१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२५ प्रतिशत हिस्सा बढ्ने व्यवसायीको विश्वास

पोखराको एक होटलमा बसेका माल्दिभ्सका खेलाडी अभ्यास गर्दै। तस्बिर सौजन्यः सुदर्शन रञ्जित

पोखरा - सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा यतिबेला पोखरा, काठमाडौं र जनकपुरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को रन्को चलिरहेको छ। पर्यटकीय सहर पोखराले नेपालसहित विभिन्न सात मुलुकका खेलाडी र खेल पदाधिकारीलाई आतिथ्यता पस्किरहेको छ।

पछिल्लो एक सातादेखि पर्यटकीय क्षेत्र लेकसाइडका होटल र रेस्टुरेन्टमा सागमा खेल्न आएका खेलाडी र पदाधिकारीको जमघट देख्न पाइन्छ। सिजनका बेलामा समेत सुनसान भएको पर्यटन क्षेत्रमा सागका पाहुना पाउँदा होटल व्यवसायी दंग छन्। त्यसबाहेक यिनै विदेशी खेलाडी र खेल पदाधिकारीकै कारण सन् २०२० मा ती मुलुक (खेलाडीको मुलुक) बाट अरु थप पाहुना पोखरा घुम्न आउनेमा व्यवसायी आशावादी छन्।

सागमा खेल्न र खेलाउन आएका खेल पदाधिकारीकै प्रचारप्रसारले आगामी वर्ष नेपालमा दक्षिण एसियाली मुलुकका पाहुना बढ्नेमा व्यवसायीको भनाइ छ। नेपाल पर्यटन बोर्डका अनुसार नेपालको पर्यटन क्षेत्रमा दक्षिण एसियाली मुलुकका पाहुनाको हिस्सा २५ प्रतिशतभन्दा बढी हुन्छ। सागको अहिलेको प्रचारप्रसारले आगामी वर्ष ती मुलुकका पाहुनाको हिस्सा अझ बढ्ने बोर्डका सूचना अधिकारीसमेत रहेका निर्देशक मणि लामिछानेले बताए।

लामिछानेका अनुसार सागमा सहभागीमध्ये सबैभन्दा बढी पाहुना भारतबाट आउँछन्। हवाई मार्गबाट आएका पाहुनाको तथ्यांकअनुसार सन् २०१८ मा भारतका पाहुनाको हिस्सा झन्डै १७ प्रतिशत थियो। त्यसबाहेक स्थल मार्गबाट आएका भारतीय पाहुनाको तथ्यांक कतै राखिएको हुँदैन। स्थलमार्गको आगमन पनि पर्याप्त हुने गरेको उनले बताए।

सार्क मुलुकमध्ये धेरै पर्यटक नेपाल आउनेको दोस्रो सूचीमा श्रीलंका पर्छ। सन् २०१८ मा श्रीलंकाले नेपालको पर्यटन बजारको करिब ६ प्रतिशत हिस्सा ओगटेको थियो। तेस्रो सूचीमा बंगलादेश पर्छ। अघिल्लो वर्ष बंगलादेशले नेपाली पर्यटन बजारको दुई प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो। ती बाहेक भुटान, पाकिस्तान, माल्दिभ्सबाट पनि आउने पाहुना हुन्छन्। ती मुलुकबाट निकै नै कम संख्यामा पाहुना नेपाल आउँछन्।

‘नेपाल भ्रमण वर्ष २०२० को सन्ध्यामा पोखरा, काठमाडौं र जनकपुरले सागको खेल खेलाउँदा सहभागी मुलुकका खेलाडी तीनवटै पर्यटकीय क्षेत्रमा बाँडिएका छन्,’ लामिछानेले भने, ‘ती खेलाडी र खेल पदाधिकारीबाटै अहिले पर्यटकीय क्षेत्रले प्रचारप्रसार गरिरहेको छ।’ नेपालमा खेल्न आएका ती खेलाडी सम्बन्धित मुलुकका ‘सेलिब्रेटी’ पनि भएकाले उनीहरुले खेल्न पुगेका सहरको प्रचारप्रसार खुलस्त गर्ने भएकाले पनि २०२० को भ्रमण वर्षलाई यसले फाइदा दिलाउने उनले बताए। त्यसबाहेक सहभागी मुलुकका सञ्चारमाध्यमले आफ्ना खेलाडीको खेल प्रगति र यहाँको सौन्दर्यताबारे प्रचारप्रसार गरेकाले पनि सागबाट पर्यटनले फाइदा लिने उनले बताए।

‘यतिबेला व्यवसायीले पनि गोजीबाट पैसा हालेर प्रचारप्रसार गर्नुपरेको छैन। खेलाडी र खेल पदाधिकारीबाट भएको प्रचारप्रसारलाई ती मुलुकका जनताले पनि पत्याउँछन्,’ उनले भने, ‘भ्रमण वर्षका लागि सागको यो प्रतियोगिताले जत्तिको प्रचार अरु कतैबाट हुँदैन।’ काठमाडौं र जनकपुरभन्दा पोखरा पुगेका खेलाडी र खेल पदाधिकारीले बढी खर्च गर्ने भएकाले पनि यसको सबैभन्दा बढी लाभ पोखराले लिएको उनले बताए। ‘खेलाडीलाई रंगशालामा मात्र सीमित राख्नु हुँदैन। यसलाई खेल पर्यटनसँग जोड्न सक्ने हो भने त्यसले पर्याप्त लाभ दिन्छ,’ लामिछानेले भने, ‘खेल्न आएका खेलाडीले पैसा बचाएर फर्किदैनन्, कुनै न कुनै रुपमा नेपालमै खर्चदा त्यसको लाभ पर्यटनमा पुग्छ।’

