१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पत्रकार कुटिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका लागि दशरथ रंगशाला पुगेका नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथी प्रहरीबाट भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ। नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति, महासंघको एसोसिएट प्रदेश र रिपव्लिका शाखाले एक विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाही गर्न माग गरेको छ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख छ। 'प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ। महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ', विज्ञप्तिमा भनिएको छ।

पेशागत जिम्मेवारीकाक्रममा रंगशालामा पुगेका नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा नागरिक दैनिकका सञ्चारकर्मी चापागाईले नेपाल र भुटानबीच हुने फुटबल प्रतियोगिताको फाइनल खेलको टिकट नपाएकोमा विरोध गरिरहेका फुटबल प्रेमीहरुलाई प्रहरीले कुटपिट गरेको तस्विर लिनेक्रममा प्रहरीले अवरोध पूर्‍याउँदै कुटपिट गरेका थिए। प्रहरीको कुटाईबाट उनको कानमा चोट लागेको छ।

समाचार संकलनका लागि पुगेका पत्रकारलाई अवरोध गर्दै कुटपिट गर्नु स्वतन्त्रतापूवर्क समाचार संकलन गर्न पाउने सञ्चारकर्मीको पेशागत हकविरुद्धको कदम भएको महासंघको बुझाइ छ।  'अन्तराष्ट्रिय मानव अधिकार दिवसको दिन आम नागरिकको सुरक्षाको जिम्मेवारी पाएको सुरक्षा संगठन नेपाल प्रहरीका जिम्मेवार अधिकृतबाट आम नागरिकसँगै सञ्चारकर्मीलाई समेत कुटपिट गर्ने घटना हुनु लोकतान्त्रिक मुलुकका लागि लज्जापद घटना हो', एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महासंघले घटनामा संलग्न प्रहरी अधिकारीलाई तत्काल छानविनको दायरामा ल्याई कारवाहीको माग गर्दै प्रहरी संगठनका सदस्यबाट हुने यस्ता नागरिक हक र प्रेस स्वतन्त्रताविरोधी गतिविधीविरुद्ध कडा कदम चाल्न रिपव्लिका शाखाका अध्यक्ष अशोक दाहालले जारी गरेको विज्ञप्तिमा सरकारलाई आग्रह गरिएको छ।

यस्तै खेलकुद पत्रकार मञ्चले पनि एक विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ। मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले घटनाका दोषिलाई कारबाहीको माग गरेका छन्।

प्रकाशित: २४ मंसिर २०७६ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App