१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बट्टाई पालनमा किसानको आकर्षण

धादिङका किसानले पालेको बट्टाई । तस्बिर : सरिता/नागरिक

धादिङ- कुखुराको अण्डा र मासु बिक्रीमा बिचौलियाका कारण घाटा बेहोरिरहेका धादिङका  किसानले बट्टाई पाल्न सुरु गरेका छन् । मासु र अण्डाका लागि कुखुरा पाल्नुभन्दा सजिलो, थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएका कारण बट्टाईपालनमा किसानको आकर्षण बढेको छ । कुखुराको अण्डामा भन्दा चार गुणा बढी पौष्टिक तत्व बट्टाईको अण्डामा पाइने हुनाले यसको अण्डा खान मानव स्वास्थ्यका लागि ज्यादै उपयुक्त हुने किसान बताउँछन् ।

धादिङबेंसीमा पनि नीलकण्ठ नगरपालिका वडा नं १२ मा काशीनाथ लम्सालले पाल्न सुरु गरेका छन् । उनले पालेको बट्टाई चराले अण्डा दिन थालिसकेको छ । मासु र अण्डाका लागि हिजोआज यो चराको व्यावसायिक पालन सुरु गरिएको लम्सालले बताए । ‘कुखुरालाई जस्तै खोरमा थुनेर पालिने चरा हो बट्टाई, यसलाई पाल्न धेरै मिहेनत पनि गरिरहनु पर्दैन,’ उनले भने, ‘कुखुराको अण्डाभन्दा चार गुणा बढी पौष्टिक आहार पनि हुन्छ, त्यसैले यसको व्यवसाय सुरु गरेको छु ।’  

बट्टाई एक प्रकारको चरा हो । अण्डा पनि चराको जस्तै सानो–सानो र छिर्केबिर्के रंगको हुन्छ । बट्टाइको मासु र अण्डाले दम, बाथ, युरिक एसिड, निमोनिया, सुगर, प्रेसर नियन्त्रणका साथै तेज दिमाग, शारीरिक वृद्धि, छालाको सुरक्षा र सुत्केरीका लागि विशेष फाइदा पु¥याउने भएकाले बजारमा माग बढी रहेको लम्सालले बताए । यसको अण्डा नियमित रुपमा खाने गर्नाले तौल सन्तुलन, स्मरण शक्ति बढ्ने, हड्डी बलियो बनाउने जस्ता फाइदा हुने उनले बताए ।

अहिले बट्टाई चराको अण्डाको माग बढी भएकाले किन्न आउने ग्राहकलाई पुर्‍याउन नसकिएको लम्सालले बताए । ‘हामीसँग धेरै उत्पादन त हुँदैन, बिहान जम्मा भएको अण्डा साँझसम्म बिक्री भइसक्छ,’ उनले भने, ‘बजारको माग र आवश्यकता हेरेर व्यवसाय बढाउने सोचमा छु ।’ यो व्यवसायबाट सजिलै मासिक ६० हजार आम्दानी लिन सकिने उनको भनाइ छ । बट्टाईको अण्डा प्रतिगोटा १०, माउँ चराको तीन सय ५० रुपैयाँमा बिक्री हुन्छ । यो मासु र अण्डाका लागि पालिएका कुखुराको भन्दा राम्रो मूल्य भएको किसानको भनाइ छ ।

२५ देखि ३५ डिग्री सेल्सियसबीचको तापक्रममा बाच्ने बट्टाई पाँच हप्तामा मासु खानयोग्य हुन्छ भने चार हप्ताबाट अण्डा पार्न थाल्छ । दुई वर्षसम्म बाँच्ने बट्टाईले एक वर्षमा करिब तीन सयसम्म अण्डा दिन्छ । भालेलाई पाँच हप्तादेखि नै मासुका रूपमा प्रयोग गरिए पनि पोथीलाई भने अण्डाका लागि ५–६ महिनासम्म पाल्ने गरिन्छ । जिउँदो चराको एक रुपैयाँ प्रतिग्राम पाइने यो चरा २८ दिनदेखि बेच्न योग्य हुने र औसत तौल एक सय ५० ग्रामदेखि दुई सय ग्रामसम्मको हुन्छ । बट्टाईले एक महिना पुगेपछि नै अण्डा दिन थाल्छ ।

कुखुरालाई जस्तो किनेको दाना नचाहिने र धान मकै कोदोलगायत चारो खुवाई पाल्न सकिने यो बट्टाई चराको माग बजारमा बढेको छ । यसको अण्डा र मासु उमेर अनुसारको तौल नभएका बालबालिकालाई खुवाउँदा तौल बढ्ने र दमलगायत अन्य श्वासप्रश्वास सम्बन्धी रोग भएका मानिसलाई फाइदा हुने विश्वास गरिन्छ । कुखुरालगायत अन्य पशुपालन गरिरहेका किसानका लागि बट्टाईपालन नौलो अनुभव पनि भएको छ ।

बट्टाईपालन आर्थिक तथा स्वास्थ्यका हिसाबले निकै उपयोगी मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता धेरै नै हुने भएकाले औषधि खर्च न्यून हुन्छ । पक्षीपालनका लागि ७० प्रतिशत लगानी दानामा लागे पनि यसको दानामा लागत खर्च पनि निकै कम रहेको छ । बालकदेखि वृद्धसम्मले यसको मासु र अण्डाको स्वाद रुचाउने गर्छन् । यसको मासु र अण्डामा क्यालसियमको मात्रा प्रचूर हुने भएकाले मानिसले यसको प्रोटिन सहजै पचाउन पनि सक्छन् । हड्डी कमजोर भएका तथा वायुको समस्या भएकालाई पनि यो लाभदायी हुन्छ ।

जेपोनिका निकोट्रिक्स वैज्ञानिक नाम रहेको यो चरा सामान्यतया एक सय ९० देखि दुई सय १० ग्रामसम्मको हुन्छ । तराईका खेतबारीमा खुला रुपमा चर्न आउने यो चराको पछिल्लो समय व्यावसायिक पालन बढेको छ । तराईदेखि उच्च पहाडी जलवायुमा पनि यसको सहजै पालन गर्न सकिन्छ । मासुको स्वादका पारखीले यसको मासु र अण्डा दुवै रुचाउँछन् । यसको अण्डाको तौल १० देखि १२ ग्राम मात्र हुन्छ ।


 

प्रकाशित: २५ मंसिर २०७६ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App