१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावमा गए मुठभेड : मोर्चा

काठमाडौं- मधेसी मोर्चाका नेताले संसद्मा दर्ता संविधान संशोधन विधेयक स्थगन गरी सरकारले स्थानीय निकायको चुनाव गर्न खोजे 'मुठभेड निम्तिने' चेतावनी दिएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यालयमा बुधबार भएको अनौपचारिक छलफलमा नेताहरूले यथास्थितिमा चुनाव गर्न खोजे हुन नदिने सहमति पनि गरेका छन्। आफ्ना अडानबारे जानकारी गराउन उनीहरूले शुक्रबारसम्ममा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने निर्णय गरेका छन्। भेटेर कुरा राख्ने जिम्मा तमलोपा अध्यक्ष महन्त ठाकुरलाई दिइएको छलफलमा सहभागी एक नेताले बताए।

संशोधन प्रस्ताव परिमार्जन गरी अघि बढे चुनावमा जान सकिने निष्कर्ष छलफलमा निस्केको छ। 'संशोधन प्रस्ताव परिमार्जन गरी अघि बढे हामी प्याकेजमा चुनावमा जान तयार  छौं', छलफलपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, 'तर संशोधन प्रस्ताव स्थगन गरी चुनाव गर्न खोजे चुनाव हुनै सक्दैन।'

'संशोधन प्रस्ताव परिमार्जन गरी अघि बढेमा हामी चुनावमा जान तयार छौं तर संशोधन प्रस्ताव रोकी चुनाव गर्न खोजे हुनै सक्दैन।' केशव झा, महासचिव, रामसपा

छलफलमा सहभागी नेताहरूले संशोधन प्रस्ताव स्थगन गरे मुलुक गृहयुद्धमा फस्ने बताएका थिए। देशलाई गृहयुद्धमा लैजान र अराजकता निम्त्याउन  यथास्थितिमा चुनाव गर्न खोजेको आरोप पनि उनीहरूले लगाएका थिए। 'संशोधन प्रस्ताव पास नभई चुनाव हुन दिन्नौं। संविधान संशोधनबिना मधेसमा चुनाव सम्भव छैन', छलफलमा सहभागी सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने।

छलफलमा तमलोपाका हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सहभागी थिए। मोर्चाका दोस्रो तहका नेताले अनौपचारिक छलफल गरी तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न गएका थिए। ठाकुरले प्रधानमन्त्री र कांग्रेस सभापतिसँग छलफल गरी सरकारको कुरा बु‰नुपर्ने बताएका थिए। संशोधन प्रस्ताव स्थगन गरी सरकारले चुनाव गर्न खोजे त्यसले मधेसमा द्वन्द्व निम्त्याउने उनले बताएका थिए।

मधेसी मोर्चाले स्थानीय निकाय चुनावमा भाग लिन स्थानीय निकाय प्रदेशमातहत आउनुपर्ने, संशोधन प्रस्ताव परिमार्जन गरी प्रस्ताव अघि बढाउनुपर्ने, सीमांकन विवाद सामधान हुनुपर्नेलगायत सर्त राखेको छ। 'सीमांकन विवाद थाती राखेर मधेसी मोर्चा स्थानीय निकायको चुनावमा जान सक्दैन', राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष अजय शाहीले भने, 'अहिलेको स्थितिमा मधेसमा चुनावको सम्भावना छैन, जबर्जस्ती गरिए मुठभेड  निम्तन्छ।'

प्रकाशित: ३० मंसिर २०७३ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App