यतिखेर पोखरामा खेल्न आएका खेलाडीले काठमाडौंमा फुर्सदिला रहेका खेलाडी र पदाधिकारीलाई समेत पोखरामा घुम्न बोलाउने गरेका यहाँका व्यवसायीले बताएका छन्। त्यत्तिमात्र नभई स्वदेशमा रहेका आफन्त र साथीभाइसँग पोखराको सौन्दर्यता र यहाँको सुविधाबारे बताउने गरेको उनीहरुको भनाइ छ। ‘सागका कारण नेपाल भ्रमण वर्षले सकारात्मक प्रचार पाएको छ। खेलाडी र खेल पदाधिकारीबाट भएको यो प्रचारले आगामी वर्ष नेपालमा दक्षिण एसियाली मुलुकका पाहुनाको आगमन बढ्नेछ,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्वअध्यक्ष सुर्यबहादुर भूजेल भन्छन्, ‘आगामी वर्ष दक्षिण एसियाली मुलुकका पाहुना बढ्नेमा हामी ढुक्क छौं।’

व्यवसायीले दक्षिण एसियाली मुलुकमा बेलाबेला गर्ने गरेको प्रवद्र्धनात्मक कार्यक्रमभन्दा पनि सागको यो प्रतियोगिताले गरेको प्रचारले बढी व्यापकता पाएको भूजेलले बताए। ‘हामीले करोडौं रुपैयाँ खर्च गर्दा पनि नहुने प्रचारप्रसार यी खेलाडी र खेल पदाधिकारीबाट भइरहेको छ,’ उनले भने, ‘नेपालमा खेल्न आएका खेलाडीको प्रदर्शनबारे ती मुलुकका सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरिरहेका छन्। त्यसमा पनि पोखराले त सौन्दर्यताको प्रचारप्रसार पनि पाएको छ।’ खेलाडी सहभागी मुलुकका सञ्चारमाध्यम पनि पोखरा आएकाले उनीहरुबाट पनि प्रचारप्रसार भएको उनले बताए। ‘खेलाडीले त पोखराको सौन्दर्यताबारे बखान गरेको सञ्चारमाध्यमबाट पनि प्रचारप्रसार भइरहेको छ,’ उनले भने, ‘खेल सकेपछि स्वदेश फर्केका खेलाडीले थप प्रचारप्रसार गर्नेछन्। त्यसको सबैभन्दा बढी लाभ पोखराले पाउनेछ।’

अगुवा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई पोखरामा भएको सागका प्रतियोगिताले पोखराको सौन्दर्यता, आतिथ्यता मात्र नभई शान्ति सुरक्षाबारे पनि सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउनेछ। पोखरा घुम्न जाँदा कुनै पनि खालको असुरक्षा महसुस गर्नुपर्दैन भन्ने सन्देश खेलाडीमार्फत ती मुलुकमा फैलिने उनले बताए। पर्यटनमा सुरक्षाको सवाल महत्वपूर्ण हुने भएकाले पनि खेलाडी र खेल क्षेत्रबाट सही सन्देश फैलिएको उनले बताए। ‘पोखरा मात्र नभनि सिंगो नेपाल घुम्न कुनै असुरक्षा छैन भनेर अहिले खेल्न आएका खेलाडी र खेल पदाधिकारीबाट उनीहरुको मुलुकमा सन्देश फैलिनेछ,’ भट्टराईले भने, ‘पर्यटनमा सुरक्षाको निश्चितता चाहिन्छ। नेपालमा कुनै असुरक्षा नभएकाले घुम्न जाँदा ढुक्क हुन सकिन्छ भन्ने सन्देश फैलिएको छ। जुन सिंगो नेपालको पर्यटन क्षेत्रका लागि सकारात्मक हो।’

त्यसबाहेक पोखराका होटलको सेवा सुविधा र आतिथ्यताले पनि खेल्न आएका खेलाडी प्रभावित भएको भट्टराईले बताए। पोखराका होटल र रेस्टुरेन्टको गुणस्तरबारे प्रश्न नउठ्ने गरी व्यवसायीले सेवा दिलाएको उनले बताए। ‘कोही पनि पर्यटक घुम्न जाँदा बिरामी हुन चाहँदैछ। पोखराको पर्यटन क्षेत्रले भ्याएसम्मको ‘हस्पिटालिटी’ प्रदान गरेको छ,’ उनले भने, ‘यसले आगामी दिनमा पर्यटनका सकारात्मक सन्देश फैलाउनेछ। यसप्रति हामी व्यवसायी पनि सचेत बनेका छौं।’

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सागको यो प्रतियोगिताले पर्याप्त प्रचार गरेको उनले बताए। ‘यतिबेला सागमा सहभागी मुलुकका सञ्चारमाध्यममा यहाँको खेल गतिविधिले समेटिएको छ। अहिलेसम्म नाम नै नसुनेको अवस्थामा पनि खेलाडी सहभागी मुलुकका नागरिकले पोखरा र यहाँको सौन्दर्यताबारे थाहा पाएका छन्,’ उनले भने, ‘खेल क्षेत्रमार्फत पर्यटन पनि प्रवद्र्धन हुन्छ भन्ने देखाउने यो गतिलो अवसर मिलेको छ। यसले २०२० को सरकारी योजनालाई सफल बनाउन सघाउनेछ।’

प्रकाशित: २३ मंसिर २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App