१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

समय सकियो तर गोरखा दरबार ठडिएन, मासिक एक प्रतिशत काम

पुनर्निर्माण गरिँदै गरिएको गोरखा दरबार।

गोरखा- पुनर्निर्माण भएको भवन उद्घाटनको तयारी हुनुपर्ने समयमा गोरखा दरबार करिब ३० प्रतिशत मात्रै निर्माण भएको छ। पुरातत्व विभाग र निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले समयमै काम गर्न गराउन नसक्दा निर्माण सकिनुपर्ने दरबार अलपत्र परेको हो।

२०७४ कात्तिमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको गोरखा दरबारको काम २४ महिनामा मासिक करिब एक प्रतिशतको दरले मात्रै भएको छ। यही समयअनुसार दरबार पुनर्निर्माण हुने हो भने अझै पाँच वर्ष लाग्छ। ‘पुरातत्व विभागले ठेकेदारलाई र ठेकेदारले पुरातत्व विभागलाई पुनर्निर्माण ढिलाई हुनुको कारण मान्दै आएका छन्। गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने ‘जगमा समस्या देखिएपछि स्टीमेट फेर्न तीन महिना समय लाग्यो, बाँकी समय ठेकेदारको कारण ढिला भएको हो।’

पुरातत्व विभागले राम्रोसँग भौगर्भिक अध्ययन नगर्दा जग राख्ने समयमा धरातल कमजोर देखिएपछि स्टीमेट फेरिएको थियो। निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले स्टीमेट फेर्नु पर्दा काम गर्न नपाएको दावी गर्दै आएको छ। तीन महिना पुनं स्टीमेट गर्न लागेको समय बाहेक पनि ठेकेदारले नियमित काम नगरेको अड्डाका प्रमुख भुषालले बताए। काम गर्ने र लगाउने निकायबीचको जुहारीले दरबार पुनर्निर्माणको समय अझै धकेलिएको छ।

चार करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण पुरा गर्ने गरी सुरु भएको दरबारको जगमा ढुङ्गा राखेर ‘सोलिङ’ गरिएको र फलामे टेका र काठको थाम राखिएको छ। पहिलो तलामा ढोका राख्ने, चुना सुर्किले गार्‍राे लगाउने झ्याल हाल्ने काम भएको छ। दरबार पुनर्निर्माणमा सरोकारवालाको ध्यान पुग्न नसकेको स्थानीय दिपक योगीले गुनासो गरे। ‘नयाँ निर्माण गर्नुपर्ने दरबारमा ठेकेदारले राम्रोसँग काम गरेको छैन, चासो पनि कसैलाई छैन, कार्यालयले काम लगाउन पनि सकेको छैन’ उनले भने ‘शैक्षिक भ्रमण आएका र दरबार हेर्न आएकाहरु निराश भएर फर्कन्छन्।’ दरबार पुनर्निर्माणको काममा थोरै कामदार कहिलेकाँही मात्रै लगाउँदा ढिलो भएको गुनासो स्थानीयको छ।

अहिले शैक्षिक भ्रमणको मुख्य सिजन भएकाले देशका बिभिन्न ठाउँबाट दैनिक २० देखि ६० वटा यात्रुबाहक सवारी विद्यार्थी लिएर गोरखा आउने गरेका छन्। गोरखा संग्रहालय, गोरख दरबार हेर्नका लागि आउनेहरु पनि दरबार पुनर्निर्माण ढिलाई भएको र छिटो सिध्याउन सरकारले ठेकेदारलाई काम लगाउन नसकेको गुनासो गर्दै फर्कने गरेका छन्।

गोरखकाली दरबार वरपर निर्माण सामग्री यत्रतत्र छ। पुराना भत्केका काठपात, इट्टाले बाटो थुनिएको छ। दरबार परिसर चारैतिर घुम्न हेर्न मिल्दैन। पूजाआज गर्न गएकाहरु भत्किएको दरबार वरपर रहेका शिला र गोरखनाथ मन्दिरमा पूजा गरेर फर्कन्छन्। पुरातत्व विभागका अधिकृत मञ्जु सिंह भण्डारीले ठेकेदारले समयभित्रै सिध्याउन भनेअनुसार काम नगरेको बताइन्। विभागले पुनं स्टीमेट गर्न लागेको तीन महिनासहित छ महिना म्याद थपको तयारी गरेको छ। केही महिना यता भएको कामको प्रगती अनुसार कम्पनीले छ महिनाभित्र पनि काम सिध्याउन मुस्किल छ।

पुरातत्व विभागले म्याद थप्ने पक्का भएकाले ठेकेदारले काममा हेलचेक्राई गरेको गुनासो गोरखा दरबार हेरचाह अड्डाका कर्मचारीहरुको छ। दरबार पुनर्निर्माणको रेखदेख जिल्लास्थित अड्डा गर्ने भएपनि काम लगाउने र भुक्तानी विभागबाटै हुने हुँदा ठेकेदारलो अटेरी गर्ने गरेका छन्।

पुरानो कला कौशल, शाहवंशको इतिहास, गोरखाको धार्मीक साँस्कृतीक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्काली राजा राम शाहाको कार्यकालमा निर्माण भएको मानिन्छ। चार सय वर्ष पुरानो दरबारमा कलात्मक शैलीका झ्याल ढोका प्रयोग भएका छन्।

 

 

प्रकाशित: २५ मंसिर २०७६ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App