१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

३५ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण अझैं बाँकी

तस्बिरःसरिता/नागरिक

धादिङ- भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुनर्निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन। विद्यालय पुनर्निर्माण नहुदाँ अझै पनि अस्थायी टहराकै भरमा विद्यालय संचालन गर्नुपर्ने बाध्यता छ। २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङ जिल्लामा ५ सय ८१ विद्यालयका ४ हजार ४ सय ३८ कक्षाकोठामा क्षति पुगेको छ। क्षति पुगेका मध्ये ६५ प्रतिशत भवन निर्माण भएको छ।

भूकम्प प्रभावित जिल्लाहरुमा नीजि आवाससँगै विद्यालयको पुननिर्माण पनि भइरहेको छ। धादिङ जिल्लामा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माण भइरहेको छ। जिल्लामा अझै पनि भूकम्पले भत्काएका ३५ प्रतिशत विद्यालयको पुनर्निर्माण बाँकी छ। हालसम्म दुई सय ४६ विद्यालयका दुई हजार चार सय ५० कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन्। निर्माण सम्पन्न गरिएको विद्यालयमा पठनपाठन समेत सूचारु भइसकेको छ।

भत्किएका विद्यालय निर्माण कार्य तीन वर्षभित्रमा सक्ने शिक्षा मन्त्रालयको योजना थियो। तर निर्माण सम्पन्न गरिने समयसिमाभन्दा थप साढे एक वर्ष बितिसक्दा पनि विद्यालय पुनर्निर्माण पूर्णरुपमा सम्पन्न हुन सकेको छैन। अहिले दुई सय ७२ विद्यालयका एक हजार दुई सय ५० वटा कक्षाकोठा निर्माणाधिन अवस्थामा छन्।

निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमीजस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाई भएको नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङका इन्जिनियर निर्मल बोगटीले बताए। ‘अबको डेढ वर्षमा सबै विद्यालयको भवन निर्माण सम्पन्न गरिसक्नेगरि भवन निर्माण भइरहेको छ’, इन्जिनियर बोगटीले भने, ‘क्षतिग्रस्त सबै विद्यालयहरुमा पुनर्निर्माणको काम भइरहेको छ, कुनै विद्यालयमा कक्षाकोठा थोरै भएका कारण थप भवन निर्माण सुरु गरिएको छ यसले पनि ढिलाई भएको हो।’

निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ। विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ। ह्विलचियर गुड्ने गरि विद्यालय तथा शौचालयहरुको संरचना निर्माण गरिएको छ। नयाँ भवनले शिक्षक तथा विद्यार्थी पनि फूरुङग छन् भने पठनपाठनमा पनि सहज भएको छ। भवन नहहुँदा सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्ने अवस्था थियो अहिले त्यो हटेको शिक्षकहरुको भनाइ छ।

जिल्ला कार्यान्वयन इकाई धादिङको कार्यालयका अनुसार संघसंस्था, विद्यालय व्यवस्थापन समिति र ठेक्का गरि तीन किसिमिले विद्यालय निर्माण भइरहेको छ। संघसंस्था मार्फत् ६३ वटा विद्यालयका ९ सय ८ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने २ सय २८ कक्षाकोठामा निर्माणाधिन छन्। त्यस्तै विद्यालय व्यवस्थापन समिति मार्फत एक सय ७६ विद्यालयका एक हजार दुई सय ६१ कक्षाकोठामा निर्माण सम्पन्न भइसकेको छ भने १ सय ९४ विद्यालयमा ४ सय ६४ कक्षाकोठा निर्माणाधिन छन्। यस्तै ठेक्कामार्फत् ७ वटा विद्यालयमा ६१ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने ५५ विद्यालयमा ४ सय ५८ कक्षाकोठा निर्माणाधिन छन्।

केन्द्रीय आयोजना अन्तर्गत जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोग, एसियाली विकास बैक (एडीबी) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा विद्यालय पुनर्निर्माणको क्रममा छन्। एसियाली विकास बैकले बनाउने ६ वटा विद्यालयमध्ये सदरमुकामको नीलकण्ठ मावि नमुना विद्यालयको रुपमा निर्माण गरिसकेको छ भने अन्य ठेक्का प्रक्रियामा छन्। त्यस्तै जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुने ४९ विद्यालयमध्ये ६ वटा मात्र निर्माण सम्पन्न भएको छ भने भारत सरकारको अनुदान तथा ऋण सहयोगमा निर्माण हुने १० वटा विद्यालय पनि ठेक्का प्रक्रियामा छन्।

भूकम्प गइसकेपछि क्षतिग्रस्त विद्यालयमा त्रिपाल र अस्थायी टहरा बनाई पढाई सुचारु गरेका विद्यालयहरुमा विभिन्न संघसंस्था तथा विद्यालय आफैले पनि विद्यालय भवन निर्माण गरेका छन्। विद्यालय निर्माणमा ढिलाई भएका कारण विद्यार्थीहरु अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन्। पुनर्निर्माण कार्य प्रभावकारी नहुँदा विद्यार्थीहरू हिउँदमा चिसो र बर्खामा घाम, पानीको कष्टप्रद अवस्थामा पढ्न बाध्य छन्। विद्यालय नहुँदा आफुले पढ्न नपाएको दुखेसो पोख्ने विद्यार्थीहरु भवन पाएपछि खुसी देखिन्छन्।

हाल निर्माण गरिदै गरेका विद्यालयको काम छिटो र गुणस्तरीय बनाउन बेलाबेलामा अनुगमनको काम गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) धादिङका प्रमुख युवराज बगालेले बताए। ‘अहिले बनेका विद्यालय भवनहरु अब लामो समयसम्मका लागि ढुक्कका छन् कुनै विपत्तीले असर गर्ने छैन’ उनले भने, ‘विद्यालय पूनर्निर्माणको काम सुरु भएका ठाँउमा सक्दो छिटो काम सक्न आग्रह पनि गरेका छौँ, बेलाबेलामा अनुगमन पनि भइरहेको छ।’



    

प्रकाशित: २३ मंसिर २०७६ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App