१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकारकै कारण बूढीगण्डकी परियोजना अन्योलमा’

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कारण बूढीगण्डकी जलविद्युत परियोजनाको भविष्य थप अन्योलमा परेको आरोप लगाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यावहारिक र वैज्ञानिक ढंगले नगर्दा आयोजनाको भविष्य अन्योलमा परेको दाबी गरेको हो।

स्थानीयसँग आवश्यक छलफल नगरी मंसिर १६ गते मुआब्जा र्निधारण गर्दा तीव्र असन्तुष्टि पैदा भएको जनाउँदै कांग्रेसले भनेको छ, ‘तर मनोगत ढंगले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु-याएको छ नै त्यसविरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी वाध्य भएका छन्।’

कांग्रेस नेतृत्वमा सरकारले १२ सय मेगावाटको यो परियोजना नेपाल आफैंले निर्माण गर्ने निर्णय गरेको स्मरण गराउँदै वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एकपछि अर्को घटनाका साथ अन्योलमा पर्दै गएको जनाएको छ। ‘न्यून मुआब्जा प्रकरण त्यसको पछिल्लो उदाहरण बन्न पुगेको छ,’ कांग्रेसले भनेको छ, ‘विकास परियोजना सञ्चालन गर्न स्थानीयलाई आवश्यक विश्वासमा लिइनुपर्ने विषय सामान्य ज्ञानको दायराभित्रकै विषय हो। तर मंसिर १६ मा सार्वजनिक जग्गाको न्यून मुआब्जाले नागरिकलाई विश्वासमा लिनेतर्फ होइन, परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउनतर्फ लक्षित देखिएको छ।’

प्रकाशित: २० मंसिर २०७६ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App