१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडाबाट विपन्नको स्वास्थ्य बीमा

खोटाङ – बराहपोखरी गाउँपालिका–३ साउनेचौरका १५ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। विपन्न घरपरिवार पहिचान सर्भेक्षणको क्रममा विपन्नको सूचीमा समावेश हुन छुटेका विपन्न परिवारलाई छानेर वडा कार्यालयले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो।

‘आफै उपचार गराउनसक्ने आर्थिक हैसियत नभएका विपन्न परिवारले अकालमै ज्यान गुमाउन नपरोस् र स्वास्थ सेवाबाट वञ्चित नहुन् भन्ने लक्ष्यका साथ वडा कार्यालयले प्रतिपरिवार ३ हजार ५ सयका दरले चालू आवबाटै लागू हुने गरी विनियोजित ५२ हजार ५ सय खर्च गरेर स्वास्थ्य बिमा गरिदिएको हो। गरिब भए पनि गरिबको सूचीमा राख्नबाट छुटाइएका परिवारलाई छानेर वडाका तर्फबाट बीमा गरिदिएको वडाध्यक्ष शम्भु निरौलाले बताए।

जिल्लामा २०७४ साल पुस २४ गतेदेखि सुरु गरिएकोमा हालसम्ममा २८ हजार जनाले स्वास्थ्य बिमा गरिसकेका छन्। उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि सरकारले ल्याएको सो कार्यक्रमबापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य बीमा दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: २१ मंसिर २०७६ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App