१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालय भवन बनाउन चार करोड चिनियाँ सहयोग

सम्झौतापत्रमा हस्ताक्षरपछि चिनियाँ संस्थाका कार्यकारी प्रमुख फ्यान जियाबो र नगरप्रमुख गोरखबहादुर केसी लगायत। तस्बिरः नागरिक

काठमाडौं – ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक विकास गर्न एक चिनियाँ संस्थाले चार करोड रुपैयाँ सहयोग गर्ने भएको छ। द्वन्द्वप्रभावित क्षेत्रमा भौतिक पूर्वाधारको अभावले बालबालिकाको शिक्षामा विकास हुन नसकेको भन्दै चिनियाँ संस्थाले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई चालु आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो।

आठबीसकोट–९ स्थित दीपज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माणका लागि चिनियाँ संस्थाले सहयोग गर्न शुक्रबार काठमाडौंमा सम्झौता भएको छ। आफ्नो भवनमा नगर अस्पताल सञ्चालन भएपछि अहिले विद्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ। शुक्रबार काठमाडौंमा चिनियाँ संस्था द इकोनोमिक्स जोइन्ट कमेटी अफ चाइना मर्सिलस्टक इन्टरप्राइजेज र नगरपालिकाबीच सम्झौता भएको हो।

सम्झौताअनुसार अब विद्यालयको तीनतले भवन, छात्रावासका साथै खेलमैदान निर्माण हुने भएको छ। सम्झौतापत्रमा चिनियाँ संस्थाका कार्यकारी प्रमुख फ्यान जियाबो र नगरप्रमुख गोरखबहादुर केसीले हस्ताक्षर गरेका छन्। ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको विकास हुनुका साथै नगरपालिकाभित्र रहेका टुहुरा बालबालिकाको संरक्षणमा सम्झौताले महŒवपूर्ण सहयोग पुग्ने नगरप्रमुख केसीको विश्वास छ।

यहाँ भौतिक पूर्वाधार निर्माण भएपछि प्राविधिक शिक्षाको पढाइसमेत सुरु गर्न नगरपालिकाको तयारी रहेको उनले बताए। पूर्वाधारका साथै शैक्षिक सुधारमा समेत उक्त संस्थाले सहयोग गर्ने बताइएको छ। चिनियाँ संस्थाले उक्त विद्यालयमा स्वयंसेवकका रूपमा शिक्षक पठाइदिनुका साथै यहाँका शिक्षकलाई चीनमा लगी आवश्यक तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

‘हाम्रो नगरपालिका जिल्लाकै सबैभन्दा ठूलो र दुर्गम छ। त्यसकारण यहाँको शैक्षिक अवस्था पनि कमजोर छ,’ नगरप्रमुख केसीले भने, ‘अब प्राविधिक शिक्षामा सुधार गर्नुका साथै अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन यसले महŒवपूर्ण योगदान गर्नेछ।’ हस्ताक्षर कार्यक्रममा चिनियाँ संस्थाका कार्यकारी प्रमुख जियाबोले जिल्लाका अन्य ठाउँमा पनि आफूहरू सहयोग गर्न इच्छुक रहेको बताए। ‘द्वन्द्वप्रभावित जिल्लामा काम थालेका छौं। हामी जिल्लाका अन्य ठाउँमा पनि शैक्षिक सुधारका काम गर्न तयार छौं,’ उनले भने। टुहुरा बालबालिकालाई आवास र शिक्षाको व्यवस्था पनि गर्ने बताइएको छ। सम्झौताअनुसार निर्माण हुने विद्यालय भवनको आगामी पुसको पहिलो साताबाट निर्माण सुरु हुनेछ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेकपाका स्थानीय समिति सदस्य वामदेव गौतम, जनार्दन शर्मा, केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मालगायतको सहभागिता थियो। कार्यक्रमका वक्ताहरूले अन्य ग्रामीण क्षेत्रमा पनि शैक्षिक सुधारका लागि लगानी गर्न चिनियाँ संस्थालाई आग्रह गरेका थिए।

प्रकाशित: २१ मंसिर २०७६ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App