१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं - मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी  ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। आगामी पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज) लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ। मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ।

सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने छ। साथै चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘सबस्टेसनमा रहने ट्रान्सफर्महरूको क्षमता ९४५ केभिए छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ। वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैंकिङ गर्न समेत बाटो खुल्ने छ।’ दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा सञ्चालनमा छ। ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुने छ। माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने छ। यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ। खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ।

सबस्टेसनको कन्ट्रोल रूम रहने भवनसहित अन्य उपकरण रहने भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। सबस्टेसनमा रहने तीनवटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ। बाँकी दुईवटा एक हप्ताभित्र आयोजना स्थलमा ल्याइसकिने छ। यस्तै ८० एमभिएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको आयोजनाले जानकारी दिएको छ।

निर्माण स्थलमा ल्याइएका उपकरण जडानको काम धमाधम भइरहेको छ।  सबस्टेसनमा ३१५ एमभिएका तीनवटा गरी ९४५ एमभिए क्षमताको ट्रान्सफर्मर रहने छन्। जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्छन्। नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो। सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

प्राधिकरणका निर्देशक घिसिङले मंगलबार निर्माण स्थलगतको निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण कम्पनीलाई निर्देशन दिए। ‘सबस्टेसन रहने तीनवटा ट्रान्सफर्मरमध्ये कम्तीमा पनि एउटा पुस (डिसेम्बर २०१९) भित्र चार्ज गरिसक्नु पर्छ, यसका लागि काम गर्ने जनशक्ति थप्नुहोस्।’

सबस्टेसन निर्माण भारतीय कम्पनी एबिबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इन्जिनियिरिङले गरिरहेको छ। प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि सन् २०१७ डिसम्बर ८ मा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणले मकवानपुरको हेटौंडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ। उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरण गरिएको हो।

प्रकाशित: २० मंसिर २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App