१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रअ नियुक्तीका विषयमा परेको रिट अदालतद्धारा खारेज

खोटाङ– उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मी माबिको प्रअ नियुक्तीका विषयमा परेको रिट खारेज गरेको छ।

प्रअ नियुक्तीका विषयलाई नगरपालिकाले हस्तक्षेप गरेको भन्दै व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौडेल र नवनियुक्त प्रअ नयनकुमार राईले दिएको रिट निवेदनलाई उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले खारेज गरिदिएको हो। मुद्धा दर्ता भएपछि रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि नवनियुक्त प्रअलाई प्रअको रुपमा कामकाज गर्नबाट नरोक्न दुई पटक आदेश दिएको अदालतले बुधबार खारेज गरेर नगरपालिकाकै पक्षमा फैसला सुनाएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालय व्यवस्थापन र नियमन गर्ने अधिकार स्थानीय तहको भएको भन्दै अदालतले नगरपालिकाकै निर्णयलाई सदर गरेको हो। अदालतले नगरपालिकालाई रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि नवनियुक्त प्रअलाई प्रअका हैसियतमा कामकाज गर्नमा नरोक्न आदेश दिएको थियो।

प्रअ नियुक्तीमा हस्तक्षेप गरेको भन्दै व्यवस्थापन समिति र नवनियुक्त प्रअले नगरपालिकाको कार्यालय, वडा कार्यालय बडहरेलगायत विरुद्ध असोज ९ गते उत्प्रेरणा मिश्रित परमादेश शिर्षकको मुद्धा दर्ता गरेका थिए। रिट निवेदन परेपछि नवनियुक्त प्रअ राईलाई प्रअकारुपमा कामकाज गर्न रोक्दा विद्यालयको शैक्षिक तथा दैनिक प्रशासनिक कामकाजमा अवरोध हुने र विद्यालय सञ्चालन गर्नसमेत अवरोध पुग्ने देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट काममा अवरोध नगर्न नगरपालिकालाई आदेश दिएको थियो।

प्रअका रुपमा काम गर्दैआएका ऋषीराम पोखरेलले गत फागुन २२ गते राजीनामा दिएपछि व्यवस्थापन समितिले पोखरेलको राजीनामा स्वीकृत गर्दै गत असार २६ गते राईलाई प्रअमा नियुक्त गरेको थियो। प्रअ नियुक्तीमा असहमति जनाउँदै वडा कार्यालयले भदौ १ गते पत्राचार गरेकामा नगरपालिकाले नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार भदौ ११ गते प्रअ नियुक्तीको विधि र प्रकृयामाथि प्रश्न उठाउँदै निर्णय खारेज गर्न पत्राचार गरेपछि व्यवस्थापन समिति र नवनियुक्त प्रअ अदालत पुगेका थिए।

प्रकाशित: २६ मंसिर २०७६ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App