१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘बलबल आजुलाई चढाउने योमरि र चतांमरि’

रुक्मिणी श्रेष्ठ

अहिले पनि योमरि पूर्णिमाको दिन काठमाडौं उपत्यकाका नेवार टोलमा केटाकेटीले गीत गाएर योमरि माग्छन्। नेवार समुदायमा एउटा चर्चित गीत छ–
त्यःछिं त्यः, बकःछिं त्यः
लाटापाटा कुलिंचा जूछिं त्यः
योमरि च्वामु, उकी दुने हाकु
नःसा माकु
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुटी

अर्थात्,
दुई कुरुवा, आधा कुरुवा भए पनि ठिकै
लथ्याङमथ्याङ कुरुवा भए पनि ठिकै
योमरि चुचे, त्यसभित्र कालो छ
खाए मिठो छ
दिने तरुनी, नदिने बुढीकुटी

उपरोक्त गीतबाटै थाहा हुन्छ, योमरी मिठो अनि यसभित्र चाकु र तिल छ। नेपाल संवत् फेरिएपछि आउने दोस्रो पूर्णिमा अर्थात् धान्य पूर्णिमा, पौष पूर्णिमा हो। यो पूर्णिमाको रात सबभन्दा लामो हुने मानिन्छ।

एक एकल महिलाले रातमा चामल कुटी पखाली चन्द्रमाको प्रकाशमा सुकाएर पिठो बनाउँछिन्। यत्रो काम गर्दा पनि रात बाँकी रहेकाले उनी एकछिन सुत्छिन्, अझै पनि भोर (उज्यालो) हुँदैन। यो पूर्णिमाको रातलाई लामो रात मानिन्छ।

यो पूर्णिमाबारे एउटा जनश्रुति छ–
एक एकल महिलाले रातमा चामल कुटी पखाली चन्द्रमाको प्रकाशमा सुकाएर पिठो बनाउँछिन्। यत्रो काम गर्दा पनि रात बाँकी रहेकाले उनी एकछिन सुत्छिन्, अझै पनि भोर (उज्यालो) हुँदैन। यो पूर्णिमाको रातलाई लामो रात मानिन्छ। यस पूर्णिमालाई नेवारले चाडका रूपमा मनाउँछन्। यो दिन अरु जातिले पनि आ–आफ्नो चाड मनाउने चलन छ।

यो दिनसम्म नेवारहरूले नयाँ धान भिœयाइसकेका हुन्छन्। सोही नयाँ चामलको पिठो बनाई योमरि, चतांमरि बनाएर धानमा चढाई धानले भरिएको धनसार, भकारी, घ्याम्पो आदिमा पूजा गरिन्छ। अन्न बाली फलाइदिने पृथ्वीमाता अथवा अन्नको अधिष्ठात्री देवी वसुन्धरादेवी र अन्नपूर्ण देवीका साथै गणेश, कुवेरलाई पूजा गरिन्छ।

यो योमरिको साथमा अर्को ‘मायो’ र ‘बायो’ भनी चैत्याकारको दुइटा ठूलो योमरि पनि राखिन्छ। यसभित्र एउटा चाकु, तिल र अर्कोमा मास पिसेको (बारा) राखेर बनाई धनसार, भकारी वा घ्याम्पोमा राखी निरामेष सात्वक पूजा गरिन्छ र पिठोकै दियो बनाएको पटुचा मरि (पाला)मा बत्ती बाली पूजा गरिन्छ। यो पूर्णिमाको दिन यो पालामा दियो बालेर शिव–पार्वतीको पूजा गरी व्रत बसेमा स्त्रीहरूले वैधव्य जीवन भोग्ननपर्ने कुरा भविष्य पुराणमा उल्लेख छ। पुराणमा श्री कृष्णले आफ्नी पत्नीहरूको प्रश्नको जवाफमा यो व्रत बस्ने उपाय बताएका थिए (श्री व्रतराज खेमराज कृष्णदास बम्बई सन् १९९९)।

यो पूर्णिको दिन पाटनका पिलाछेँ, दुपात र त्यागल टोलका ज्यापु समुदायको दिवाली हुन्छ। उनीहरूको दिवालीमा आफूहरूले उब्जाएको नयाँ धानको चामलबाट बन्ने पिठोबाट चतांमरि बनाई सर्वप्रथम आफ्नो इष्टदेवलाई चढाउँछन्, अनि मात्र आफूहरूले खान्छन्। उपत्यकाका आदिवासी नै नेवार हुन् र यिनीहरूको सर्वप्रथम खेती गरी भूमिबाट अन्न फलाएर खाने गरेकाले नै यो पूर्णिमाको दिनलाई सरकारबाट पनि जनजाति ज्यापु दिवस भनी मानी सर्वसाधारण सबैलाई समेत बिदा दिइएको छ। साथै पृथ्वीमा सबभन्दा पहिले खेत जोत्ने ‘बलबल आजु’ भन्नेलाई यो दिनमा पहिले पकाएको योमरि र चतांमरि चढाउने चलन अद्यापि पाटनमा छ। यो बलबल आजुको मूर्ति पाटनको रातो मच्छिन्द्रनाथ राख्ने तःबहालको पूर्वढोकाको दायाँ छेउमा अद्यापि रहेको छ।

प्रकाशित: २१ मंसिर २०७६ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App