१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा मोबाइल फोन कम्पनी खोल्ने तयारी

चितवन- भारतको फास्टट्र्याक कम्युनिकेसन प्रालिले नेपालमा मोबाइल फोन सेट उत्पादन गर्ने कम्पनी खोल्ने तयारी सुरु गरेको छ। 'लेमोन' ब्रान्डका मोबाइल सेट उत्पादन गर्दै आएको उक्त कम्पनीले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिको साझेदारीमा उद्योग खोल्ने योजना बनाएको छ। प्रभु मोबाइल 'लेमोन' ब्रान्ड फोनको नेपालका लागि आधिकारिक वितरक हो।

लेमोनका नयाँ पाँच मोडलका फोन सेट नेपालमा सार्वजनिक गर्न भरतपुरमा आयोजित कार्यक्रममा फास्टट्र्याक कम्युनिकेसन प्रालि इन्डियाका निर्देशक योगेश चुघले आफू उद्योग खोल्न इच्छुक रहेको घोषणा गरे। 'नेपालमा निकट भविष्यमा मोबाइल फोन उत्पादन गर्ने उद्योग खुल्दै छ। काठमाडौं वा चितवनमध्ये एक ठाउँमा खोल्ने मेरो चाहना छ,' निर्देशक चुघले भने।

अहिले नेपालमा लेमोन ब्रान्डका मोबाइल फोन सेट महिनामा ३० हजार बिक्री भइरहेको बताइन्छ। आउँदो जुलाईदेखि मासिक७५ हजार फोन सेट बिक्री गर्ने लक्ष्य राखेको प्रभु मोबाइलसँग सम्बद्ध अधिकारीले बताए। 'नेपालमा प्रतिमहिना ७५ हजार फोन सेट बिक्री हुन थाल्यो भने उद्योग खोल्ने विषयमा म सकारात्मक हुने छु,' निर्देशक चुघले भने।

प्रभुका चेयरमेन अर्जुन शर्माका उद्योग खोल्ने विषयमा धेरै तयारी अघि बढेको बताउँछन्। हाल नेपालमा लोमोन ब्रान्डका १७प्रकारका मोबाइल फोन सेट उपलब्ध रहेको शर्माले बताए। १४ प्रकारका सेट फिचर फोन अर्थात कि–प्याड भएका फोन हुन्। त्यस्तै तीन प्रकारका स्मार्ट फोन छन्।

लेमोनका फोन सेट सस्तो र टिकाउ हुने शर्माले बताए। फिचर फोन ९ सय ९९ रुपैयाँदेखि २ हजार ४ सय ५० रुपैयाँसम्म मूल्यका छन्। त्यस्तै टच स्त्रि्कन स्मार्टफोन ४ हजार ५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म पाइने शर्माले जानकारी दिए। भारत उत्तर प्रदेशको ग्रेटर नोयडामा कारखाना रहेको लेमोन सन् २००८ मा स्थापना भएको कम्पनी हो।

प्रभु मोबाइलले १८ महिनादेखि नेपालमा लेमोन ब्रान्डका फोन बेच्दै आएको छ। आफ्नो कारखानामा प्रतिदिन ३९ हजार ६ सय फोन सेट उत्पादन हुने निर्देशक चुघले जानकारी दिए। कारखानामा ३ सयले रोजगारी पाएका छन्। नेपालमा कारखाना खुले सयदेखि २ सयले रोजगारी पाउने उनले बताए।

पाँच नयाँ मोबाइल सार्वजनिक

लेमोनका पाँच नयाँ फोन सेट अनमोल–१, पर्ल–२०५, पर्ल–२०२, अनमोल–११४ र सेल्फी–४०१ सोमबार सार्वजनिक गरिएका छन्। प्रभुले देशभरका १५ डिस्ट्रिब्युटर र हजार खुद्रा बिक्रेतामार्फत मोबाइल फोन सेट बेच्दै आएको छ। चाँडै नै डिस्ट्रिब्युटर संख्या २५ र खुद्रा बिक्रेता २ हजार पुर्‍याउने लक्ष्य राखेको शर्माले बताए। लेमोन भारतपछि नेपालमा मात्रै बिक्री हुने गरेको चुघले बताए।

प्रकाशित: ३० मंसिर २०७३ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App