१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भ्रमण वर्ष सफल बनाउन सेनाको प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौ – सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन विभिन्न कार्यक्रमको तयारी गरिरहेका बेला नेपाली सेनाले पनि प्रवद्र्धनात्मक कार्यक्रम सार्वजनिक गरेको छ।

सेनाले सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन वर्ष सफल बनाउन विभिन्न आठ चरणका कार्यक्रम सार्वजनिक गरेको हो।

सेनाले विभिन्न आठ चरणका कार्यक्रममार्फत भ्रमण वर्षको प्रवद्र्धन गर्ने जनाएको छ। सेनाले द्वौत्यसम्बन्ध कायम रहेका तथा नेपाली सेनाको उपस्थित रहेका मुलुकबाट पर्यटक भित्र्याएर पर्यटन प्रवद्र्धनमा जोड दिनका लागि यस्तो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सेनाले आयोजना गर्न लागेका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जंगल सफारी, हिमालय पदयात्रा, सगरमाथा आरोहण तथा सगरमाथा सफाइ अभियान, प्याराग्लाइडिङ, गोरखामा लिगलिगे दौड, खुला साहसिक यात्रा, नेपाल म्याराथन, शान्ति सेमिनार तथा एकीकरण ट्रायल पदयात्रा लगायतका कार्यक्रम गर्न लागेको सेनाले जनाएको छ।

सेनाले जंगल सफारीअन्तर्गत विभिन्न राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको अवलोकन तथा भ्रमण गर्ने जनाएको छ। जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र रहेका छन्। माउन्टेन ट्रेकअन्तर्गत सगरमाथा बेस क्याम्प ट्रेक, रारा ताल ट्रेक, अन्नपूर्ण सर्किट र लाङटाङ ट्रेक लगायतका स्थानमा पदयात्रा गरिने जानकारी गराएको छ।

सगरमाथा आरोहण तथा सरसफाइ अभियानअन्तर्गत सगरमाथा क्षेत्रमा रहेको फोहोर संकलन गर्ने तथा सगरमाथा आरोहणका कार्यक्रम छ भने खुला साहसिक खेल प्रतियोगिता मुस्ताङको जोमसोममा २८ सय मिटरको उचाइमा प्रतिस्पर्धाको आयोजना गरिने सेनाले जनाएको छ। त्यस्तै साहसिक खेलअन्तर्गत -याफ्टिङ, प्याराग्लाइडिङ लगायतका गतिविधि पनि सञ्चालन गरिने सेनाले जनाएको छ। एकीकरण पदमार्ग, शान्ति सेमिनार, नेपाल म्याराथन लगायतका कार्यक्रमले पनि पर्यटकलाई आकर्षित गर्ने सेनाले विश्वास लिएको छ। सेनाले अग्रेजी नयाँ वर्षको सुरुवातसँगै यस्ता कार्यक्रमको सुरुवात गर्दै वर्षैभरी यस्ता कार्यक्रमको आयोजना गर्ने जनाएको छ।

यसैबीच, नेपाली सेनाले काठमाडौं तराई फास्ट–ट्रयाकको निर्माण समय सीमाभित्रै पूरा गर्न समष्टीगत गुरुयोजनाको तयारी भइरहेको जनाएको छ। त्यसका लागि सडक संरचना, पुल तथा अन्य संरचनालाई एकीकृत प्याकेज बनाएर निर्माणका काम अघि बढाउने तयारी भइरहेको जनाइएको छ। आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले हाल आयोजनाको आधार बनाउने काम भइरहेको र अब आयोजनाको काम दु्रत गतिमा अघि बढ्ने जानकारी दिए।

सेनाले फास्ट–ट्रयाकमा निर्माण गरिने सुरुङका लागि जियोटेक्निकल र जियोफिजिकल इन्भेस्टिगेसनका लागि इओआइबाट परामर्शदाता छनोट भइरहेको जनाएको छ। २०७७ असार मसान्तभित्रमा जियोटेक्निकल रिपोर्ट तयार हुने र छनोट भएका अन्तर्राष्ट्रिय निर्माण व्यवसायीबाट सुरुङको निर्माण अघि बढाउने जनाएको छ। सेनाले २०८१ वैशाखसम्ममा उक्त आयोजनाको निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा सेनाले आयोजना गर्न लागेको विज्ञान तथा प्रविधि प्रतियोगिता बारेमा पनि जानकारी गराइएको थियो। सेनाले सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने उद्देश्यले शैक्षिक संघ संस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा आगामी वैशाख १९ र २० गते उक्त कार्यक्रमको आयोजना गर्न लागेको छ।

प्रकाशित: २४ मंसिर २०७६ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App