१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

युवा व्यवसायी केसीले आफ्ने खर्चमा सडक बनाईदिए पछि...

केसीलाई सम्मान गर्दे वडा अध्यक्ष मल्ल। सडक नियाल्दा केसी सहितको टोली। तस्बिर/नागरिक

बर्दिया- नेपाल भारतको सीमावर्तीमा पर्ने खाता र भगतपुर गाउँ। खाता हुलाकि सडकसँग जोडिएको छ भने भगतपुर गाउँ भारतको जंगल नजिक पर्छ। सडक नहुँदा बर्खाको  समयमा दुई गाउँ सम्बन्ध टुट्न पुग्थ्यो। सडक नहुँदा लामो दुरी पार गर्नुपर्ने बाध्यताले वर्षौंदेखि स्थानीय हैरान थिए। मधुवन नगरपालिका–३ स्थित भगतपुर गाउँका सर्वसाधरणले नगरपालिकासँग सधै एउटै माग गर्थेे–हाम्रो गाउँको बाटो कहिले बन्छ? तर नगरपालिकाले सहज जवाफ दिन्थ्योे–बजेट आयो भने बन्छ।

तर शुक्रबार मधुवन नगरपालिका –३ मा पर्ने भगतपुर र खाताका स्थानीयको अनुहारमा छुट्टै उत्साह झल्किन्थ्यो। गाउँले हातहातमा पुष्पगुच्छा लिएर तैनाथ थिए। युवा व्यवसायी तथा ब्ल्यााकबक क्लबका, बर्दियाका अध्यक्ष बिमल केसीको बेग्र प्रतिक्षा गरिरहेका स्थानीय सम्मान गर्ने हतारोमा थिए। जब केसी कार्यक्रमको आयोजना स्थलमा पुगे उनको भब्य स्वागतमा स्थानीयले सहभागिता जनाए।

एकै साथ स्थानीयले केसीलाई सम्मान गरे र वडा कार्यालयले केसीलाई सम्मान पत्र प्रदान गर्‍यो। सम्मान गर्न आयोजित औपचारिक कार्यक्रममा स्थानीयले केसीलाई अबिरले रंगाउन तछाड(मछाड गरिरहेको दृश्य देखिन्थ्यो।  

सडक नहुँदा वर्षौंदेखि समस्यामा परेको बताउँदै जनप्रतिनिधि र स्थानीयले औपचारिक कार्यक्रममा अध्यक्ष केसीको खुलेर प्रशंसा गरे। व्यवसायीक रुपमा काम गर्ने व्यवसायी भन्दा केसीको रचनात्मक कार्यप्रति स्थानीय भावुक बनेको मधुवन नगरपालिका–३ का वडा अध्यक्ष नारायण मल्लले बताए। ‘दुई गाउँमा बाटो नहुँदा समस्या थियो,’उनले भने, ‘बजेट समस्याले अन्य बाटो बनेपनि उक्त सडक बन्न सकेको थिएन।’

राज्यको दायित्वभित्र पर्ने उक्त सडकखण्डलाई उनले आफ्नो सम्झेर निर्माण गरिदिँदा ग्रामिण भेगको विकट गाउँमा सडक निर्माणले एक किसिमको उत्साह ल्याएको उनले बताए।

मधुवन नगरपालिका वडा नं. ३ मा पर्ने भगतपुरदेखि खाता जोड्ने चार सय मिटर ग्राभेल सडक निस्शुल्क निर्माण गरेको ब्ल्याकबक क्लबका अध्यक्ष बिमल केसीले बताए। ‘मैले सामाजिक संस्थाको नेतृत्व पनि गरेको छु’ उनले भने, ‘समाजलाई हित हुने उद्देश्यले सडक बनाउने निर्णय गरेको थिए।’ सामाजिक काम गर्ने क्रममा उक्त सडक निर्माण भएको उनले बताए।

उनका अनुसार नगरस्तरिय योजना नपरेको बेला सडक निर्माणले स्थानीयमा एक किसीमको उत्साह ल्याएको छ। प्राबिधिक स्टीमेट(भियो) गरेर नै सडक निर्माण गरिएको उनले जानकारी दिए। पैसा खर्च भएपनि स्थानीयले दिएको मायाको सम्मानले सामाजिक कार्य गर्न थप उर्जा मिलेकोे उनले सुनाए।

राज्यले छुट्टाएको बजेटमा समयमा काम नहुने देखेका स्थानीय युवाको अग्रसरताले आफ्नै खर्चमा सडक बनेपछि स्थानीय खुसी भएका हुन्। ‘हामीलाई बर्खामा धेरै समस्या हुन्थ्यो’ एक स्थानीयले भने, ‘ग्रामिण भेग मात्र नभई पिछडिएको भगतपुर गाउँमा भएको सडक निर्माणले विकास भएको अनुभुति भएको छ।’

 

प्रकाशित: २१ मंसिर २०७६ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App