१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेवाइल टर्च र दियालोको धिपधिपे उज्यालोको भरमा सुत्केरी गराउन बाध्य

त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा रहेको प्रसुति केन्द्रसहितको स्वास्थ्य चौकी।

डोल्पा- ग्रामीण क्षेत्रका महिलाहरुलाई सफल सुत्केरी गराउने उद्देश्यले स्थापना गरिएका प्रसुति केन्द्रहरु भरपर्दो बत्तीको व्यवस्था नहुँदा समस्यामा छन्। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटबगरमा रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसुति केन्द्रमा बत्तीको अभावमा मोवाइल टर्चको भरमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

गएको साउन यता मात्रै १६ जना सुत्केरीको मोवाइल टर्च बालेर सुत्केरी गराएको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज अहेव तुलबहादुर श्रेष्ठले बताए। सुत्केरी गराउने जस्तो जटिल र संंवेदनसिल कामको लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भएपनि त्रिपुराकोट स्वास्थ्य चौकीमा भरपर्दो बत्तिको व्यवस्था छैन।

'घरमै सुत्केरी हुन असुरक्षित हुने भएकाले प्रसुति केन्द्रमा महिलाहरु आउछौं तर अस्पतालमा नै बत्ती नहुँदा म आफै मोवाइल टर्चको भरमा सुत्केरी भए' त्रिपुरासुन्दरी नगरपालिका २ रुमकी नरचन्द्रा थापाले भनिन्। एक साता अघिमात्रै स्वास्थ्यकर्मीको मोवाइलको टर्चको भरमा सुत्केरी भएकी थापाको मृत बच्चा जन्मिएको थियो। स्वास्थ्यचौकीमा भरपर्दो बत्ती नहुँदा स्वास्थ्यकर्मीको मोवाइलको टर्च र घरबाट ल्याएको ब्याट्री लाग्ने टर्चको भरमा धिपधिपे उज्यालोमा सुत्केरी गराउदा घरमा भन्दा पनि असुरक्षित हुने अवस्था सृजना भएको विमारीसँगै प्रसुति केन्द्रमा आएका आफन्तले गुनासो पोख्ने गरेका छन्।

थापा जस्तै दर्जनौ सुतकेरी महिला र उनीहरुका आफन्तले स्वास्थ्य चौकीमा भरपर्दो बत्ती र तालिम प्राप्त स्वास्थ्यकर्मी राख्न माग गरेका छन्। चिसोमा आमा र बच्चा दुवैको ज्यान जोगाएर सफल सुत्केरी गराउन विभिन्न तरिका अपनाउनु पर्ने भएकाले हिटर लगायतका उपकरण प्रयोग गर्न र उज्यालोका लागि भरपर्दो बत्ती नभएकाले मोवाइल टर्च लगायत दियालोको उज्यालोको भरमा पनि जोखिम मोलेर सुत्केरी गराउनु पर्ने बाध्यताले समस्या आएको अहेव तुलबहादुर श्रेष्ठले बताए। दुई वर्षको ग्यारेन्टी दिँदै स्वच्छता नामक संस्थाले जोडेको सोलार एक वर्ष नपुग्दै विग्रेपछि त्रिपुराकोट स्वास्थ्य चौकी अन्तरगतको प्रसुति केन्द्रमा समस्या आएको हो।

त्रिपुरासुन्दरी नगरपालिकाको म्याचिङ्ग कोषमा उक्त संस्थाले रकम थप गरेर अनुदानमा जडान गरिएको सोलार ग्यारेन्टी दिएको समयअगावै बिग्रेपछि गुणस्तरहिन सोलार जडान गरेको स्थानीय समाजसेवी भक्तसिं कठायतले बताए। दुई किलोबाट क्षमताको सोलार एक्कासी बिग्रेपछि सुत्केरी गराउन ठूलो समस्या भएको बताउदै मर्मतको लागि परियोजनाका कर्मचारीलाई पटक पटक खबर गरिएपनि सुनुवाई नभएको त्रिपुराकोट स्वास्थ्य चौकीले जनाएको छ। स्वच्छता परियोजनाका कर्मचारी गुम्बा नेपालीले स्वास्थ्य चौकीबाट सोलार बिग्रेको खबर आएको साँचो भएको भएपनि संस्थाले आफुले नभई टपसन इनर्जी कम्पनीलाई खरिद गर्ने जिम्मा दिएर उसैले खरिद गरेको बताए।

दुर्गमका स्वास्थ्य चौकीमा बत्ती विना उपचार हुने समस्यालाई मध्यनजर राख्दै लाखौको सोलार सहयोग गरेकाले मर्मतको लागि संस्थाको तर्फबाट ताकेता गरिएपनि सुनुवाई नभएको पनि परियोजनाका नेपालीले बताए। डोल्पामा रहेका स्वास्थ्य चौकीहरुमा दक्ष अनमी नहुँदा र सुत्केरी सम्बन्धि तालिम नलिएका करारका कर्मचारीले सुत्केरी गराउदा पनि समस्या सृजना हुने गरेको छ। सुत्केरी गराउनको लागि छुट्टै प्रसुति सम्बन्धि तालिम लिएको अनमी आवश्यक पर्छ। प्रसुति केन्द्र संचालन गरिएका प्रत्येक स्वास्थ्य चौकीमा एक जना एसबी आई तालिम प्राप्त अनमी अनिवार्य हुनु पर्छ। तर स्वास्थ्य चौकीमा गत साउनदेखि तालिम नलिएका अनमीले सुत्केरी गराउदै आएका छन्।

नगरपालिकाले करारमा भएपनि तालिम प्राप्त अनमी भर्ना गर्नुपर्ने स्वास्थ्य चौकीका प्रमुख अहेव तुलबहादुर श्रेष्ठले बताए। दुई जना स्थायी अनमी दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल एक जना करार त्यसमा पनि तालिम नलिएकी अनमी र एक जना मासिका मात्र कार्यरत छन्। समायोजनापछि खटिएकी एक जना स्थायी तालिम प्राप्त अनमी अझै स्वास्थ्य चौकीमा आइनपुगेको पनि स्वास्थ्य चौकीले जनाएको छ।

त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ, र त्रिपुराकोटसहितका पाँच वटा स्वास्थ्य चौकीमध्ये चारवटा स्वास्थ्य चौकीमा प्रसुति केन्द्र संचालनमा रहेपनि फुल्चिङ्ग स्वास्थ्य चौकीमा प्रसुति केन्द्र संचालनको लागि आवश्यक उपकरणसहितका सामाग्रीहरु पठाइएपनि संचालनमा आएको छैन।

त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसुति केन्द्र मात्र होइन अन्य प्रसुति केन्द्रमा कतै बत्ती र तालिम प्राप्त अनमीको अभाव त कतै बत्तीको अभावले गर्दा प्रसुति केन्द्रहरु समस्या छन्।


 

प्रकाशित: २५ मंसिर २०७६ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App