै सेकेन्डमा बिलायो। ‘फेरि अर्की पनि छोरी !’ शान्तिकी हजुरआमा फन्किइन्। परिवारका अरू सदस्यको पनि अनुहारमा बादल देखियो। नाति खेलाउँला भनेको त.....!’ भन्दै हजुरबाले लामो सास ताने।

प्रसवपीडाले छटपटाएकी शान्तिकी आमा थकित थिइन्। उनलाई तातो खाना खुवाउने सुर कसैको भएन। एकाएक कुरा काट्नेको भीड पो भयो। शान्तिकी आमाले छोरी जन्माएको कुरा गाउँभरि फैलियो। एकैछिनमा गाउँलेहरूले ल हिँड् छाउ गोठमा भन्दै घरदेखि तल रहेको गोठमा पु-याए। शारीरिक र मानसिक दुवै किसिमको चोटमा डुबेकी शान्तिकी आमा कहाँ बोल्न पाउँथिन् र ? उनी थाङ्नामा शिशु च्यापेर लुरुक्क हिँडिन्।

शान्तिकी आमाको अवस्था ज्यादै कमजोर थियो। उनीलाई राख्न लगेको छाउमा पराल बिछयाइएको थियो। बस्ने ठाउँ निकै अँध्यारोे र सुनसान थियो। गाउँलेहरूले भने ‘अब २०÷२२ दिन यही बस्नू। रुखपात र बालीनाली केही नछुनू। लोग्ने र घामको अनुहार पनि नहेर्नू। पाप लाग्छ। तैंले नटेरे भगवान्ले सराप्छन् नि।’ उनले टाउको हल्लाएर ‘हुन्छ’ भन्ने इसारा गरिन्। एकोहोरो शिशुको अनुहारमा मात्र हेरिरहिन्।

शान्ति बेलुका स्कुलबाट घरमा आइन्। उनले घर रित्तो देखिन्। भित्र गएर खाजा हेरिन्। केही रहेन छ। आमालाई यताउता हेरिन्। कहीँ देखिनन्। अनि हजुरआमालाई सोधिन्, ‘हजुरआमा, खोई कहाँ हुनुहुन्छ आमा ?’ हजुरआमाले जङ्गिदै भनिन्, ‘अलच्छिनीले फेरि छोरी नै पाई। ऊ तल छाउमा छे। सुतेकी होली नि आनन्दसँग... !’ शान्तिलाई ज्यादै नरमाइलो लाग्यो। उनी हत्तपत्त आमा भेट्न गइन्। तातो झोल बनाएर दिइन्। आमाले सँक्कसँक्क गर्दै खाइन्। सुत्केरी शरीर चिसो र पीडाले थर्थरी काम्दै थियो। त्यो देखेर शान्ति आत्तिइन्।

बेलुका आठ बजेपछि शान्ति घरमा आइन्। परीक्षाको तयारी गर्न थालिन्। तर, ध्यान पढाइमा जानै सकेन। भारी मन लिएर बङ्लङ्ग खाटमा पल्टिइन्। उनले अचानक ऐया ! ऐया ! शान्ति ! ए शान्ति !  भन्दै आमाले चिच्याएकोे सुनिन्। उनले जुरुक्क उठेर दौड्दै घरका सबैलाई बोलाइन्। के भएछ भनेर बुबा र हजुरबा जानुभयो। आमाको छेउमा पुगेपछि बुबाले गाउँका अरू मान्छेलाई डाकेर ल्याउन शान्तिलाई पठाए। शान्तिले डाकेका मानिसहरू एकएक गर्दै जम्मा भए। कुरैकुरामा रात निकै छिप्पियो। बिरामीलाई झन् गाह्रो हुँदै गयो। त्यहाँ बसेका मानिसहरूले धामी बोलाएर जोखाना हेराए। धामीले कालो भाले मन्साउन भन्यो। उनीहरूले मन्साए तर केही बिसेक भएन।

