१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवहेलना मुद्दामा उच्च अदालतबाट प्रहरीसँग कारण माग

काठमाडौं – उच्च अदालत पाटनले महानगरीय प्रहरी परिसर टेकु तथा काठमाडौं महानगरपालिका–५ को कार्यालय सहितका निकायलाई अवहेलनामा किन कारबाही नगर्ने भन्दै सोमबार कारण माग गरेको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रभा बस्नेत र श्रीकान्त पौडेलको इजलासबाट सो आदेश भएको हो।

काठमाडौ महानगरपालिका–५ स्थित धन्वतरीमार्गमा रहेको गणेशप्रसाद खरालको घरमा पसल संचालन गरिरहेका भरतबहादुर अधिकारीलाई वडा कार्यालयले उच्च अदालतको आदेशविपरीत घरबाट निकाला गर्न खोजेको भन्दै परेको अवहेलनाको निवेदनको सुनुवाई गर्दै सो आदेश भएको हो। इजलासले महानगरीय प्रहरी परिसर टेकुका साथै महानगरीय प्रहरी वृत्त कमलपोखरी, वडा कार्यालय लगायतका निकायलाई लिखित जवाफ पेश गर्न १५ दिनको समय दिएको छ।

गत जेठ १८ गते न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र कुलप्रसाद शर्माको इजलासले खराललाई घरबाट अधिकारीलाई ननिकाल्न र प्रहरीलाई पसल संचालनका लागि आवश्यक पहल गर्न आदेश दिएको थियो।

वडा कार्यालयले भने अदालतको फैसला गैरकानुनी भएकाले त्यस्तो आदेश कार्यान्वयन गर्न आफू बाध्य नभएको भन्दै प्रहरीलाई पत्र पठाएपछि अधिकारी अवहेलना मुद्दा लिएर उच्च अदालत पुगेका थिए। घरभाडाको विषयबाट सुरु भएको उक्त मुद्दामा सरकारी निकाय र अदालतबीच टकराव देखिएको छ।

आफ्नो फैसला कार्यान्वयन नहुनुको कारण पेश गर्न नसकेमा विपक्षी निकायलाई अदालतले अवहेलनामा कारबाही गर्नुपर्ने पनि अधिकारीका कानुन व्यवसायीले बहसको क्रममा माग गरेका थिए।

प्रकाशित: २४ मंसिर २०७६ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App