१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चिसो मौसम, तातो बहस

पोखरा – शुक्रबार बिहानैदेखिको झरी, त्यही झरीले निम्त्याएको चिसो। त्यही चिसोबीच पोखरामा शुक्रबारदेखि सुरु भएको साहित्यिक जमघटले लेकसाइड भने तताएको छ। झरीका कारण निर्धारित ठाउँमा हुन नसकेर रेस्टुरेन्टको हलमा सुरु भएको आइएमई नेपाल साहित्य मेलाले यहाँको मौसम भने तताएको छ।

हरेक वर्ष नयाँनयाँ विषयवस्तु, पुस्तक र व्यक्तिबीच साहित्यिक, राजनीतिक, पत्रकारिता र समसामयिक विषयवस्तुमाथि बहस चलाइरहेको आइएमई नेपाल लिटरेचर फेस्टिबलको यो आठौं संस्करण हो। पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीघाटमा सुरु भएको महोत्सव चार दिनसम्म सञ्चालन हुने गरी तालिका मिलाइए पनि शुक्रबार वर्षाका कारण नजिकैको रेस्टुरेन्टको हलमा सुरुभएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गरे। कार्यक्रममा गुरुङले नेपाल मात्र नभई एसियाकै महत्वपूर्ण एवं भव्य महोत्सव आयोजना हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताए। ‘विद्वान्ले विचार पस्कने ठाउँ साहित्य मेला हो,’ उनले भने, ‘फरक क्षेत्रका विज्ञले फरक विषयमा फरक विचार राख्न पाउनेछन्।’ ज्ञानका पारखीलाई यो मेलाले एकै ठाउँ बनाउने उनले बनाए। त्यसबाहेक साहित्य र कलामा पनि यसले योगदान दिने उनको भनाइ छ। ‘समृद्धि भन्ने कुरा बाटो र पुल बनाउने मात्र होइन, ज्ञान बाँडेर पनि समृद्धि ल्याउन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि यस्ता छलफल जरुरी छ।’

आयोजक बुकवर्म फाउन्डेसन र -यान्डम रिडर्स सोसाइटीले संयुक्त रूपमा फेस्टिबलको आयोजना गरेका हुन्। यसैगरी कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले लेखक, पत्रकार, समीक्षक आदिको भव्य सहभागिता रहने महोत्सव प्रायोजन गर्न पाएकोमा आफूहरूलाई खुसी लागेको धारणा राखे। मानिसले साहित्य, कला, संगीत आदिबारे चासो राख्ने र त्यही सर्वसाधारणको चासो सम्बोधन गर्ने काममा आइएमई लागिपरेको उनको भनाइ छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले आउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि सहयोग पु-याउने बताए। यस्ता महोत्सव अन्य स्थानमा पनि आयोजना हुन सके त्यसले देशकै पर्यटकीय क्षेत्रको विकास हुने उनको भनाइ थियो।

सुन्दास दिदीबहिनीको वेदवाचनसँगै सुरु भएको महोत्सवको थालनीमा पूर्व अर्थमन्त्री एवं नागरिक अगुवा देवेन्द्रराज पाण्डेको विद्वत् प्रवचन रहेको थियो। उनले विशेषगरी लोकतन्त्रको सुरुवात, नेपालमा यसको अवस्थासँगै यसको महत्वबारे आफ्ना धारणा राखे।

आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजित बरालका अनुसार फेस्टिबलमा १ सय १० जना वक्ता सहभागी हुनेछन्। त्यसमध्ये विदेशी लेखकको संख्या पनि उल्लेख्य रहने उनले जानकारी दिए। फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ। फेस्टिबलको प्रथम चारवटा संस्करण काठमाडौंमै आयोजना गरिएको थियो। यसअघि कात्तिकमा महोत्सवको जनकपुर संस्करण भइसकेको छ।

वर्षाका बाबजुद सुरु भएको महोत्सवको पहिलो सेसन पोखराकै विषयमा केन्द्रित रह्यो। ‘लेक रहे पो रहला लेकसाइड’ विषयमा लेकसाइडका जानकार देवेन्द्रबहादुर लामिछाने, किशोर थापा, विश्वप्रकाश लामिछाने र गणेशबहादुर भट्टराईसँग सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले बहस चलाएका थिए। बहसका सहभागीले पोखराको गहना फेवाताल जोगाउने उपाय र जोखिममा पर्नुको कारणबारे बहस गरेका थिए। पोखरा मात्र नभई मुलुककै पर्यटनको गहना फेवाताल मानवीय र प्राकृतिक अतिक्रमणमा परेको उनीहरूको चिन्ता थियो।

प्रकाशित: २८ मंसिर २०७६ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App