१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीमा सुरक्षाप्रति सरकार गम्भीर नबनेको आरोप

काठमाडौं – नेपाल–भारत सीमासम्बन्धी विवादबारे छलफलमा दुई मन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदले विरोध गरेका छन्। संघीय संसदन्तर्गत राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबारको बैठकमा नेकपाका नेता भीम रावलले नै सीमा सुरक्षाबारे सरकार गम्भीर नबनेको आरोप लगाए।

समितिले गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याललाई बोलाएको थियो। गृहमन्त्री थापाबाहेक अन्य मन्त्री अनुपस्थित भएपछि आक्रोशित हुँदै सांसदले सरकारबाट संसदीय समितिकै मर्यादा उल्लंघन गर्ने काम गरेको आरोप लगाए। सत्तारूढ दल नेकपाका तर्फबाट समिति भीम रावलले संवेदनशील विषयमाथिको छलफलमा मन्त्रीहरू समितिमा उपस्थित नहुनु आपत्तिजनक भएको बताएका थिए। उनले सीमा सुरक्षा पोस्ट निर्माणका लागि आवश्यक जग्गा वन मन्त्रालयले उलपब्ध नगराएका कारण समस्या भएको भन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइप्रति पनि आपत्ति जनाए।

नेपाली कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सरकारका मन्त्रीले समितिको बैठकमा अनुपस्थित भएर संसदीय समितिको मर्यादा नराखेको बताए। नेकपाका सांसद पम्फा भुसालले सीमाको कुरा राष्ट्रियताको प्रश्नसँग जोडिएको बताइन्। केही परिघटनाले राष्ट्रियतामाथि प्रश्न उठेको देखिएको उनले बताइन्। त्यसपछि समिति सभापति नीरादेवी जैरुले बैठक स्थगित गरिन्। समितिले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत विवादित बनेका नेपाली सीमा सुरक्षाबारे छलफल गर्न बैठक बोलाएको थियो।

प्रकाशित: २१ मंसिर २०७६ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App