उपचारको अर्को चरण आरम्भ भयो। उनीहरूले जानेबुझेसम्म जडीबुटी पनि खुवाए। कसै गर्दा पनि बिरामीलाई बिसको उन्नाइस भएन। ‘यस्तो छुनै नहुने बेलामा गरेको ओखती लाग्दैन !’ महिलाहरू खासखुस कुरा काट्न थाले। शान्तिकी आमालाई निकै गाह्रो भयो। छेवैको शिशु च्याँच्याँ गर्दै थियो। शान्तिले बहिनी बोक्न खोजिन्। ‘बाइस दिन नभई तैँले छुनु हुँदैन।’ गाउँलेहरूले थर्काए। उनी अलिपछि हटिन्।

शान्तिले आपूmहरूलाई गुरुआमाले स्कुलमा पढाएको कुरा सम्झिन्, ‘सुत्केरी अवस्थामा महिलालाई धेरै गाह्रो भएको हुन्छ। उनीहरूलाई यस्तो बेलामा सहयोग  गर्नुपर्छ। रूढिवादी कुरामा धेरै भर पर्नु हुँदैन।’ उनले स्कुलमा गुरुआमाले भनेका  कुरा त्यहाँ भेला भएका मान्छेहरूलाई सुनाइन्। तर, उनको कुरामा कसैले ध्यान दिएनन्। अब शान्तिले कसैको बाटो हेरिनन्। उनी तिनै गुरुआमा बस्ने घरतिर आत्तिदै गइन्। उनले गुरुआमालाई रुन्चे अनुहार लगाएर सबै कुरा बताइन् र एक पटक मेरी आमा हेर्न जाऊँ न है गुरुआमा भनेर अनुरोध गरिन्। गुरुआमाले उनको कुरा काट्नु भएन। उहाँ शान्तिको हात समाउँदै आउनुभयो। शान्तिकी आमाको अवस्था देखेर उहाँ आत्तिनुभयो र भन्नुभयो, ‘यसरी धामीको भरमा पर्दा सुत्केरीको समस्या समाधान हुँदैन। उहाँलाई झन् गाह्रो हुन्छ।’ तर, उहाँको कुरा पनि कसैले सुनेनन्। शान्तिकी आमा भने झन्झन् छटपटाउन थाल्नुभयो।

‘आज आएर पनि धामीझाँक्रीमा विश्वास गर्नु ठिक होइन। आमालाई यसरी राख्ने हो भने ज्यानको खतरा हुन्छ। अझ यहाँ त एक जनाको मात्र होइन, दुईदुई जनाको ज्यानको कुरा छ। सुत्केरी बेलामा राम्ररी रेखदेख गर्न छोडेर गोठमा पन्छाउने त गलत संस्कार हो। ख्याल गर्नुस्, बिरामीलाई केही भयो भने गाउँले सबैलाई कानुन लाग्छ नि !’ गुरुआमाले अलि कडा स्वरमा भन्नुभयो। उहाँको यो कुरा सुनेपछि शान्तिले पनि बाबालाई आमाको उपचारको लागि अनुरोध गरिन्। त्यसपछि गाउँले मिलेर बिरामीलाई अस्पताल पु¥याउन राजी भए।

अस्पताल पुग्नासाथ शान्तिकी आमालाई पिसाच लागेको नभई सर्पले डसेको कुरा पत्ता लाग्यो। गाउँलेलाई डाक्टरले किन यति ढिला ल्याएको ? अब एक घन्टा मात्रै ढिला भएको भए हाम्रो केही उपाय लाग्दैनथ्यो भन्दै थर्काए। अब भने त्यहाँ उपस्थित सबै जनाले कालो मुख लगाए। आपूmहरूले गल्ती गरेकोमा पछुताउँदै सुत्केरीलाई आइन्दा छाउमा नछोड्ने वाचा गरे।

प्रकाशित: २८ मंसिर २०७६ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App